संख्या बढ्दै, वासस्थान र आहारा घट्दै
काठमाडाैं : बाघले किन मान्छेमाथि आक्रमण गर्छ? उत्तर सहज आए पनि यो प्रश्न गम्भीर छ। बाघले मान्छेलाई देखेकै भरमा आक्रमण गरिहाल्छ भन्नेमा भने यसरबारे अनुसन्धानमा तल्लीन विज्ञहरूको फरक–फरक मत पाइन्छ। विज्ञ तथा संरक्षणकर्मी भन्छन्, 'तर, बाघले मान्छेलाई सीधै आक्रमण गर्दैन।'
पछिल्लो समय बाघको आक्रमणबाट मान्छेको ज्यान गएको एकपछि अर्को खबर आइरहँदा बाघ संरक्षणमा लागेका विज्ञहरू यस्तो घटना हुनुमा बाघको भन्दापनि मान्छेकै दोष भएको औँल्याउँछन्।
बाघको संरक्षण तथा गणनामा अनुभव बटुलिसकेका राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक गोपाल प्रकाश भट्टराई बाघले मान्छे मार्नुको पछि विभिन्न कारणहरू भएको बताउँछन्।
'कारण यही मात्र होइन, धेरै हुनसक्छन्, ' उनले भने, 'त्यसमा बाघको भन्दा मान्छेकै दोष अधिक देखिन्छ, विशेषगरी विभिन्न मानवीय क्रियाकलापहरू भेटिन्छन्।'
उनी बाघ आफैँले पहिला मान्छेलाई आक्रमण नगर्ने बताउँछन्। आफूमाथि संभावित हुनसक्ने आक्रमण र आफ्नो सुरक्षाका निम्ती मान्छेसँग अकस्मात भेट्दा सुरक्षाका लागि बाघबाट आक्रमण हुन्छ। बाघ बुढो भएपछि सहज तरिकाले आहारा पाउन मानिसमाथि आक्रमण गर्नसक्छ।
आफ्नो सुरमा आफ्नै बासस्थान वरपर हिँडिरहेको बाघलाई कसैले जिस्काउने या त्यसका क्रियाकलापमा बाधा पुर्याउँदा पनि बाघको आक्रमण हुनसक्ने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।
'बाघको संख्या बढ्दा बाघ र मानिसबीच द्वन्द्व बढ्छ,' उनले भने, 'घटना घटेको स्थानमा रहेका क्यामेराका आधारमा हेर्दा वयस्क बाघले नै बढी आक्रमण गरेको पाइएको छ। ती बाघ अर्को बयस्क बाघ भएको ठाउँमा बस्न सक्दैन र नयाँ ठाउँ खोज्दै जान्छ र यस्तोमा घटना हुनसक्छ। यस्ता घटना हुनुमा मान्छेको लापरबाही बढी र सचेतना कमी नै प्रमुख कारण हो, बाघ र बघिनीबीच प्रजनन हुने समय भएकाले डिस्टर्ब फिल हुँदा पनि आक्रमण गर्छ।'
बाघ हिंस्रक र मासु खाने जनावर हो। पछिल्लो समय बर्दियामा बाघको आक्रमणबाट एकपछि अर्को गर्दै मानिसको ज्यान गइरहेको छ। २ महिनाअघि निकुञ्जभित्र परेको पूर्व-पश्चिम राजमार्गमा एक महिलालाई मोटरसाइकलबाटै झम्टेर बाघले मारेको थियो भने बुधबार डिभिजन वन क्षेत्रको सम्झना सामुदायिक वनभित्र घाँस काट्न गएकी एक महिलाको ज्यान गएको थियो। यस्तै, २ साताअघि भैंसी चराउन गएका ६५ वर्षका एक पुरुषलाई आक्रमण गरेर बाघले ज्यान लिएको थियो।
