‘पानी पूर्ण प्रशोधित छ, नपत्याए सुन्दरीजलमा हेर्न सक्नुहुन्छ'
‘पानी पूर्ण प्रशोधित छ, नपत्याए सुन्दरीजलमा हेर्न सक्नुहुन्छ'
काठमाडौं : बहुप्रतिक्षित मेलम्ची खानेपानी काठमाडौंमा वितरण भइसकेको छ। दुई दशकपछि धारामा पानी आउँदा जति उपत्यकावासी खुशी छन् त्यति नै अलमल र चिन्तित छन्। उनीहरूको मनमा एउटै प्रश्न उब्जिएको छ, के यो पानी पिउन योग्य छ?
काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेयल) योजना तथा सहयोगी विभाग प्रमुख एवं पानी गुणस्तर महाशाखाका पूर्व- प्रमुख ज्ञानेन्द्रबहादुर कार्की पानी पिउन योग्य नै रहेको बताउँछन्।
उनी भन्छन,‘मेलम्चीको पानी पिउन योग्य छ वा छैन भन्ने कुरामा पहिला स्रोतको कुरा गर्नुपर्छ,मेलम्ची नदी आफैँमा हिमनदी पग्लेर आएको पानी हो,यो त्यसै शुद्ध र पवित्र पानी हो,यो जमिन,तालबाट निकालिएको पानी हैन,त्यसैले यो पिउन योग्य पानी हो।’
यसरी हुन्छ प्रशोधित
प्रमुख कार्कीका अनुसार टनेलबाट पानी ल्याइसकेपछि उच्चस्तरीय प्रविधिबाट सुन्दरीजलमा पानी प्रशोधन गरिएको छ। त्यहाँ १५ करोड लिटर प्रतिदिन प्रशोधित गर्न साढे आठ-आठ करोडको दुईवटा ट्रिटमेन्ट प्लान्ट बनाइएको छ। धमिलो पानी आएमा त्यो हटाउन त्यस प्लान्टमा एलोम प्याक कोलिआल्लोनियम क्यामिकल प्रयोग गरी फ्लग बनाएर पानी थिंग्र्याइन्छ।
यसले सबै पानीको धमिलोपन हट्छ,त्यो धमिलो पानी एकातर्फ निस्किन्छ। शुद्ध पानी पनि फेरि फिल्टर गरिन्छ। फिल्टर गरी क्लोरिन ग्यासबाट झोल बनाई बाँकी जीवाणु छन् भने, सबै मर्छन्। त्यसपछि बल्ल त्यो शुद्ध पानी वितरणका लागि महांकाल चौर,मीनभवलगायत ठाउँका रिजर्व ट्यांकीमा पानी पठाएर ग्राहकको धारामा वितरण गरिएको छ।
‘नपत्याए सुन्दरीजलमा हेर्न सक्नुहुन्छ,’कार्कीले भने,‘पहिला जे जसरी पानी प्रशोधित हुन्छ, त्यही विधिअनुसार प्रशोधन गरिन्छ, पानीमा केही जिवाणु नै हुँदैन, त्यसैले डराउनु पर्दैन।’
कार्कीका अनुसार सरकारी पानीको राष्ट्रिय गुणस्तर मापदण्डमा २७ वटा प्यारा मिटर छ। जसमा पिउन योग्य पानीमा पिएच मान ६.५२८.३ हुनुपर्छ। त्यही आधारमा पानी प्रशोधन गरिएको छ।
‘अहिले बजारमा पानी टेष्ट गर्ने किट पाइन्छ,’कार्कीले भने,‘आफैँले पनि त्यो किट प्रयोग गरेर पानी टेष्ट गर्न सकिन्छ।’ उनले पानीको स्रोत आसपासमा धेरै बाक्लो बस्ती नभएकाले मुहानमा फोहोर नभएको भन्दै स्वास्थ्यसमेत सुरक्षित हुने जानकारी दिए।
‘सरकारले पहिला नै पानीको गुणस्तर अध्ययन गरेर पिउन योग्य मानेको हो, अहिले प्रशोधन केन्द्रमा कति पानीमा कति क्यामिकल हाल्ने भनेर जार टेष्ट गर्ने अटोमेटिक भल्ब मिलाएर ल्याब परीक्षणसहित पानीमा क्यामिकल जान्छ’ उनले भने।
वर्षातको बेला पनि धमिलो पानी आउँदैन
केयुकेयल योजना तथा सहयोगी विभाग प्रमुख एवं पानी गुणस्तर महाशाखाका पूर्व-प्रमुख कार्कीले वर्षातको सिजनमा पनि पानी ग्राहकको धारामा धमिलो नआउने बताए।
उनले भने,‘वर्षातको सिजनमा मुहानबाट पानी धमिलो आउन सक्छ, त्यसबेला बढी क्यामिकल प्रयोग गरी प्रशोधन गरेर वितरण गर्छौं त्यसैले समस्या हुँदैन।’ पुरानै पाइपबाट पानी वितरण गरिने हुँदा केही पाइप फुटेका हुन सक्छन् त्यसमा भने धमिलो पानी आउन सक्ने भएकाले उनले यस्तो समस्या आएमा ग्राहकले केयुकेयलमा कम्प्लेन गरे मर्मत गरिने उनले बताए।
‘जारमा लेउ आउँछ, त्यसैले बेलाबेला सफा गर्नुपर्छ,’उनले भने,‘ पानी ट्यांकरमा पनि तीन वटा स्टिकर टाँसेका छौँ, नीलो स्टिकर भएको त्यो पानी सोझै पिउन योग्य हो, हरियो स्टिकर भएको घरियासी प्रयोजनका लागि र पहेँलो स्टिकरको बढी आइरन हुने भएकाले सरसफाइ,कन्सट्रक्सन आगोलागीमा प्रयोग गरिन्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।