प्रचण्ड-माधव समूह भन्छ : 'कुनै हालतमा चुनाव हुँदैन'

|

काठमाडौं : आगामी वैशाखमा तोकिएको निर्वाचनका लागि गरिरहेको तयारी र दल दर्तासम्बन्धी छलफलका लागि निर्वाचन आयोगले बोलाएको छलफलमा नेकपाको दुवै समूह जाने भएको छ।

आयोगले नेकपाको दुवै पक्षलाई छलफलका लागि शुक्रबार बिहान साढे ११ बजेका लागि बोलाएको जनाएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, 'शुक्रबार बिहान साढे ११ बजे दुवैपक्षबाट अध्यक्षसहित ५-५ जना पार्टीका प्रतिनिधिहरूलाई आयोग कार्यालयमा छलफलका लागि बोलाएका छौँ।'

त्यसपश्चात् पनि आयोगले यही सोमबार दुवै पक्षलाई पत्र काट्दै पुनः मिल्न, पार्टी फुटाउनु परे फुटाउन वा नयाँ दल दर्ता गरेर मात्रै निर्वाचनमा जान पाउने जनाएको थियो।

प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अलगअलग भए पनि विधानतः यो पार्टीको आधिकारिकता र चुनाव चिह्नलगायत अन्य गतिविधिउपर आयोगले अमान्य ठहर गरिसकेको छ।

दुई कित्तामा बाँडिएका दुवै समूहले तल्लो तहसम्म आफ्नो संगठन विस्तार गरिसके पनि निर्वाचन आयोगले पार्टी विभाजन हुन नसक्ने भन्दै पत्र काटेको हो। आयोगले दुवै समूहलाई नचिन्ने भन्दै अब पार्टी फुटेको भनेर आयोगमा निवेदन दिनुपर्ने वा नयाँ पार्टी दर्ता गरेर मात्रै निर्वाचनमा जान भनेको थियो।

दुवै पक्ष छलफलमा जाने

आयोगले छलफलका लागि बोलाएपछि नेकपाका दुवै समूह छलफलमा जाने भएका छन्। ओलीपक्षीय स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले आयोगले छलफलका लागि बोलाएपछि आफूहरू जाने बताए। थाहा खबरसँग कुरा गर्दै नेम्बाङले आफूहरूले निर्वाचनको तयारी रहेको र आयोगलाई पनि निर्वाचनसम्बन्धी तयारी जारी राख्‍न सुझाव दिने बताए।

‘संसद् बिघटनसम्बन्धी मुद्दा अदालतमा चलिरहेको छ। यसको आदेश नहुन्जेलसम्म आयोगले मिति तय भएको निर्वाचनको तयारी गर्ने भन्ने नै छ। हामी त्यही आधारमा छलफल गर्छौं’ उनले भने।

यता, प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले पनि आयोगले बोलाएको छलफलमा आफूहरू सहभागी हुने बताए। तर, यो समूहले भने अहिले तोकिएको निर्वाचन असंवैधानिक भएको भन्दै त्यहीअनुसार छलफलमा कुरा राख्‍ने तयारी गरेको उनको भनाइ छ।

उनले भने,' केपी ओलीले अहिले तोकेको निर्वाचन असंवैधानिक छ' उनले थपे, 'यो निर्वाचन कुनै हालतमा हुनै सक्दैन। यदि जबरजस्ती निर्वाचन गरिए त्यसको परिणाम गम्भीर हुनेछ र त्यसको जिम्मेवारी अहिलेको सरकारले लिनुपर्नेछ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.