सल्यान : जिल्लाको नामाकरण कसरी भएको हो भन्ने यकिन नभए पनि सल्यानको डाँडाकाडाहरुमा सल्लाका रुख भएकाले सल्याान राखिएको हो भन्ने छ। राजाहरुले राज्य गर्दा सल्ले भन्ने स्थानको मानिसलाई आफ्नो सहयोगीको रुपमा राखेको हुँदा त्यसैको नामबाट ठाउँको नाम भएको भन्ने भनाइ पनि छ। अहिले सल्यानका प्रत्येक पहाडमा सल्लाका रुख रहेकाले त्यसैबाट नै सल्यान भएको हुन सक्ने बलियो आधार पनि छ।
राणाकालमा सल्यान जिल्लामा हालको रुकुम, रोल्पा र दाङ जिल्लाको अधिकांश भू-भाग समावेश थियो। राणा शासकहरुले सल्यानलाई ठूलो गौडाको रुपमा प्रशासनिक केन्द्र बनाएका थिए। चौथो दर्जाको बडाहाकिमले सल्यानको प्रशासन चलाउँथे।
सल्यान जिल्लाको बीच भागबाट बग्ने शारदा र जिल्लाको सिमाना बनाएर पश्चिम भागबाट बग्ने भेरी नदीको किनारबाहेक सल्यानका बस्तीहरु अधिकांश पहाडी रमणीय डाँडाकाडामा छ। हरियाली पहाडीको श्रृंखला बीच-बीचमा सानाखोला, खोला किनारमा खेतबारी‚ होचा भिरालो पहाडमा घनाबस्ती रहेको छ।
कुनै बेला सल्यान बाइसे राज्यभित्र पर्थ्यो। त्यसबेला सल्यानमा सैन्य परिवारले सोशान्त राज्य चलाएका थिए। नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहसँग सल्यानका राजा कृष्ण शाहको मित्रता थियो। त्यसैले सल्यानी युवराज रणभिम शाहसँग पृथ्वीनारायण शाहले आफ्नी छोरी विलास कुमारीलाई विवाह गरिदिए।
विवाहपछि छिल्ली बिजौरीदेखि पश्चिम दाङ क्षेत्रको जमिन छोरीलाई कुशबिर्ता दिए। पृथ्वीनारायण शाहको सल्यानप्रतिको नीति कायम राख्दै भिमसेन थापाले पाल्पा विजय गरेपछि सल्यान एकीकरण गर्ने काम थाले। वि.सं.१८६९ भादौ ३ गते सल्यान पनि नेपालमा एकीकरण भयो।दर्बिलो इतिहास बोकेको सल्यानलाई एक पटक फोटोको माध्यमबाट चिनाउने प्रयास गरेका छौं।
तस्वीरः नेत्रलाल श्रेष्ठ सहयोगमा
तपाईंको ईमेल गोप्य राखिनेछ ।