|

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका–१, हजरियामा बागमती खोलाले कटान गरेको ठाउँमा नै उत्खनन गरिएको भन्दै गाउँलेले विरोध गरेका छन्।

बाढीले तटबन्ध बगाएको खर्सालघाट र सहनीटोल घाट क्षेत्रमा अहिले नगरपालिकासँग भएको सम्झौताविपरीत उत्खननको काम भइरहेको छ। गत वर्ष बनाएको तटबन्ध बगाएको ठाउँमा भरपर्दो किसिमले अर्को तटबन्ध बनाउनुपर्ने ठाउँमा उल्टै गहिरो खाल्डो पारेर गिट्टी, बालुवा निकालिएपछि गाउँलेले विरोध जनाएका हुन्।

बाढीले तटबन्ध बगाएको ठाउँमा १२ देखि १५ फिटसम्म गहिरो खाल्डो बनाएर गिट्टी, बालुवा निकाल्दा थप जोखिम बढेको बरहथवा १ टावरटोलका स्थानीय बद्री सहनीले बताए। उनका अनुसार सहनीटोल घाटमा अवैध उत्खनन गर्ने एक्साभेटरर टिपरलाई स्थानीयहरुले लखेटेपछि अहिले खर्सालघाट क्षेत्रमा उत्खननको काम भइरहेको छ।

त्यसठाउँमा बर्सेनि बागमती खोलामा आएको बाढीले अस्थायी ड्याम भत्काएर किसानको खेत कटान गर्दै आइरहेको छ। बरहथवा नगरपालिका वडा नं. १ का वडाध्यक्ष रत्नबहादुर गिरीले भने वातावरणीय प्रभाव मूल्याङ्कलन अनुसार खोला उत्खनन नभएको पाइएको छ।

मापदण्ड बिपरित नदीजन्य पदार्थको उत्खनन्को बिषयमा मेयर देबानन्द महतो र प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर भुजेललाइ पटक-पटक जानकारी गराँदा समेत सुनुवाइ नभएको गुनासो गरे। गत बर्ष मात्रै बागमती खोलामा आएको बाढीले खर्साल घाट र सहनीटोलस्थित सैयौं बिगाह खेतीयोग्य जमिन कटान गरेको वडाध्यक्ष गिरीले बताए।

खोलाले बर्सेनि बागमती किनारका सयौँ बिघा जमिन बगरमा परिणत गर्नुका साथै गाउँ नै डुबानमा पार्दै आएको छ।

‘यस्तो सार्वजनिक विषयमा जनतासँग पहिला छलफल गरेर काम गर्नुपर्ने हो’, वडाध्यक्ष गिरीले भने, ‘यहाँ कसैलाई जानकारी दिइएको छैन।'

सुरुमा ठेकेदार कम्पनीले बरहथवा नगरपालिका वडा नम्बर १ सहनीटोलको सीमाबाट उत्खनन सुरु गरेको थियो। स्थानीयको अवरोधपछि अहिले सोही खोलाको केही माथि सरेको छ। खोलामा भइरहेको अवैध उत्खननले घरबास नै उठ्ने हो कि भन्ने चिन्ता लागेको स्थानीय भविखन सहनी बताउँछन्।

केही दिन पहिले गाउँ नजिकैको बागमती खोलामा स्काभेटरले खनेको देखेपछि स्थानीयले जनप्रतिनिधि गुहारेका थिए। सुरुमा उत्खनन रोक्ने र ठेकेदार कम्पनीलाई कारबाही गर्ने आश्वासन दिए पनि पछि जनप्रतिनिधिसमेत चुपचाप बसेको उनीहरूको आरोप छ।

खोलाले बनाएको लेयर भत्काएर नदीजन्य वस्तु निकालेपछि बाढी आउँदा गाउँभित्र पस्ने उनीहरूको चिन्ता छ। बरहथवा १ सहनीटोलका अर्का स्थानिय दिपलाल सहनी जनप्रतिनिधिले समेत जनताको जनधन गुम्ने खतरा नदेखेको गुनासो गरे।

उनले भने, ‘हामी बर्सेनि यो खोलाको भंगालोमा परिन्छ कि भनेर रातभर जाग्राम बस्छौँ। अहिले त नगरपालिकाले नै अन्धाधुन्ध खोला खन्न ठेक्का लगाएको छ। अब बर्खामा के हुने हो ?’‘यस पटक खोलामा हुइँकिएका टिपर र दिनरात खनिरहेका स्काभेटर देख्दा अब भएको  ५ कठ्ठा जमिन र घर पनि लैजाने चिन्ता बढेको छ’, सहनीले भने।

‘हामीले भनेको कसैले सुन्दैनन्। के गर्नु ? उनी अवैध उत्खननले भोलि गाउँमा खोलाको बाढी पसेर पु¥याउने क्षतिको आकलन गर्दै आत्तिन्छन्।

नागरिकको समस्या समाधान गर्ने भन्दा पनि खोला बेचेरै पैसा कमाउने खेलमा जनप्रतिनिधि लागेको अर्का स्थानीय शम्भु सहनी सुनाउँछन्। उनका अनुसार खोलाका कारण बर्सेनि खर्सालघाट,टावरटोल सहनीटोल पर्तीटो,छसयबिगाह लगायत दर्जनौ गाउँका सयौँ घरधुरीका हजारौँ नागरिक असुरक्षित बन्दै आएका छन्।

ठेक्का सम्झौता तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार उक्त स्थानहरुबाट ५फिट मात्र गहिराइबाट कच्चा पदार्थ उत्खनन गर्न सकिने उल्लेख छ। तर, ठेकेदार कम्पनीले खनेको खाडल १२ देखि १५ फिटभन्दा गहिरोसम्म उत्खनन भएको स्थानियबाट गुनासो आएको छ।

नगरपालिकाले १-२ दिनभित्रमा प्राविधिक टोली पठाएर अनुगमण गर्छौ, मापदण्ड विपरीत उत्खनन् भएको पाइएमा ठेकेदार कम्पनीलाइ कार्वाही गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर भुजेलले जानकारी दिए।

उनका अनुसार नगरले बरहथवा १ खर्साल नाका र सहनीटोल नाकाबाट राजन कन्ट्रक्सन मलंगवालाई आगामी २०७८ साल ज्‍येष्ठ महिनासम्म  ३३ लाख क्यूफिट गिट्टी बालुवा उत्खनन् गर्ने गरी एक करोड ५ लाख रुपैयाँमा ठेक्का लगाएको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.