विद्यार्थी संगठनद्वारा आन्दोलनमा उत्रने चेतावनी

|

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरीको भागरथी भट्टको मृत्युको कारणबारे अनुसन्धान गर्न आज तालिमप्राप्त कुकुरसहितको प्राविधिकको टोली परिचालन गरिएको छ।

किशोरीको वीभत्सरुपमा हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो। धनगढीबाट तालिम प्राप्त कुकरसहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। घटनाको थप अनुसन्धानका लागि कुकुरसहितको टोली  परिचालन गरिएको हो।  उनले भने, ‘घटनामा संलग्नलाई खोज्न तथा थप अनुसन्धान गर्न सहज होस भनेर कुकुरको प्रयोग गरेका हौं।’

​बुधबार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरि फालिएको अवस्थामा लवलेक जंगलमा फेला परेको थियो।

किशोरीको शव फेला पर्ने बित्तिकै बिहीबारदेखि घटनास्थलमा प्रहरीको टोली खटिएको र घटनास्थललाई सुरक्षित पारिएको छ।। किशोरीलाई बलात्कार पछि हत्या गरेको हुन सक्ने परिवारले आशंका गरेका छन्। शव वीभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरेको हुन सक्ने मृतक किशोरीका आफन्त शिवराज भट्टले जानकारी दिए। उनले भने, ‘शरिरमा निलडाम, घाउ छन्, कपडा पनि च्यातिएको अवस्थामा छ।’

प्रहरीले भने मृतक किशोरीको शव परीक्षण गरेपछि मात्रै बलात्कार भए नभएको बारेमा थाहा हुने जनाएको छ। दोषी पत्ता लगाई कारवाहीको दायरमा नल्याउँदा सम्म शव उठाउन नदिने आफन्तहरुले बताएका छन्। किशोरीले प्रयोग गरेको मोबाइल र कापीकिताबसमेत भेटिएका छैनन्।

मृतक किशोरी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित सनातन धर्म माविका  कक्षा १२ मा अध्ययनरत थिइन्।

यस्तै, किशोरीको मृत्यु भएपछि शोकमा दोगडाकेदार गाउँपालिकाले आज एकदिन शोक बिदा दिएको छ। गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा किशोरीको  शोकमा गाउँपालिका अन्र्तगतका कार्यालय र सम्पूर्ण शैक्षिक संस्था बन्द रहने जनाएको छ। क्रूरतापूर्वक भएको उक्त घटनाको निन्दा गर्दै सत्यतथ्य छानविन गरी दोषीलाई गिरफ्तार गरी कारबाही गर्नसमेत गाउँपालिकाले माग गरेको छ।  

विद्यार्थी संगठन पनि निष्पक्ष छानविनको मागमा

किशोरी हत्याको घटनाको बैतडीका विद्यार्थी संघ संगठनले पनि निन्दा गरेका छन्।  नेपाल विद्यार्थी संघले एक विज्ञप्ती जारी गर्दै निस्पक्ष छानविन गर्न माग गरेको छ। नविसंघका बैतडी अध्यक्ष कपिल केसीले  दोषीलाई पत्ता लगाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

कम्युनिष्ट सरकारले सुरक्षा दिन नसकेको कारण यस्ता घटना बढिरहेका नेविसंघको आरोप रहेको छ। घटनालाई आलटाल गरी दोषीलाई उन्मुक्ति दिने काम गरिए शसक्त आन्दोलनमा उत्रनेसमेत चेतावनी दिइएको छ। 

यस्तै नेकपा  प्रधानमन्त्री ओली निकट अनेरास्ववियुले पनि घटनाको निन्दा गरेको छ। अनेरास्ववीयूका संयोजक सन्तोश रानाले विज्ञप्ती जारि गर्दै भट्टलाई बलात्कारपछि हत्या गरेर फालिएको उल्लेख गरेका छन्।

‘भागरथी भट्टमाथि बलात्कारपछि क्रूरतापूर्वक हत्या गरिएको पाशंविक घटनाको जति निन्दा र भत्र्सना गरेपनि कमै हुन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारको जघन्य तथा अक्षम्य अपराधका दोषीलाई अबिलम्ब गिरफ्तार गरि हदैसम्मको कारवाही गर्न जोडदार माग गर्दछौँ।’

उता विवेकशील साझा पार्टीले पनि घटनाको यथाशीघ्र छानविन गर्न माग गरेको छ। पार्टीका केन्दीय समिति सदस्य हरिशप्रसाद भट्टद्वारा  जारी विज्ञप्तीमा  यथासिघ्र र वैज्ञानिक अनुसन्धान गरि दोषीमाथि कारवाही गर्नुपर्ने माग गरेको छ।

‘हाम्रा गाउँघरमा बलात्कार र हत्या जस्ता घटनाबढीरहनु हाम्रो राज्य संयन्त्रको असफलता मात्रै हैन हाम्रो सामाजिक चेतना र हाम्रो खस्किदो नैतिक स्तरको नमूना पनि हो। यस्ता घटना दोहोरिन नदिन कानुनी संयन्त्र चनाखो र सक्षम हुन जरुरी छ’ विज्ञप्तिमा भनिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.