‘अध्यक्षद्वय पार्टी एकता तोड्ने मनस्थितिमा हुनुहुन्न’

|
फाइल फोटो

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा गुज्रिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीचको आन्तरिक विवादले पार्टीमा किचलो बढ्दो छ।

पार्टीभित्रको विवाद समाधानका लागि दोस्रो र तेस्रो तहका नेताहरु सक्रिय भएर लागेका छन्। विवाद मिलाउन स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ, जनार्दन शर्मा, विष्णु रिमाल, प्रदीप ज्ञवाली, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझीलगायतका नेताहरु सक्रिय छन्। 

आइतबार प्रधानमन्त्री ओलीसँग छलफल गरेका यीमध्ये केही नेताले सोमबार बिहान अध्यक्ष दाहाललाई खुमलटारमा पुगेर भेटेका छन्। प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल दुवैलाई भेटेपछि दुवै नेता पार्टी एकता तोड्ने पक्षमा नदेखिएका स्थायी कमिटी सदस्य हरिबोल गजुरेल बताउँछन्। 

‘हामीले अध्यक्षद्वयसँग नै पार्टी एकता कसरी कायम राख्न सकिन्छ भन्नेबारे छलफल गरेका छौँ। उहाँहरु पनि पार्टी एकता तोड्ने पक्षमा देखिनुुहुन्न’, उनले भने, ‘अहिलेको अवस्थामा म पनि एकताको पक्षमा रहेको दुवै अध्यक्षलाई जानकारी गराएँ।’

पार्टी एकतालाई बचाएर पार्टी र सरकारको कामलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नुपर्नेमा अध्यक्षद्वयलाई सुझाव दिएको उनले बताए। ‘एकतालाई बचाएर सरकार र पार्टीलाई गति दिन सक्नुपर्छ। एकताका लागि एकता भएर मात्रै पुग्दैन’, उनले भने, ‘त्यसैले यही अवस्थामा बसेर एकता कायम राख्नुको पनि अर्थ छैन भन्ने अर्को प्रश्न पनि उठ्न सक्छ।’

‘पार्टी फुटर गएपछि घाइते अध्यक्षद्वयलाई कि घाइते हुने वा मृत्यु हुने भन्नेमा प्रस्ट हुनुहुन्छ। त्यसैले पार्टी फुट्दैन’, उनले भने, ‘पार्टीभित्रको विवाद निर्णय कार्यान्वयन नभएकै कारणले नै देखिएको छ। त्यसैले अध्यक्षद्वयले प्रवृत्ति परिवर्तन गर्न सक्नुपर्छ। उहाँहरु मिल्नुको विकल्प छैन।’

पार्टीभित्रको विवाद समाधान गरेर एकता जोगाउने पक्षमा रहेको अर्का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी बताउँछन्। ‘हामी पार्टी एकताको पक्षमा छौँ। अध्यक्षद्वयसँग छलफल गरिरहेका छौँ। हामी पार्टी फुट्न दिँदैनौँ। पार्टी फुट्दैन’, उनले भने, ‘पार्टीको निर्णयअनुसार आआफ्नो जिम्मेवारीतर्फ नेतृत्व लागेको भए अहिले पार्टीमा समस्या नै आउने थिएन।’

पार्टीभित्रको लामो विवादपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय अटेर गरेपछि नेकपाभित्रको विवाद बल्झिएको छ। भदौ २६ गतेको स्थायी कमिटीको निर्णय सहमतिमा कार्यान्वयनमा नल्याएको कारणले पार्टीभित्र विवाद देखिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउँदै आएका छन्। 

लामो शक्ति संघर्षपछि भदौ २६ गतेको स्थायी कमिटीको निर्णयलाई प्रधानमन्त्री ओलीले नमानेपछि अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट बनेको छ।

नेकपाभित्र राजदूत नियुक्त, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, पर्सा घटना, रअ प्रमुखसँग प्रधानमन्त्री ओलीको भेट, चितवनमा स्थायी कमिटी सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजीलगायत विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच दूरी बढिरहेको छ। 

तर, विवादको क्रममा अध्यक्ष दाहालले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको राजनीति प्रतिवेदनले ओलीपक्ष थप चिढिएको छ। ओली पक्षले अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन फिर्ता नभएसम्म पार्टी एकताको  बाँकी काम अघि बढ्न नसक्ने बताउँदै आएको छ। 

यद्यपि, अध्यक्ष दाहालले मात्रै त्यो प्रतिवेदन ल्याएका होइनन्। अध्यक्ष दाहालसहित सचिवालयका बहुमत सदस्य वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको सहमतिमा त्यो प्रतिवेदन सचिवालयमा पेस गरेका थिए। 

नेकपामा 'पत्र युद्ध' चलिरहेको बेलामा प्रधानमन्त्री ओलीले पनि अध्यक्ष दाहालको प्रतिवेदनको प्रतिउत्तर फर्काउन मंसिर ३ गतेको सचिवालय बैठकबाट १० दिन माग गरेका छन्।

दुई अध्यक्षले हाँकेको नेकपा प्रधानमन्त्री ओलीको आगामी १३ गते बस्ने सचिवालयको बैठकबाट नै कुन दिशातर्फ केन्द्रित हुन्छ भन्नेबारे निर्धारण गर्ने नेताहरु नै बताउँदै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.