|

काठमाडौं : सत्तारुढ नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ। प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका छन्।

यसअघि चैत ५ मा पनि प्रधानमन्त्री ओलीले बालुवाटारमै संसदीय दलको बैठक बोलाएका थिए। उक्त बैठकमा नेपाल–खनाल पक्षीय सांसदहरु सहभागी भएका थिएनन्।

आजको बैठकमा सूर्य चिह्न लिएर चुनाब लडेका सबै सांसदलाई बोलाइएको र नेपाल–खनाल समूहका सांसदहरु पनि बैठकमा सहभागी हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए। नेपाल–खनाल समूहले भने बैठकमा सहभागी हुने नहुनेबारे अहिलेसम्म निर्णय गरिसकेको छैन।

नेपाल–खनाल समूहका एक सांसदले बैठकमा सहभागी हुने सम्भावना रहेको तर निर्णय भने भइनसकेको बताए। ‘अस्तिको बैठकमा पनि सहभागी हुनुपर्छ भनेर हामीले भनेका थियौँ, अन्ततः बैठक बहिस्कार गरियो,' उनले भने, 'आजको बैठकमा सहभागी हुने भन्ने कुरा छ। सम्भवतः अहिले केहीबेरमा बस्ने नेताहरुको बैठकले संसदीय दलको बैठकमा जाने निर्णय गर्ला।’

चैत ५ गतेको बैठकमा नेपाल–खनाल समूह आफूहरु राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त रहेको भन्दै सहभागी भएको थिएन। नेपाल–खनाल समूहका सांसदहरुले आफूहरुले संसद विघटनविरुद्ध आन्दोलन गरेको भन्दै संसद पुनर्स्थापना भएपछि संसद, संसदीय समिति तथा संसदीय दलको बैठकमा सहभागी भएर छलफल गर्ने आफूहरुको दायित्व भएको बताउँदै आएका छन्।

यसैबीच अध्यक्ष ओली पक्षले आजै केन्द्रीय कमिटी बैठक बोलाएको छ। केन्द्रीय कमिटी बैठक बालुवाटारमै दिउँसो १ बजेका लागि बोलाइएको छ। केन्द्रीय कमिटी बैठकमा भने नेपाल–खनाल समूहका नेताहरु सहभागी नहुने बताइसकेका छन्।

यसअघि फागुन २८ गते ओली समूहले एकपक्षीय रुपमा केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर र अवैधानिक रुपमा सदस्यहरु मनोनित गरेको भन्दै नेपाल–खनाल समूह रुष्ट बनेको छ। नेपाल–खनाल समूहले विधानविपरीत गरेको सदस्य नियुक्ति र पदाधिकारीको जिम्मवारी हेरफेरको निर्णय फिर्ता लिन माग गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.