|

काठमाडौँ : पछिल्लो समय गर्मी बढेसँगै विद्यालयको पठनपाठनमा प्रभाव परेको छ। गर्मी बढेसँगै कतिपय विद्यालयहरूले बन्द गरेका छन् भने केहीले विहानी कक्षा सञ्चालन गरेका छन्।

खोटाङमा अत्यधिक गर्मी बढेपछि हलेसी तुवाचुङ नगरपालिकाका ९ वटा सामुदायिक विद्यालयमा बिहानी कक्षा सञ्चालन गरिने भएको छ। नगर कार्यपालिकाको बैठकले दिउँसोको गर्मीका कारण विद्यार्थीलाई समस्या भएपछि कोशी किनारमा सञ्चालित ९ वटा सामुदायिक विद्यालयमा बिहान ६ बजेदेखि ११ बजेसम्म पठनपाठन गर्ने/गराउने निर्णय गरेको छ।

नगरप्रमुख विमला राईका अनुसार दूधकोशी र सुनकोशी किनारमा पर्ने वडा १, २, ४, ५, ८, ९ र १० को एक/एक वटा तथा वडा ११ का २ वटा विद्यालयको पठनपाठन समय परिवर्तन गरिएको छ। 

उनले भनिन्, ‘९ वटा विद्यालय कोशी किनारमा पर्छ, लामो समयको खडेरीका कारण गर्मी बढेसँगै ती विद्यालयहरूमा पठनपाठन प्रभावित भएको थियो, गर्मीका कारण पठनपाठनमा समस्या भएको खण्डमा अन्य विद्यालयको समय पनि क्रमशः परिवर्तन गरिनेछ।’

उनका अनुसार गर्मी प्रभावित क्षेत्रका अन्य विद्यालयको समय परिवर्तन गर्ने अधिकार सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिलाई दिइएको छ। नगर कार्यपालिकाको आकस्मिक बैठकले गरेको निर्णयअनुसार कोशी किनारका ९ वटा सामुदायिक विद्यालयमा आइतवारदेखि विहानको समयमा कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ।

११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा ९० वटा सामुदायिक र ४ वटा संस्थागत विद्यालय सञ्चालनमा छन्। सामुदायिक र संस्थागत गरी ९४ वटा विद्यालय सञ्चालनमा रहेको हलेसी तुवाचुङ नगरपालिकामा ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ। 

नगरपालिकाको अनुसार कोशी किनारको तापक्रम दिउँसोको समयमा ४० डिग्री सेल्सियसभन्दा बढी हुने गरेको छ।

यस्तै, अत्यधिक गर्मी भएपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिइसकेको छ। बुटवल उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै हिजो (बिहीवार) र आज (शुक्रवार) विद्यालयहरूमा बिदा दिने निर्णय गरेको जानकारी दिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा भनिएको छ, ‘केही दिनयता तातो हावा चल्न थालेकोले विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकाले आज भोलि नगरभित्रका सबै विद्यालयमा बिदा दिइएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.