स्मार्ट कार्ड छपाइ रोकियो

|

काठमाडौं : लकडाउनपछि सवारी साधन लाइसन्सका लागि पाँच लाख व्यक्तिले आवेदन दिएका छन्। कोभिड–१९ को लकडाउनपश्चात अहिलेसम्म पाँच लाखले फर्म भरेको यातायात व्यवस्था विभागका इन्जिनियर सन्तोष पोखरेलले जानकारी दिएका छन्।

कोरोना भाइरस महामारीको कारण ९ महिना आवेदन बन्द भएको थियो। विभागले गत पुस १० गते  एक सूचना जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी पुस १४ गतेबाट आवदेन खुला गरेको थियो। ‘आवेदन खुला भएपछि अहिलेसम्म पाँच लाखले आवेदन दिएका छन,’ उनले भने, ‘यी आवेदन भर्ने बाइक, बस, स्कुटीलगायत साधनको संख्या हो।’

४५ सयले  ट्रायल पास गरे​

सवारी चालक अनुमति पत्र एकान्तकुनाका प्रशासकीय अधिकृत गणेश महर्जनले मंसिर १ गतेदेखि फागुन २१ गते सम्ममा ४५ सयले ट्रायल पास गरेका जानकारी दिए। ‘बाइक १६ सय,स्कुटी ८ सय,कारजिप १५ सय तथा अन्य सवारीसाधनको ट्रायल ४५ सयले पास गरेका छन्। अहिले पनि ट्रायल परीक्षा रोकिएको छैन।’ 

उनले अबदेखि एक पटक लिखित परीक्षा पास गरेपछि १८ महिनासम्म ट्रायल दिन पाउने बताए। पहिला तीन पटकसम्म दिन पाउने व्यवस्था थियो। उनका अनुसार अहिले पनि लाइसेन्स आवेदन खुला गरिएको छ।

उनले भने,‘लाइसन्स फारम भर्ने आवेदन खुल्लै छ। पहिला सीमित कोटा भएर भर्न समस्या भएको थियो। अहिले सजिलैसँग भर्न मिल्छ। समस्या छैन।’ विभागले सवारी चालक अनुमति पत्रको कडा मापदण्डलाई परिमार्जित गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेस गरिसकेको छ।

जसमा हेल्मेटको लक नलगाए, साइट लाइट नबलेको जस्ता सामान्य गल्तीमा पनि  ट्रायल फेल नहुने व्यवस्था गरिएको छ। यस विषयमा महर्जनले छलफल चलिरहेको जानकारी दिए। ‘विभागले मन्त्रालयमा  परिमार्जित सहित प्रस्ताव पेस गरेको छ,’ उनले भने, ‘अहिलेसम्म निर्णय भएको छैन। त्यसैले अहिले पुरानै नियममा आधारित रहेर ट्रायल दिइरहेका छौँ।’

स्मार्ट लाइसेन्स छपाइ रोकियो  

सवारी चालक अनुमतिपत्र(स्मार्ट लाइसेन्स) छपाई रोकिएको छ। विभागका इन्जिनियर पोखरेलले कार्ड सकिएका कारण छपाइ बन्द भएको जानकारी दिए। ‘स्टक कार्ड सकिएपछि अहिले छपाइ रोकिएको छ,’ उनले भने, ‘९० दिनभित्रमा उपलब्ध हुनेगरी नयाँ टेन्डर गरेका छौँ। कार्ड आएपछि निरन्तर छपाइ हुन्छ।’

उनका अनुसार अहिलेसम्म १८ लाख स्मार्ट लाइसेन्स कार्ड छापिएको छ। दैनिक चार हजार कार्ड छाप्ने गरेको पनि उनले जानकारी दिए।

ट्रायल पास भएको एक महिनामा कार्ड वितरण गरिने

विभागका इन्जिनियर पोखरेलले अब ट्रायल पास गरेको एक महिना भित्रमा स्र्माट कार्ड वितरण गरिने  जानकारी दिए। उनले भने, ‘अहिले कार्ड नभएका कारण छपाई भएको छैन्। कार्ड हामीकहाँ उपलब्ध भएपछि ट्रायल पास गर्ने व्यक्तिले एक महिनामा नै स्मार्ट लाइसेन्स पाउँछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.