यही आर्थिक वर्षमा बाघकै आक्रमणबाट त्यहाँ ८ जनाले ज्यान गुमाएका छन्। बाघ आक्रमण जोखिमलाई मध्यनजर गर्दै निकुञ्ज क्षेत्र तथा डिभिजन वन र सामुदायिक वनमा गाईभैँसी चराउन, घाँसदाउरा लिन नजान सूचना जारी गरेपनि मानिसहरूले लापरवाही गरिरहँदा यस्ता घटना भएको संरक्षण अधिकृत श्रेष्ठ बताउँछन्। बाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले केही समय जंगल प्रवेश नगर्न र गर्नै परे पनि २–४ जना भएर मात्र जान स्थानीयमा आग्रह गरेका छन्।
उनी भन्छन्, 'बाघ विशेषगरी विहान सबेरै र साँझको समयमा आहाराका लागि हिँड्ने हुँदा यो समयमा बाघको बासस्थान हुने क्षेत्रमा एक्लै-दुक्लै हिँड्नु भएन, सकेसम्म ती क्षेत्रमा जानुभएन, जानै परे सर्तक हुनुपर्यो।'
अन्तरराष्ट्रिय समुदायमाझ गरेको बाघ दोब्बर बनाउने लक्ष्यबाट नेपाल थोरैमात्र टाढा रहेको छ। बाघविज्ञ डा. चिरन्जीवीप्रसाद पोखरेल तथ्यांकको हिसाबले बाघ बढ्दै गएसँगै चुनौती पनि उत्तिकै थपिदै गएको बताए।
'बढेको बाघको संख्यालाई हामी कत्तिको थेग्न सक्छौँ,’ उनले भने, 'यदि हामीले वासस्थान सुधारको क्रियाकलाप गर्न सकेनौँ भने बाघलगायत अरू वन्यजन्तुको संख्या घट्ने सम्भावना पनि उत्तिकै रहनेछ। बाघ र मानिसबीचको द्वन्द्व पनि बढ्दै जान्छ।'
किन आक्रमण गर्छ
- बाघ आफैँले पहिला मान्छेलाई आक्रमण गर्दैन, मान्छेसँग अकस्मात भेट्दा सुरक्षाका लागि आक्रमण गर्नसक्छ।
- बाघ बुढो भएपछि सहज तरिकाको आहाराका लागि मानिसमाथि आक्रमण गर्नसक्छ।
- आफ्नो सुरमा हिँडिरहेको बाघलाई कसैले जिस्काउने या त्यसका क्रियाकलापमा बाधा पुर्याउँदा आक्रमण हुनसक्छ।
- मान्छेको मासुको नयाँ स्वाद पाउनासाथ उसको आकर्षण त्यसमा हुनसक्छ र त्यसले मानिसमाथि पटक-पटक आक्रमण गर्नसक्छ।
- बाघले भर्खरै सिकार मारेर रगत चुस्दै गरेको अवस्थामा जोकोही नजिक पुगेमा त्यसलाई पनि आक्रमण गर्नसक्छ।
- आफ्ना बच्चा डमरुसँग भएको अवस्थामा बच्चालाई आक्रमण हुन लागेको ठानी अगाडी देखिएका जो-केहीलाई आक्रमण गर्नसक्छ।
- बाघले अन्य जनावर भन्ठानेर झुक्किएर पनि मानिसलाई आक्रमण गर्नसक्छ।
- बाघको संख्या बढ्दा बाघ र मानिसबीच द्वन्द्व बढ्छ।
- एउटा बाघ अर्को बयस्क बाघ भएको ठाउँमा बस्न सक्दैन, नयाँ ठाउँ खोज्दै जान्छ र यस्तोमा घटना हुनसक्छ।
- यस्ता घटना हुनुमा मान्छेको लापरबाही बढी र सचेतना कमी प्रमुख कारण हो।
- यो सिजनमा भाले र पोथी बाघको प्रजननका लागि क्रीडा हुने समय भएकाले डिस्टर्ब फिल भयो आक्रमण गर्छ।
बाघका मुख्य आहारा मृगका विभिन्न प्रजाति, जरायो, चित्तल, बँदेल, बाँदर, लंगुरलगायत हुन्। पछिल्लो तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा २ सय ३५ वटा पाटेबाघ रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।