|

पर्वत : कास्कीको अन्नपूर्ण गाउँपालिका–१ की अञ्जना भण्डारीलाई बिहीबार एमबिबिएसको परीक्षामा सहभागी हुन पोखरा पुग्नु थियो।

तर बन्दका कारण बिहानैदेखि छोटो तथा लामो दूरीका सवारी नचल्दा उनै पोखरा पुगेर परीक्षामा सहभागी हुनै नसक्ने अवस्था थियो। जसोतसो दूध बोक्ने गाडी भेटिएपछि पोखरा पुगेकी उनलाई फेरि फर्किने बेलामा उहीँ आपत् भयो।

त्यही बेलामा उनले ‘बन्दमा अप्ठ्यारो परेर पिक एन्ड ड्रप गर्नुपरेमा फोन गर्न’ भनी दिइएका फोन नं देखेपछि एउटा नम्बरमा फोन गर्दा अनुप लामिछाने भन्ने व्यक्तिले उठाए। अन्जनाको कुरा सुनेपछि उनले बाइकमा राखेर गन्तव्यमा लगेर छाडे।

अनुपले जस्तै झन्डै २५ जना युवाको समूहले पोखरामा बिहीबार बिहानैदेखि यही काम गरिरहेको थियो। सवारी साधन नचलेको बेलामा बिरामी पर्दा, परीक्षामा जान समस्या हुँदा, लगायतका अत्यावश्यक काममा जानैपर्ने अवस्थामा परेकाहरूलाई उद्धार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा रहेका अनेरास्ववियूका विद्यार्थीहरुले यो अभियान थालेका थिए।

अनेरास्ववियू पिएन क्याम्पस कमिटीले बुधबार नै विद्यार्थीहरू समस्यामा पर्ने सक्ने भनी उद्धारका लागि समूह बनाएको र सोही समूहले नै विद्यार्थीलगायत अन्यलाई पनि ओसारपसारको काम गरेको कमिटीका संयोजक विष्णु पौडेलले बताए।

उद्धारमा खटिएका म्याग्दी घर भई पोखरामा बसी अनेरास्ववियूमा आबद्ध एक विद्यार्थी महेश पौडेलले आफूलाई चार जनाले फोन गरेपछि उनीहरूलाई गन्तव्यमा लगेर छाडेको बताए।

बिहानैदेखि सेवामा खटिएका उनीहरूको काम बिहीबार दिनभर चलिरहेको छ। अपराह्नसम्म पनि खाना नखाई उद्धारमा लागिरहँदा आफूलाई आनन्द लागेको उनले बताए। 

‘हामी कतिपय साथीले खाना नै खाएका छैनौँ। यहाँ लगिदिनपर्‍यो भन्दै फोन आएपछि बाइक लिएर तुरुन्तै पुगेर हेल्प गर्नुपर्छ,’ उनले भने, ‘एउटा परीक्षा मिस भयो भने एउटा विद्यार्थीको जीवन कहाँ पुग्छ? एउटा बिरामीलाई अस्पताल पुग्न एक सेकेन्ड ढिला भयो भने उसको अवस्था के होला? बन्द सदाका लागि बन्द गरौँ। जसले आयोजना गरे पनि यो काम नै नराम्रो हो।’ 

सेवाका लागि सडकमा गुड्ने बेलामा हडताल आयोजक प्रचण्ड–नेपाल पक्षका नेता तथा कार्यकर्ताहरूबाट कतै पनि अवरोध खेप्न नपरेको पनि सहयोगकर्ताको भनाइ छ। सहयोग माग्ने अधिकांश विद्यार्थी रहेका र परीक्षामा जाँदै गरेको वा फर्किएको बेलामा प्रवेश पत्र देखाएपछि आन्दोलनरत पक्षले असहयोग नगरेको विद्यार्थी नेता पौडेलले बताए। यो अभियानमा पिएन। क्याम्पससहित अन्य विद्यार्थीसमेत सहभागी थिए।

यही समूहसहित अन्यले बिहीबार पोखरामा बन्दको विरोधमा मोटरसाइकल र्‍यालीसमेत निकालेको थियो। उद्धारसहित मोटरसाइकल चलाएर बन्दको अवज्ञा गर्न भन्दै उनीहरूले पोखराका विभिन्न चोकहरूमा परिक्रमा पनि गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.