|

पर्वत : लघु जलविद्युत् आयोजना मर्मत नहुँदा पर्वतका ग्रामीण क्षेत्रमा उत्पादन हुने १५६ किलोवाट जलविद्युत् प्रयोगविहीन बनेको छ। 

जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालित झण्डै दर्जनको सङ्ख्यामा रहेका लघु जलविद्युत गृहबाट विद्युत् उत्पादन भइरहेको छ। कुनै समय जिल्लाका दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्‍याउने ध्येयले जलविद्युत उत्पादनमा लगानी गरिएको थियो। लाखौँ रकम लगानी गरेर सञ्चालित लघु जलविद्युत् आयोजना अहिले अलपत्र बनेका हुन्।

सामान्य लगानीमा मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने भए पनि स्थानीय तहको बेवास्ताका कारण आयोजना अलपत्र बनेका हुन्। विगत दुई दशक अघिदेखि युएनडिपी, विश्व बैंक र सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरूपमा बन्द छन्।

तीन वर्ष अघिसम्म तीनवटा मात्र आयोजना सञ्चालनमा रहेको भए पनि अहिले केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएसँगै ती पनि बन्द भएका हुन्। पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका सबै वडामा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएको हो।

दक्षिण पर्वतको पैँंयु गाउँपालिकामा सञ्चालित सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, फलेवास नगरपालिका–११ पाङराङको साढे ७ किलोवाट क्षमताको गढिसिँद्ध र विहादी गाउँपालिका–१ को ११ किलोवाटको बाच्छाखोला, पैंँयु गाउँपालिका–४ हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, वडा नं ७ भोर्लेमा रहेको १६ किलोवाट क्षमताको धुवाकोट, मोदी–४ क्याङमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्न छाडिएको हो। 

त्यस्तै, विहादीकै बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघु जलविद्युत् आयोजनामा पनि विद्युत उत्पादन गर्न छाडिएको छ। पर्वतको मोदी गाउँपालिका–१ भुकताङलेमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघु जलविद्युत आयोजना पनि तीन वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र बनेको छ।

महाशिला गाउँपालिका–२ भोक्सिङको ६ किलोवाट क्षमताको छहरेखोला र ९ किलोवाट क्षमताको छर्छरेखोला लघु जलविद्युत् आयोजना पनि दुई वर्षअघि गाउँमा केन्द्रीय प्रसारणलाइन विस्तार भएपछि त्यत्तिकै थन्किएका छन्। 

मर्मतको अभाव र कम क्षमता हुने भए पनि स्थानीयवासीले मर्मतमा पनि बेवास्ता गरेका हुन्। तत्कालीन जिल्ला विकास समिति ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार मर्मतका लागि बजेटसमेत अभाव भएको र मर्मत गरेपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयवासीले मर्मतमा बेवास्ता गरेका हुन्।

स्थानीय तहले मर्मत गरेर बिजुली प्रयोगमा ल्याउने हो भने धेरै फाइदा हुने उनको भनाइ छ। उनले गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीयलाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको बताइन्‌।

​पछिल्लो समय स्थानीय तहले पनि उक्त लघुविद्युत मर्मतका लागि बजेट विनियोजन गरेका छैनन्। स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हुँदै गएको बाच्छाका भीमबहादुर खड्काले बताए। 

जिल्लाका ११ लघु जलविद्युत् आयोजनाबाट १५६ दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भएको थियो। यसबाट दुई हजार चार सय तीन घरधुरीका २० हजार भन्दा बढी बासिन्दा लाभान्वित भएका थिए। युएनडिपी, विश्व बैंक र सरकारको लगानीमा २०५५ सालदेखि सञ्चालनमा रहेका यी आयोजना अहिले भग्वानशेष बनेका छन्।

ती आयोजनाको लागि दुई करोड २५ लाख रुपैयाँ खर्चिए तापनि केन्द्रीय प्रसारण विस्तार, उपभोक्ताको बेवास्ता र मर्मत अभावले जीर्ण बन्दै गएका हुन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.