|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पटक–पटक राजनीतिक धोका भएको भन्दै बदला लिने दाउ हेरिरहेको नेपाली कांग्रेस फेरि चिप्लिएको छ। सत्ता समीकरणभित्रको एउटा घटक जसपा नेपाल फुटेसँगै वैकल्पिक गठबन्धन बनाएर प्रचण्डसँग बदला लिने कांग्रेसको योजना तत्काललाई तुहिएको हो। 

प्रधानमन्त्री प्रचण्डले २१ फागुन २०८० मा समीकरण फेरेलगत्तै वैकल्पिक गठबन्धन निर्माणमा जुटे पनि सफल नभएपछि कांग्रेस नेकपा एमाले फकाउने ध्याउन्नमा थियो। यही बीचमा उसले सत्ता समीकरणबाट जसपा नेपाल र एकीकृत समाजवादीलाई निकालेर वैकल्पिक गठबन्धन बनाउने अर्को प्रयास गरेको थियो।

भागबन्डाप्रति शुरुदेखि नै असन्तुष्ट रहँदै आएका नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसको यो प्रयासमा साथ दिएका थिए। भित्रभित्रै नेपालको सक्रियता तीव्र बनेका वेला अशोककुमार राईको नेतृत्वमा फुटेर बनेको जसपाले प्रचण्ड सरकारलाई समर्थन गरेपछि गठबन्धन तोड्ने कांग्रेसको अर्को प्रयास विफल भएको हो। 

योसँगै नेकपा समाजवादीको ‘बार्गेनिङ पावर’ समाप्त भएको छ। यही कुरा महसुस गरेका अध्यक्ष नेपालले सोमबारको पार्टी संसदीय दलको बैठकमा वर्तमान गठबन्धनलाई निरन्तरता दिने कुरामा आफू स्पष्ट रहेको ‘ब्रिफिङ’ गरेका थिए। केही दिनअघि मात्रै उनले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ‘जुनसुकै वेला गठबन्धन जे पनि हुन सक्छ’ भन्ने चेतावनी दिएका थिए। 

सत्ता समीकरणमा अंकगणित फेरिए पनि सरकार सुरक्षित नै देखिन्छ। गत फागुन ३० प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक संसद्‌बाट विश्वासको मत लिँदा माओवादी, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी, नाउपा र एक स्वतन्त्र सांसद गरी जम्मा १५७ जनाले विश्वासको मत दिएका थिए।

जसपा नेपाल विभाजनपछि उपेन्द्र पक्ष सरकारबाट बाहिरिएमा प्रधानमन्त्री प्रचण्डसँग १५२ सांसदको समर्थन कायमै रहनेछ। त्यसमा माधव नेपालको पार्टीको १० सिटकै हिसाब नगर्दा पनि १४२ सिट कायमै रहन्छ। जब कि बहुमतका लागि १३८ जना सांसदको समर्थन भए पुग्छ। संघीय सरकार सुरक्षित देखिए पनि नेकपा समाजवादी र जसपा नेपाल समीकरणबाट बाहिरिए अधिकांश प्रदेश सरकार भने ढल्ने निश्चित छ। 

केन्द्रको सरकार पनि ढालेर प्रधानमन्त्री प्रचण्डसँग धोकाको बदला लिन कांग्रेससँग अब एमालेलाई विश्वासमा ल्याउने अन्तिम विकल्प बाँकी छ। सार्वजनिक रूपमा कांग्रेस नेताहरूले एमालेसँग सहकार्यका लागि संवाद भइरहेको र कुरा मिल्दै गएको बताउँदै आएका छन्।  

तर यो प्रयासले सार्थकता पाउने सम्भावना निकै न्यून देखिन्छ। अहिलेसम्म यी दुई दलका नेतृत्व तहमा विश्वासको वातावरण बनिनसकेको देखिन्छ। कांग्रेसका एक नेताका अनुसार भर्खरै नयाँ समीकरण बनेकाले एमालेले अहिल्यै नयाँ सहकार्य अघि बढाइहाल्न इच्छुक छैन भने कुन मोडलमा सहकार्य गर्ने भन्नेमा पनि कुरा मिलेको छैन। 

