|

काठमाडौँ : देशमा चिकित्सकको सङ्ख्या ४५ हजार ४९८ पुगेको छ। २०८० पुस मसान्तसम्मको तथ्याङ्कअनुसार चिकित्सकको संख्या ४५ हजार नाघेको जानकारी अर्थ मन्त्रालयले दिएको हो।

आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, ४ हजार ८८३ दन्त चिकित्सक र १० हजार ५८८ जना विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन्।

तीमध्ये पुरुष ६४ दशमलव १ र महिला ३५ दशमलव ९ प्रतिशत छन्।

सो अवधिमा १ लाख २२ हजार ३१३ जना विभिन्न श्रेणीका नर्स नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन्। 

सर्वेक्षणका अनुसार नेपालमा प्रतिहजार जनसङ्ख्यामा १ दशमलव २० चिकित्सक र २ दशमलव ८३ नर्स छन्। यो संख्या विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी हो।

२०७९ फागुनसम्म डाक्टर, नर्स, अनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयंसेविकासमेत गरी १ लाख २ हजार ६८६ स्वास्थ्यकर्मी सरकारी सेवामा आबद्ध छन्। 

चालु आवको फागुनसम्म सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट अन्तरङ्ग, बहिरङ्ग र आकिस्मक सेवा गरी ४ करोड ६० लाख ५६ हजार पटक सेवा प्रवाह भएको देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सेवा २ करोड ८८ लाख पटक भएको थियो।

देशमा ८४९ जना विदेशी नर्स कार्यरत रहेको तथ्याङ्कले देखाएको छ। २०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा १ लाख २२ हजार ३१३ जना नर्स दर्ता भएकामा विदेशी नर्सको सङ्ख्या ८४९ जना रहेको सर्वेक्षणमा उल्लेख छ। 

नर्समध्ये १ हजार ५०७ जना विशेषज्ञ नर्स, ३७ हजार ४२० जना अनमी र ६६ जना मिडवाइफ छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.