|

पर्वत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भीडको आधारमा संसद् विघटनको फैसला हुने भए कांग्रेसले भीड जम्मा पारेर देखाउन नसक्ने बताएका छन्। 

नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश समितिद्वारा पोखरामा बिहीबार आयोजित प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेससँग पैसा नभएका कारण कार्यकर्तालाई सडकमा उतार्न नसक्ने बताएका हुन्।

नेकपाका दुई समूहले एक अर्कालाई देखाउनकै लागि पैसा खर्चेर भए पनि भीड देखाउने क्रम चलिरहेको प्रति व्यङ्ग्य गर्दै यस्तो बताएका हुन्। ‘हामीसँग पैसा पनि छैन। सडकमा आउन जबरजस्ती बोलाउन पनि हामीले सक्दैनौँ,' सभापति देउवाले भने, ‘क्रियाशील सदस्य लिने बेलामा मारामार हुन्छ। ल आन्दोलनमा आउनपर्‍यो भन्ने बेलामा आन्दोलनमा क्रियाशील नै आउँदैनन्।’

देउवाको यो भनाइ वर्तमान राजनीतिप्रति मात्रै लक्षित नभई कांग्रेसका कार्यकर्ताहरूमाथि समेत व्यङ्ग्य थियो। कतिपय ठाउँका सभामा सम्बोधन गर्ने क्रममा देउवाले कांग्रेसका कार्यकर्ताहरू आवश्यक परेको बेलामा सबै नउत्रिने कांग्रेसको विषयमा अरूलाई जानकारी नगराउने गरेको भनी टिप्पणी गर्दै आएका छन्।

देउवाले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको विघटन गरेर देशलाई ध्रुवीकरणमा लगेको पनि बताएका छन्। विघटित संसद् पुनर्स्थापना हुने वा ओलीकै निर्णय मान्य हुने? भन्ने विषयमा देश नै पक्ष र विपक्षमा रहेको उनको भनाइ छ।

यो प्रसंगमा उनले कांग्रेसले भीड जम्मा पारेर अदालतमा विचाराधीन अवस्थामा प्रभाव पार्ने काम कांग्रेसबाट नहुने स्पष्ट पारे। ‘देश नै यो निर्णयको पक्ष र विपक्षमा देखिएको छ। मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ,’ उनले भने, ‘कांग्रेसले अदालतमा रहेको मुद्दाका विषयमा सडकमा भीड जम्मा पारेर अदालतलाई प्रभाव पार्दैन। अदालतले जे निर्णय दिन्छ त्यो नै कांग्रेसले स्वीकार गर्छ।’

उनले संसद् विघटनको विषयलाई हल गर्न संसद् पुनर्स्थापना र चुनाव मात्रै विकल्प रहेको बताए। ‘अहिले पुनर्स्थापना र चुनाव हुने कुराले देशमा हलचल मच्चाएको छ। हाम्रो चुनाव चिह्न रुख छँदै छ, मिटिङ चल्याचल्यै छ,’ उनले भने, ‘कोही भन्छन् पुनर्स्थापना गर्दा ठिक हुन्छ कोही भन्छन् चुनाव हुँदा फाइदा हुन्छ, त्यस कारण हाम्रो छलफल भइरहेको छ।'

देउवाको भनाइप्रति पाैडेलको काउन्टर 

देउवापछि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने संसद् विघटनको विरोध गरेर सडकमा आउँदा अदालतलाई धम्क्याएको नहुने बताएका थिए। लोकतन्त्रको पक्षधर कांग्रेस भएकाले त्यसलाई बचाउनुपर्ने उनको तर्क थियो।

‘यो संविधान, लोकतन्त्रको सच्चा पक्षधर पार्टी नेपाली कांग्रेस हो। संसदीय व्यवस्थाको सर्वोच्चता संविधान हो। अदालतले संविधानको अक्षरश: पालना गर्नुपर्छ,’ पौडेलले भने, ‘जनताको भरोसाको केन्द्र कांग्रेस हो। लोकतन्त्रको संरक्षण हामीले नै गर्ने हो।’

‘संविधान र लोकतन्त्र फाल्ने ओलीको नियत भएको देउवाको आरोप थियो। यस्तो बेलामा कांग्रेसले अदालतलाई किन खबरदारी नगर्ने ? भनी उनले प्रश्न गरेका थिए।

संसद विघटनपछि लोकतन्त्रमाथि प्रहार हुँदा कांग्रेस पीडित भएको उनको आशय थियो। उनले भने, ‘मलाई विश्वास छ, संसद पुनर्स्थापना हुन्छ, नेपाललाई बचाउने जिम्मेवारी सर्वोच्च अदालतलाई आएको छ। हामी न्यायमूतिसँग न्याय माग्छौं।’

‘लोकतन्त्रमाथि प्रहार’ भइरहँदा नेपाली कांग्रेसले हेरेर बस्न नहुने पाैडेलले तर्क गरे। ‘योबेला अदालतले के गर्छ भनेर हेर्ने कि आफैं अग्रसर हुने हो ?’ उनले भने, ‘अदालतलाई धम्क्याएको होइन, आग्रह हो। हाम्रो जिकिर हो।’

संसद विघटनलाई कांग्रेसले अलोकतान्त्रिक र असंवैधानिक भनेकाले सभापतितर्फ लक्ष्यित गर्दै पाैडेलले जनतालाई कन्फ्युज नपार्न आग्रह गरेका थिए। २००७ सालदेखि कांग्रेस नै लोकतन्त्रका लाग लडेको पार्टी भएकाले कांग्रेसले नै जनतालाई कन्फ्युजमा राख्न नहुने उनको भनाइ थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.