‘भर्खरै नयाँ गठबन्धन बनेको कारणले अहिल्यै अर्को गठबन्धनको तयारीले सार्थकता नपाएको हो। एमालेका धेरैजसो नेताहरू यसका लागि तुरुन्तै केही गरिहाल्ने पक्षमा देखिनुभएको छैन’, ती नेताले भने, ‘साथै कसरी जाने भन्नेमै अप्ठ्यारो परिरहेको छ।’  

दुई ठूला दल मिलेको अवस्थामा राजनीतिक स्थायित्व दिन सकिने कुरा भने एमाले पनि महसुस गरेको भए पनि मिलिहाल्ने वातावरण तयार नभएको कांग्रेसका अर्का नेता बताउँछन्। ‘नेताहरूबाट वार्ता त भइरहेको छ। दुई ठूला पार्टी मिल्दा स्थिरता हुन्छ भन्ने महसुस त एमालेले पनि छ’, उनले भने, ‘तर विश्वासको वातावरण अझै बनिसकेको छैन।’ 

त्यसो त एमालेले पनि कांग्रेससँग सहकार्यको कुनै सम्भावना नरहेको बताउँदै आएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेल सहकार्यको सम्भावना टाढा रहेको भन्दै कांग्रेस नेताहरूले एमालेसँग सहकार्य हुन लाग्यो भनेर प्रतिपक्षीमा हुँदाको तड्पाइ पोखेको टिप्पणी गर्छन्।  

‘कांग्रेस प्रतिपक्षीमा गएर तड्पिएको मात्र हो। कांग्रेससँग सहकार्यको कुनै सम्भावना छैन’, उनले भने, ‘कांग्रेससँग सहकार्य होइन, हामी प्रतिस्पर्धा गर्छौँ‚ आगामी चुनावमा हामीले कमजोर प्रतिपक्षीमा सीमित पार्छौं।’

राजनीतिक विश्लेषकहरू पनि तत्काल कांग्रेस-एमाले सहकार्यको सम्भावना देख्दैनन्। संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षी ‘वेटिङ गभर्मेन्ट’ भएकाले सत्ता समीकरणमा अविश्वास ल्याउन कांग्रेसले एमालेसँगको संवादलाई बढाइचढाइ गर्नु पनि स्वभाविक भएको उनीहरू ठान्छन्।   

राजनीतिक विश्लेषक चन्द्रदेव भट्ट भन्छन्, ‘एमालेले यही समीकरण पूरै कार्यकाल चल्छ भनिरहेका वेला कांग्रेसले भने बाहिर जुन म्यासेज दिइराख्या छ, त्यो उसको गठबन्धनमा शंका उपशंका उत्पन्न गराउने उद्देश्य मात्र देखिन्छ।’  

एमालेभित्र पनि कतिपय नेता कांग्रेससँग मिल्नुपर्ने पक्षमा रहेको भए पनि तत्काल त्यो सम्भावना नरहेको विश्लेषक भट्ट बताउँछन्। ‘एमालेभित्र पनि कांग्रेसँग मिल्नुपर्छ भन्ने केही नेताहरू पक्कै छन्। किनभने स्वयं ओलीले पनि प्रचण्ड बलियो बनाइरहून् भन्ने त चाहँदैनन्’, उनले भने, ‘तर त्यसो भन्दैमा अहिल्यै एमाले कांग्रेसको गठबन्धन बन्छ जस्तो देखिँदैन।’  

यद्यपि नेपालका राजनीतिक दलहरूले नीति, सिद्धान्त र विचारभन्दा फाइदा हेर्ने हुँदा कुन कुन वेला के हुन्छ भन्न नसकिने भट्ट बताउँछन्। ‘नेपालका दलहरू जति वेला जसलाई जहाँबाट फाइदा हुन्छ, त्यसैगरी अघि बढ्ने प्रवृत्तिका छन्। त्यसो हुँदा फेरि यही हुन्छ भनेर ग्यारेन्टी दिन सकिन अवस्था चाहिँ रहँदैन।’‍

अहिले भूराजनीतिक प्रत्यक्ष दबाव नरहेको पनि भट्ट औंल्याउँछन्। भूराजनीतिका गहन अध्येता भट्टले भने, ‘भूराजनीतिक दबाव अहिले हावी छैन। छिमेकीहरूका आ-आफ्ना चाहना त होलान् तर उनीहरू प्रत्यक्ष लागेको जस्तो चाहिँ मलाई लाग्दैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.