व्यक्तिको होइन, व्यवस्थामै पुनर्विचार गर्नुपर्नेमा जोड

|

काठमाडौंः देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति शासन र संकटकाल लागु गर्ने सम्भावना बढेको आशंका व्यक्त गरेका छन्। 

पुस ५ मा प्रतिनिधिसभा विघटन भइसकेपछि राष्ट्रपति शासन र संकटकाल लाग्ने चर्चा बढेको उल्लेख गर्दै उनले पछिल्ला घट्नाक्रमले त्यसको पुष्टि गर्दै गएको दाबी गरेका हुन्।​रिपोर्टर्स क्लबले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले नेकपाले जनतामाथि कुठराघात गरेको पनि बताए। 

'ओलीले प्रतिनिधिसभा विघटन गर्ने प्रस्ताव गर्नुभयो, र, लगत्तै राष्ट्रपतिले स्विकार गर्नुभयो, यो कदमलाई हामीले प्रतिगमनकारी भनेका छौं, संविधानअनुसार यो अधिकार उहाँलाई छैन, उहाँले चुनावको मिति घोषणा गर्नुभयो, चुनाव हुनेवाला पनि छैन।’ उनले भने, ‘चुनाव गराउन लागि मिति तोकिएको होइन, हुनेवाला छैन, उहाँको उद्देश्यचाहिँ के छ भने यो सरकारलाई जसरी पनि लम्ब्याउने हो, शासक बनिरहने।’

नेता गजुरेलले संसद् विघटन हुनुको तीन कारण रहेको उल्लेख गरे। पहिलो कारण, सत्ताधारीभित्रको किचलो, कलह, सत्ता नै भएको उनले सुनाए। उनले भने,‘सत्ताधारीभित्र पद, पैसाको लागि किचलो भयो, अर्को, स्वयं यो व्यवस्थाको कमजोरी पनि कारण हो, ओलीले फाइदा उठाएर यो गरे, कहीँ न कहीँ यो व्यवस्थाको कमजोरी हो, अर्को, विदेशी शक्तिको हस्तक्षेप हो।’

अहिले संसद विघटनबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीभित्र नै दुईखाले मत रहेको भन्दै उनले सर्वोच्च अदालतबाट जे फैसला आए पनि समस्याको समाधान नहुने दाबी गरे। 

अदालतबाट संसद पुनर्स्थापना भए देश पुस ५ अघिको अवस्थामा फर्कने र संसद् विघटन भए फेरि यस्तै प्रवृत्ति दोहोरिने भन्दै उनले समस्या व्यवस्थामै भएकाले व्यवस्थामा पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन्। 

उनले अहिलेको राजनीतिक समस्या समाधान अब संयुक्त सरकार बनाएर व्यवस्थाको विकल्प खोज्नुपर्नेमा जोड दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.