याङ्री र लार्के खोलाबाट थप ३४ करोड लिटर पानी ल्याउनुपर्ने

|

काठमाडौं : ​मेलम्चीको बहुप्रतीक्षित पानी सुन्दरीजलमा झारिएसँगै सरकारले अब काठमाडौंमा पानी समस्या कहिल्यै नहुने झैँ गरी प्रचार गरिरहेको छ।

गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलमा फ्लसिङ टनेलमा हाइड्रो मेकानिकल गेटको बटम थिचेपछि पानी सुन्दरीजलमा खसेको त छ, तर सुरुङमा नियमित पानी प्रवाहदेखि काठमाडौं उपत्यकाभित्र मेलम्चीको पानी वितरण गर्न बनाएको भूमिगत संरचना परीक्षण हुनै बाँकी छ।

अब थप समस्या नभए र मेलम्चीको पानी सुरुङबाट नियमित आइरहेपनि काठमाडौंबासी सबैलाई यो पानी पर्याप्त भने हुनेछैन। मागअनुसार पानी वितरण हुन पूर्वयोजना अनुसार सिन्धुपाल्चोकस्थित याङ्ग्री र लार्के खोलाको पानी पनि काठमाडौंतर्फ पठाउनुपर्छ।

सुन्दरीजलमा पानी झारेसँगै मेलम्ची खानेपानी उपआयोजना–२, आयोजना निर्देशनालयले उपत्यकामा पानी वितरण थाल्न प्रकृया अघि बढाएको छ।

निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले भने, ‘पानी सुन्दरीजलमा झरिसकेको छ, हामी वितरण गर्ने तयारीमा जुटेका छौँ।’

उनका अनुसार पानी घर-घरमा पुर्‍याउन एक हजार १० किलोमिटर पाइप विस्तार गर्नुपर्नेछ। अहिलेसम्म एक हजार किलोमिटरभन्दा बढी नयाँ पाइपलाइन विस्तार गरिएको छ। तत्काल भने पुरानै पाइपबाट पानी वितरण गर्ने उनले जानकारी दिए। 

छिटोमा वैशाखदेखि वितरण

मेलम्चीबाट ल्याइएको पानी छिटोमा बैशाखतिर मात्रै उपभोक्ताले प्रयोग गर्न पाउनेछन्‌।

‘अब पानी सुरुङमा परीक्षण गर्न डेढ महिना लाग्छ, त्यो बेलासम्म सबै वितरण तयारीको काम सकिन्छ,’ प्रजापतिले भने, ‘पहिला वितरण गरिएको पानीको पाइपबाट हामी पानी पठाएर परीक्षण गर्छौं। बिग्रेका ठाउँमा बनाउँछौँ, यी सबै काम सक्दा वैशाखसम्ममा उपत्यकाबासीले पानी पिउन पाउँछन्‌।’

उनका अनुसार पानीका लागि उपत्यकाभित्र १० वटा रिजर्भ ट्यांकी बनाउनुपर्नेमा ९ वटा ट्यांकीको काम सम्पन्न भैसकेको छ। भक्तपुरको कटुन्जेमा बन्दै गरेको ट्यांकीको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। यी सबै ट्यांकीको रिजर्भ गर्ने क्षमता ६४ हजार घनमिटर रहेको छ। 

सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा काम गर्दै आएका एक ठेकेदारका अनुसार अझै प्रशोधन केन्द्र वरपर पर्खाल ठड्याउन बाँकी नै छ। उनले भने, ‘भूकम्पले भत्काएको पर्खाल ठड्याउन र अन्य काम पनि गर्न बाँकी छ।’

उनले मेलम्चीको पानी इन आउट हुँदा पनि परीक्षण गरी सरकारी मापदण्ड अनुसार मात्रै वितरण गरिने जानकारी दिए। 

अहिले ल्याइएको पानीले ४० प्रतिशत माग धान्ने

निर्देशनालयका उपनिर्देशक प्रजापतिका अनुसार उपत्यकामा दैनिक ४५ करोड लिटर पानी माग छ।

काठमाडौंमा प्रतिव्यक्ति एक सय लिटरदेखि एक सय ३५ लिटरसम्म खपत हुने अनुमान छ। अहिले विभिन्न स्रोतबाट वर्षायाममा दैनिक १६ करोड  लिटर पानी  आपूर्ति गरिएको छ भने सुख्खायाममा दैनिक ९ करोड लिटर पानी पूर्ति हुँदै आएको छ। मेलम्चीको पानी आएपछि उपत्यकाभित्र हुने गरेको पानीको मागमध्ये ४० प्रतिशत धान्ने उनले जानकारी दिए।

‘मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ, त्यही अनुसार अट्ने क्षमताको प्रशोधन केन्द्र सुन्दरीजलमा बनाएका हौँ,’ उनले भने।

यति पानीले मात्रै उपत्यकाको माग नधान्ने भएकाले सिन्धुपाल्चोककै याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्केबाट १७ गरी दैनिक ३४ करोड लिटर पानी ल्याउन आयोजनाको थप काम गर्न बाँकी रहेको उनले जानकारी दिए।

‘मेलम्चीबाट आएको पानीले मात्रै सबै उपत्यकाको माग धान्दैन,’ उनले भने, ‘त्यसैले अर्को चरणमा पानी ल्याउने योजना सरकारले बनाएको छ, अब छिट्टै काम थालिन्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.