|

काठमाडौं : संघीय गठबन्धनले काठमाडौंको खुलामञ्चमा ३९ दिनदेखि जारी रिले अनसन अन्त्य गरेको छ। संविधानका बिभिन्न विषयमा असहमति राख्दै २६ बुँदे माग राखेर आन्दोलनरत गठबन्धनले अब आन्दोलनको स्वरुप परिवर्तन गर्ने भन्दै रिले अनसन अन्त्य गरेको हो।

रिले अनसन सकिएको घोषणा गर्दै गठबन्धनका संयोजक उपेन्द्र यादवले अब आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताए। उनले बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु र राजनीतिक दलका नेताहरुले अनसनमा सहभागिता जनाएको र ऐक्यवद्धता जनाएको भन्दै यसले आन्दोलनलाई बैधानिक बनाएको दावी गरे।

यादवले आन्दोलनप्रति नकारात्मक धारणा राख्ने अहिलेको सरकार संकटमा पर्नु खुशीको कुरा भएपनि आफुहरु २६ बुँदे मागमा अडिग रहेको बताए। उनले माग पूरा नभएसम्म आफुहरु सरकारमा सहभागी नहुने प्रष्ट पारे।

यादवले मधेसी आदिवासी समुदायले उठाएका माग संविधान संशोधन र पुनर्लेखन नगरीकन समाधान नहुने भन्दै अब सरकार बनाउने दलहरुले यसमा ध्यान दिनुपर्ने बताए।

सरकार बदलेर मात्र आफुहरुको माग पूरा नहुने भन्दै उनले थपे 'ए को ठाउँमा बी आउनु ठूलो कुरा हैन, दलहरूले नीति र नियत बदल्नुपर्छ।' यादवले केपी ओली नेतृत्वको सरकार इतिहासकै असक्षम भन्दै एमालेकै वरिष्ठ नेताहरूले सरकार परिवर्तन गर्न खोजेको बताए।

तराई मधेसमा आन्दोलनरत राजनीतिक दलहरुले केही जनजाति दलहरुसँग मिलेर बनाएको संघीय गठबन्धनले सिंहदरबार घेराउ, बालुवाटार घेराउ, काठमाडौंका बिभिन्न ठाउँमा सभा लगायतका आन्दोलनको कार्यक्रम गर्दैं आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.