|

कञ्चनपुर :  डोटीको जोरायल गाउँपालिका २ सेलाका ६० वर्षीय धन बहादुर सार्कीले परिवारको खर्च छालाको जुत्ता बनाउने व्यवसायबाट धान्दै आएका छन्।

दैनिक वुडर बजारमा रहेको खोकामा बसेर उनले जुत्ता बनाई बेच्दै आएका छन्। जुत्ता बनाउनेदेखि फाटेको जुत्ता मर्मत गर्नमा उनी बिहानको झिसमिसेदेखि साँझको सूर्य अस्ताउँदासम्म लागिरहन्छन्।

 जुत्ता बनाउँदै आएका धनबहादुरले २०५९ सालमा सुर्खेतमा चाहेअनुसारको डिजाइनमा जुत्ता बनाउनका लागि तालिमसमेत लिएका छन्।

तालिम लिएपछि गाउँकै समूहबाट १० हजार रकम लगानी गरी हातैले जुत्ता सिउने कार्य गर्दै आएका थिए। दातृ संस्थाले नौ हजार सहयोग गरेपछि उनले जुत्ता सिउने मेसिन खरिद गरेका छन्।

जुत्ता सिउने मेसिनमा केही रकम दातृ निकायले उपलब्ध गराएको र केही रकम उनले थपेका हुन्। पसलबाट दैनिक उनले पाँच सयदेखि एक हजारसम्म आम्दानी गर्दै आएका  छन्। उनले बनाएको जुत्ता एक हजारदेखि दुई  हजारसम्ममा बिक्री हुने गरेको छ।

 उनले बनाएका जुत्ता स्थानीय बजार घरेलु, गैरा, जोगबुढा सम्मका व्यक्तिहरूले खरिद गरेर लैजाने गरेका छन्। बजारमा पाइने जुत्ताभन्दा बलियो टिकाउ र मजबुत सिलाई हुने भएकाले सबैले बनाएको जुत्ता मन पराउने गरेका छन्।

‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पहिला जस्तो उनको पसलमा हाल बिक्री छैन’ उनले भने, ‘पहिला धेरै ग्राहकहरू जुत्ता किन्न र फाटेको जुत्ता सिउनका लागि पुग्दथे। हाल थोरै ग्राहक मात्रै पसलमा पुग्न थालेपछि आम्दानी पनि घटेको छ।’

 कोरोनाको डरले उनले टाढाको धनगढी बजार पुगेर पसलमा आवश्यकता भएको सामानसमेत ल्याउन सकेका छैनन्। युवाहरूले नयाँ प्रकारका चलनचल्तीमा रहेका जुत्ताको माग गर्छन्।

उनीसँग नयाँ जुत्ता बनाउने साँचो अभाव भएको छ। जुत्ताको सोल, किलाकाँटा, छाला, धागो आम्दानी घटेपछि पसलमा थप्न सकेका छैनन्। तीन जनाको परिवार उनीसँग छ। छोरालाई छालाका जुत्ता बनाउने सीप सिकाई दक्ष बनाएपछि उनका छोराले धनगढीमा छालाको जुत्ताको पसल सञ्चालन गरी त्यहीँ बस्दै आाएका छन्।

 उनी भन्छन्, ‘मैले थोरै कमाए पनि सीप सिकाएको छोराले चाहे जति आम्दानी गर्दै आएकाले सन्तुष्ट छु।’ गाउँमा धन बहादुरसँग जग्गा भने घरवासका लागि मात्रै रहेको छ।

 घरको खर्च धान्ने एउटै साधन भनेको त्यही पसल मात्रै हो। उनका बुवा बाजेले भारतमै काम गरेर खाए पनि उनी स्वदेशमै केही गर्नुपर्छ भनेर छालाको जुत्ता बनाउने पेशामा निरन्तर रूपमा लागि रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.