|

काठमाडौं : सरकारले भोलि (चैत ४) गतेबाट ५५ वर्ष माथिका नागरिकलाई खोप दिने योजना बनाएपनि सुरू गर्ने/नगर्नेमा अन्योल छाएको छ।

खोप उपलब्धता सीमित भएका कारण खोप लगाउनेबारे अलमल भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले नै भोलिदेखि खोप कार्यक्रम निरन्तर हुन्छ/हुँदैन भन्ने अनिश्चित रहेको बताएका छन्‌।

योजना अनुसार तोकिएको समयमा तोकिएको मात्राको खोप नआएकाले भोलिदेखि सुरू हुने भनिएको अभियान अनिश्चित रहेको मन्त्रालयका एक अधिकारीले बताए। उनले भने, ‘सिरमले दिने भनेको १० खोप आइपुगेको छैन, हाल यहाँ कम खोप मौज्दात भएका कारण अब भोलिबाट अर्को उमेर समूहमा शुरू गर्ने भनिएको खोप अभियान एक सातापछि धकेलिन पनि सक्छ।'

सरकारले यसअघि २३ फागुनदेखि नै ५५ वर्ष माथिका व्यक्तिलाई कोभिडविरुद्ध खोप दिने बताएको थियो। त्यसबेला पनि पर्याप्त मात्रामा खोप आइनसकेको भन्दै अन्तिम समयमा उमेर हदलाई ५५ बाट बढाएर ६५ पुर्‍याएको थियो।

भारत सरकारले अनुदानमा १० लाख डोज कोभिशील्ड उपलब्ध गराएपछि १४ माघदेखि खोप अभियान शुरू गरेको सरकारले अहिले ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिँदै आएको छ। यो कार्यक्रम आजसम्म चल्ने बताइएको छ।

दोस्रो डोज खोप लगाउन ढिला हुनसक्ने

गत माघ १४ गतेदेखि शुरू भएको अभियानको पहिलो चरणमा खोप लगाएकाहरूले दोस्रो चरणको खोप कहिले लगाउन पाउँछन्‌ भन्ने पनि टुंगो लागेको छैन।

मन्त्रालयले घोषणा गरे अनुसार पहिलो चरणमा खोप लगाएकाहरूले दोस्रो मात्रा खोप ८ देखि १२ हप्तामा लगाउने यसअघि नै घोषणा गरेको थियो। यो अनुसार दोस्रो मात्रा खोप बैशाखको दोस्रो हप्तासम्म लगाउनुपर्ने भएपनि खोप उपलब्धता सुनिश्चितता नभए पर धकेलिनसक्ने मन्त्रालयले जनाएको छ।

‘यो महिनासम्म थप खोप उपलब्ध नभए पहिलो चरणमा खोप लगाएकाहरूले लगाउनुपर्ने दोस्रो डोज खोप पनि समयमै लगाउनसक्ने अवस्था छैन,' मन्त्रालयका एक अधिकारीले भने।

भारतले अनुदान स्वरुप दिएको १० लाख डोज खोपबाटै सरकारले पहिलो चरणको खोप अभियान थालेको थियो। सरकारले खरिद गरेको २० लाख डोजमध्ये १० लाख र कोभ्याक्सबाट अनुदानस्वरूप प्राप्त ३ लाख ४८ हजार डोज गरी झन्डै साढे २३ लाख डोज खोप नेपाल ल्याइसकिएको छ।

खोप खरिदका लागि गत फागुन ५ गते सम्झौता गरेको थियो। सम्झौताको एक हप्ताभित्र खोप आउने र शुरूमा १० लाख डोज खोप पठाएको थियो। १० लाख डोज पठाएको एक हप्तामा पुनः यति नै खोप पठाउने भने पनि कम्पनीले पठाएकै छैन।

हालसम्म नेपालमा १५ लाख ५५ हजार जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत रहेको खोप शाखाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.