|

बर्दिया : बर्दियाको मधुवनका पुरन थापा मंगलबार विहान अलपत्र अवस्थामा भुरिगाउँमा भेटिए। झण्डै ५ महिनाअघि लकडाउनका बेला काम गर्न गएका पुरन वनबासाबाट नेपाल आउने क्रममा लुटिएका हुन्‌। 

होटलमा सुतिरहेको समयमा मानिसहरूको एक समूहले आफूलाई कुटपिट गरी भएको सबै नगद लुटेर लगेको उनले जानकारी दिएका छन्‌। '५ महिना भारतमा रहँदा ३० हजार रुपैयाँ कमाएको थिएँ, तर अपराधीहरूले सबै लुटेर लगे,' उनले भने, 'अब घर न घाटको भएको छु।' आफू लुटिएपछि भारतीय प्रहरीलाई खबर गर्दा कुनै वास्ता नगरेको उनले गुनासो गरे।

आफूसँग घरसम्म आइपुग्‍ने भाडा पनि नभएको अवस्थामा त्यहीँका एक जनाले भाडा तिरेर गाडीमा बसाइदिएपछि आफू भुरिगाउँ पुगेको उनले जानकारी दिए। मंगलबार भुरिगाउँ पुगेका थारूलाई केही स्थानीयले घरसम्म पुर्‍याइदिएका हुन्‌।

नेपाल-भारत ​सीमा नाकामा थारूजस्ता हजारौं नेपाली लुटिने गरेका छन्। यस्तो लुटपाटमा भारतीय र नेपाली नागरिक पनि संलग्‍न हुने गरेको स्थानीयहरू बताउँछन्‌। भारतका विभिन्न शहरमा मजदुरी गरी गौरीफन्टा नाकाबाट घर फर्कनेहरूमाथि भारतीय सुरक्षाकर्मीले समेत दुर्व्यवहार गर्ने गरेका छन्। 

विगतमा यो क्रम दशैँ-तिहार लगायत चाडपर्वका बेला बढी हुन्थ्यो। तर, यसपालि भने अरू समयमा पनि लुटपाटका घटना चाडपर्वको बेलाभन्दा दोब्बरले बढेको छ। सीमा क्षेत्रमा हुने यस्तो ज्यादती रोक्न खटिएका सुरक्षाकर्मीले नै बेवास्ता गर्ने गरेको स्थानीयले आरोप लगाएका छन्।

सीमा जोडिएका जिल्लाका सुरक्षा निकायका प्रमुखहरू सम्मिलित समकक्षीहरूको बैठकमा भारत र नेपालका सुरक्षाकर्मीहरूले सेवा सुधार गर्ने प्रतिबद्धता जनाएपनि नेपालीमाथि हुने लुटपाट रोकिएको छैन। भारतबाट फर्किएका नेपालीहरूले आफूहरू निकै समस्यामा पर्ने गरेको बताउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.