सगरमाथा संवादलाई सफल बनाउन मद्दत गर्ने र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने

|

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले हालै अमेरिकाको नयाँ राष्ट्रपतिको कार्यभार सम्हालेका बाइडेनका शीर्ष प्राथमिकताहरूबारे प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका छन्।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेर बाइडेन प्रशासनले प्रशासन जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड-१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्ने मुख्य प्राथामिकता रहेको जानकारी दिएका छन्।

 राष्ट्रपति बाइडेनले भनेजस्तै, 'अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौँ। हामी हाम्रा गठबन्धनहरू मर्मत गर्नेछौँ र विश्वसँग फेरि संलग्न हुनेछौँ। हिजोका हैन, 'आज र भोलिका चुनौतीहरूको सामना गर्न। हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौँ। हामी शान्ति, प्रगति, र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार हुनेछौँ' उनले भने।

प्रधानमन्त्री ओली समक्ष नयाँ प्रशासनले विश्वव्यापी संलग्नताको मुख्य उपकरणको रूपमा कूटनीतिलाई प्रयोग गर्ने राजदूत बेरीले बताए। राष्ट्रपति बाइडेन कोभिड-१९ जस्ता साझा चुनौतीहरू समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगमा विश्वास गर्दछन्। त्यसका लागि राष्ट्रपति बाइडेनले विश्व स्वास्थ्य संगठनमा अमेरिकाको सदस्यता पुनः संचालन गर्नेछन्। उनले अन्तर्राष्ट्रिय संस्थाहरूसँग अमेरिकाको सम्बन्ध पुन: स्‍थापना र नेपाललगायत विश्वभरका प्रजातन्त्रहरूसँगको साझेदारी पुनर्जीवित गर्नेछन्।

आफ्नो एक अग्रणी कामका रूपमा राष्ट्रपति बाइडेन पेरिस जलवायु सम्झौतामा पुनः सामेल भएका छन् र उनले अमेरिका लगायतका देशहरूको जलवायु लक्ष्य बढाउने कूटनीतिक कदमको नेतृत्व गर्नेछन्।

राजदूत बेरीले नेपाल जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेको बताए। उनले सगरमाथा संवादलाई सफल बनाउन मद्दत गर्ने र जलवायु परिवर्तनका प्रभावलाई कसरी मिलेर सम्बोधन गर्ने भनी छलफल गर्ने दूतावासको चाहना पनि व्यक्त गरे।

बाइडेन प्रशासनले स्वदेशमा र विश्वभर महिला तथा बालिकाहरूको अधिकारको उत्थानमा केन्द्रित हुने लगायत गरी मानव अधिकारको नेतृत्व लिनेछ। यी विषयहरूमा सँगै काम गर्न आफू उत्सुक रहेको राजदूत बेरीले बताए।

प्रधानमन्त्री ओलीसँगको यो भेट नेपाल सरकार र राजनीतिक दलका नेताहरूसँग 'नयाँ राष्ट्रपतिको प्रशासनका विश्वव्यापी प्राथमिकता’ माथि  राजदूत बेरीले गर्ने उच्चस्तरीय बैठकहरूमध्ये एक थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.