|

काठमाडौं : सरकारले अन्तर्राष्ट्रिय प्रश्नावलीका अधारमा आगामी वैशाखदेखि श्रमशक्ति सर्वे गर्ने भएको छ। नेपालमा श्रमशक्तिको अवस्था, कामको प्रकृति ज्यालाको दरका साथै मजदुरसँग सम्बन्धित सबै विषयको सर्वेक्षण गर्न लागिएको केन्द्रिय तथ्यांक विभागले जनाएको छ।

दोस्रो श्रमशक्ति सर्वेक्षण ०६४–०६५ अनुसार १५ वर्ष वा सोभन्दा माथिल्लो उमेर समूहका करिब ८३ प्रतिशत जनसंख्या आर्थिक क्रियाकलापमा सक्रिय रहेका र १७ प्रतिशत जनसंख्या निष्क्रिय रहेको अनुमान गरिएको थियो।

नयाँ सर्वेमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले प्रचलनमा ल्याएको मापदण्ड प्रयोग गरिने भएकाले श्रमशक्तिबारे विस्तृत तथ्यांक आउने अनुमान छ। यो सर्वे आइएलओकै प्राविधिक सहयोगमा हुन लागेको हो।

सर्वेक्षणमा आर्थिक क्रियाकलापका औपचारिक र अनौपचारिक दुवै क्षेत्रका विवरण संकलन गरिनेछ भने गैरआर्थिक क्षेत्रको पनि क्षेत्रगत विवरण संकलन गरिने विभागले जनाएको छ।

विभागका उपनिर्देशक डा. रुद्र सुवालका अनुसार विभागले चैतको दोस्रो सातासम्म सर्वेक्षकलाई यसको पूर्वतयारीका विषयमा तालिम दिँदैछ। ‘नयाँ वर्षको सुरुवातसँगै सर्वेक्षण सुरु हुनेछ’ उनले भने, ‘सर्वे गर्नुभन्दा पहिले चैतको दोस्रो सातासम्म सर्वेक्षकलाई तालिम दिने कार्य भइसकेको छ।’

विभागका अनुसार सर्वेमा १८ हजार घरधुरीबाट नमुना संकलन गरिनेछ। यसअघिको सर्वेमा १६ हजार घरधुरीलाई नमुनाका रुपमा समेटिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.