|

काठमाडौं : टुँडिखेल क्षेत्रलाई स्वच्छ र प्रविधिमैत्री बनाउन भन्दै दुई वर्षअघि काठमाडौं महानगरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा टुँडिखेल–खुलामञ्च गुरुयोजना(माष्टर प्लान) बन्यो। योजना बनेपछि सहरबासीले अस्तव्यस्त भएको खुलामञ्च,रत्नपार्क ठाउँ स्वच्छ र व्यवस्थित हुने अपेक्षा लिएका थिए। तर,अहिलेसम्म त्यो योजना कार्यान्वयनमा आउन सकेको छैन। 

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार गुरुयोजनामा रानीपोखरी,शंखधर उद्यान,खुलामञ्च,सैनिक मञ्चको खेलमैदानको आ-आफ्नै मौलिकता झल्काउने खालका  योजना बनेको थियो।

‘रत्नपार्क क्षेत्रमा व्यवस्थित शौचालय नहुँदा सर्वसाधारणलाई सकस छ,’उनले भने,‘उनीहरूको सेवा-सुविधाको लागि ट्वाइलेट, बगैँचा बनाउने जस्ता योजना दुई वर्षअघि बनेको थियो।’ उनका अनुसार रानीपोखरीको दृश्यावलोकन गर्न आएका आन्तरिक तथा बाह्‍य पर्यटकलाई रमाउन दिनको लागि कफी सप पनि बनाउने योजना छ। 

‘विवादका कारण काम गर्न सकेनौँ’

गुरुयोजना निर्माण ढिलाइ हुनुको विषयमा प्रवक्ता डंगोल भन्छन्,‘विवादका कारण खुलामञ्चमा वर्षपार्क सिफ्ट गर्न सकेका छैनौँ। काम गर्न लाग्दा विरोध भयो।’ विभिन्न संरचनाको निर्माण सामग्री त्यहाँ थुपारिएका कारणले पनि काम गर्न समस्या भएको उनले सुनाए।

‘खुलामञ्चलगायत ठाउँमा धरहरा,भ्यु टावर जस्ता संरचनाको सामग्री राखिएको छ। त्यसले काम गर्न गाह्रो भयो। वीर अस्पताल बनिसकेको छ। अब योजना अनुसारको काम थालिन्छ’ उनले भने।  

डंगोलका अनुसार रानीपोखरी र शंखधर उद्यानको प्याकेजअनुसार निर्माण गरिने छ। शंखधरमा भने ऐतिहासिक अध्ययन गर्ने थलो बनाइने छ। खुल्लामञ्चलाई भने सभा सम्मेलनको लागि खुल्ला नै राखिनेछ।

उनले भने,‘ऐतिहासिक थलो खुलामञ्चलाई खुल्लै राखिन्छ। त्यस परिसरमा ढुंगा बिछ्याउन सकिनेछ। अव्यवस्थित फुटपाथ हट्छ।’ गुरुयोजनाअनुसार करिब ५० करोड लागत लाग्ने उनको अनुमान छ। 

पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले गुरुयोजना बनिसकेको बताउँदै अन्यकामको विषय भने केही जानकारी नभएको बताए। उनले भने,‘टुँडिखेलको मास्टरप्लान चाँहि बनिसकेको छ। अरू के कति काम भयो भन्ने बारेमा भने जानकारी छैन।’ 

समयमा योजना कार्यन्यनमा आउन नसक्दा अहिले ती क्षेत्रलाई व्यवसायीले व्यक्तिगत सम्पत्तिझैँ कब्जा गरिरहेका छन्। अस्तव्यस्त फुटपाथका पसलले सर्वसाधारण सकसमा परेका छन्।

रत्नपार्क क्षेत्रको अव्यवस्थित शौचालयको दुर्गन्धमा रुमलिएर सहरबासी ओहोरदोहोर गर्न बाध्य छन्। सम्पदा अभियन्ताहरूले अकुपाई टुँडिखेल अभियान सुरु गरे पनि त्यस क्षेत्रको अतिक्रमण रोकिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.