|

धनकुटा : धनकुटामा पछिल्लो समय बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ। अझ प्रदेश सरकारले किसानलाई अनुदान उपलब्‍ध गराउन थालेपछि किसान बाख्रापालनमा आकर्षित भएका छन्। यसको गतिलो उदाहरण हुन् धनकुटा नगरपालिका ९ महाङका किसान पशुपति भण्डारी।

३ वर्ष अगाडि २ लाखको लगानीबाट २५ वटा बाख्राबाट बाख्रापालन सुरु गरेका भण्डारीले हालसम्म ६ लाख रुपैयाँ लगानी गरिसकेका छन्। भण्डारीको फर्ममा अहिले उन्नत जातका बोयर बाख्रा रहेका छन्। भण्डारीको फर्ममा अहिले ५० वटा माउ बाख्रा र बोयरको ५० प्रतिशतको बोका ५० वटा रहेका छन्।

भण्डारीको बाख्रापालनमा लगानी तथा लगनशीलता देखेर प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालयबाट यो वर्ष आधुनिक खोर निर्माणका लागि ५ लाख रुपैयाँ अनुदान पनि पाएका छन्।

आधुनिक खोर बनाएपछि भण्डारीलाई बाख्रापालनमा निकै सहज भएको उनी बताउँछन्। उनका अनुसार बाख्रापालन किसानहरुका लागि प्रदेश सरकारले सहयोग गरपछि धनकुटाका निकै किसानहरु उत्साहित भएका छन्। तर, नेपाल कृषि प्रधान मुलुक भएकाले तिनै तहका सरकारले कृषि र पशुपालनमा लगानी बढाउनुपर्ने उनको भनाइ छ।

२०७४ सालमा महाङमा घर आगलागी भएपछि मन भुलाउन भण्डारीले बाख्रापालन सुरु गरेका थिए। उनले आफ्नै देशमा व्यवसाय गर्ने र गाउँमा बेरोजगारी अवस्थामा रहेका अधिकांश युवालाई व्यवसाय गर्ने उत्प्रेरणा जगाउन लागिपरेको बताए।

भण्डारीले पशुपति व्यावसायिक उन्नत बाख्रा फर्म स्थापना गरेर सञ्चालनमा ल्याएको बताउँछन्। भण्डारीले सुरुमा बन्दीपुरबाट बोयर जातका बाख्रा ल्याएर बाख्रापालन सुरु गरेको बताए। बोयर जातका बोका सरकारी दरअनुसार जिउँदो १४ सय रुपैयाँ प्रतिकेजी पर्ने बाहिर निजी फर्मबाट खरिद गर्दा एउटा बोकाको डेढ लाख देखि अढाइ लाख रुपैयाँसम्म पर्ने गरेको छ।

बाख्रापालनबाट हालसम्म त्यस्तो आम्दानी नभएको बताउने भण्डारीले डेढ लाख मात्रै आम्दानी लिएको बताए। बाख्रापालनमा ५ वर्षसम्म आम्दानी नहुने र गुणस्तर निकाल्न समस्या रहेको भण्डारीले बताए। उनले राम्रो जातको बाख्रा बनाउनै ५-७ वर्ष लाग्ने बताए।

अबका दिनमा आम्दानी हुन थाल्ने भण्डारीले बताए। बाख्रापालनमा लगानी गर्नेबित्तिकै आम्दानी नहुने र व्यवसाय सुरु गरेको केही वर्ष लाग्ने भण्डारीले बताए। महाङका ठाउँ बाख्रालाई उपयुक्त भएका कारण र ठाउँ सुख्खा भएपनि कम रोग लाग्ने भनेर परम्परागत कुरा हुँदै पनि आएकोले बाख्रापालन रोजेको भण्डारीले बताए।

बाख्रापालन व्यवसाय गर्नुअघि भण्डारीले निर्माण व्यवसायी भएर निकै लामो समय काम गरेको बताए। निर्माण व्यवसायी रहँदा ठेक्का पर्ने भएपनि बिलोका कारण घाटामा परेको भण्डारीको भनाइ छ।

निर्माण व्यवसायी रहँदा अरुको दबाबमा काम गर्नुपर्ने भएकाले आफ्नै व्यवसाय गर्दा सहज भएको र परिवारसँग बसेर व्यवसाय गर्न पाएको भण्डारीको भनाइ छ। त्यसो त भण्डारीको हरेक वर्ष लाखौं आम्दानी हुने आँप बगैचा रहेको छ। आँप बगैँचालाई वर्षभरि स्याहार गर्न नपर्ने भएपछि भण्डारीलाई बाख्रापालनमा सहज भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.