|
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुल बास्कोटाले नेकपाको आन्तरिक विवादमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको 'रहस्यमय सक्रियता' रहेको बताएका छन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् बाबुरामको सक्रियता अर्थपूर्ण भएको बताएका हुन्। 'नेकपाको आन्तरिक शक्ति सङ्घर्षमा भूतपूर्व कमरेड डा. बाबुरामको रहस्यमय, तर सक्रिय र खुला प्रवेशले धोवीघाट गठबन्धनका स्वघोषित सूत्रधार काजी कमरेड मात्र हैन, म पनि खुशी छु', उनले फेसबुकमा लेखेका छन्, 'अब पोल्टो र भुइँ बचाउने सङ्घर्षले सही दिशा समात्छ भन्ने हाम्लाई लाइराछ, हेरौं के हुन्छ!'

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सोमबार देशको मुख्य मुद्दा र व्यक्ति ओली नभई ओली प्रवृत्ति भएको भन्दै ट्वीट गरेका थिए। उनको अभिव्यक्तिमाथि प्रधानमन्त्री ओलीका विश्वासपात्र बास्कोटाले कटाक्ष प्रहार गरेका हुन्। 

'व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्। तर ओली प्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन, अल्प विकासको मुख्य वाहक हो,' अध्यक्ष भट्टराईले लेखेका छन्, 'अग्रगमनको मुख्य बाधक हो। यो एउटा पार्टीको मुद्दा मात्र हैन। कुनैपनि बहानामा यसलाई काँध थाप्ने गल्ती नगरौं।'

नेकपाभित्रको विवाद चर्किँदै गएपछि प्रधानमन्त्री ओलीले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेको समाचारहरू बाहिरिएका छन्। तर, उनीनिकट नेताहरू त्यो कुरा स्वीकार गर्न चाहँदैनन्। नेकपाभित्रको एकपछि अर्को विकसित घटनाक्रमले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको दुरी बढिरहेको छ। 

के हो धोवीघाट गठबन्धन? 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टीबीच एकता हुनुपूर्व माओवादीभित्र देखिएको दरारको अवस्थामा धोवीघाट गठबन्धन उत्पन्न भएको थियो।

तत्कालीन माओवादी केन्द्रमा रहँदा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई 'साइजमा ल्याउन' भन्दै माओवादी उपाध्यक्षत्रय भट्टराई, मोहन वैद्य, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापाबीच २०६८ साउनमा धोवीघाट गठबन्धन बनेको थियो। 

माओवादीमा धोवीघाट गठबन्धनले दाहाललाई अल्पमतमा पारेको थियो। धोवीघाट गठबन्धनको नेतृत्व नेता भट्टराईले नै गरेका थिए। अहिले सत्तारुढ नेकपाभित्र देखिएको विवादलाई लिएर प्रधानमन्त्री ओली निकटका नेता बास्कोटाले धोवीघाट गठबन्धनको कुरा उठाएका हुन्। 

नेकपामा प्रधानमन्त्री ओलीविरुद्ध अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी गरिरहेका छन्। यो मोर्चाबन्दीले प्रधानमन्त्री ओली अल्पमतमा परेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.