|

काठमाडौं : पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई आठ विकेटले हराउँदै पुलिसले उपाधिमाथि कब्जा जमाएको हो।

वि क्रिकेट मैदानमा एपीएफले दिएको एक सय ६ रनको लक्ष्य पछ्याएको पुलिसले २४ दशमलब १ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। पुलिसको जितमा सुनिल धमलाले ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दा अनिल शाह र कुशल भूर्तेलले १५–१५ रनको योगदान दिए।

दीपेन्द्र सिंह ऐरी ११ रनमा अविजित रहे। धमलाले ८२ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए।  एपीएफका अविनास बोहरा र भुवन कार्कीले १-१ विकेट लिए। यसअघि त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो।

एपीएफका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रन बनाउँदा सन्दीप जोरा र अमर रौटेलाले १८-१८ रन बनाए। भुवन कार्की १४ तथा अविनाश बोहोराले १२ रनको योगदान दिए। आशिफ शेख  र कप्तान शरद भेषबाकरले रनको खाता नै खोल्न सकेनन्।

उनीहरू दुवैजना शून्य रनमा आउट भए। एपीएफलाई सस्तैमा समेट्न पुलिसका गुल्सन झा र सागर ढकालले ४-४ विकेट लिए । उपाधिसँगै पुलिसले ५ लाख प्राप्त गरेको छ। उपविजेता बनेको एपीएफले ३ लाखमा चित्त बुझायो। प्रतियोगितामा पाँच टिमको सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.