|

काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। 

शनिबार दिउँसो डल्लुस्थित खनाल निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताए।

खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकमा रहेका इतिहास संशोधन मण्डलका अध्यता एवं प्रवर्द्धकहरू दिनेश पन्त र महेश पन्तको घरमा जाँदा सोही क्रममा आफ्नो घरसमेत आउनुभएको खनालले बताए।

भेटमा राष्ट्रपति भण्डारीद्वारा पार्टीमा देखिएको विवाद समाधान भएर जाओस् भन्ने चाहना रहेको खनालले बताए।

‘हामीले एकछिन भलाकुसारी गर्‍याैं, विगतका कुरा पनि हामीले गर्‍याैं। अहिलेको वर्तमान स्थितिबारे पनि अलिकति कुराकानी भयो। उहाँले पार्टी आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस्, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुराहरु व्यक्त गर्नुभयो,’खनालले भने।

भेटमा आफ्नो स्वस्थ्यप्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेको खनालले बताए। तर आफूले आफ्नो स्वास्थ्यभन्दा पनि पार्टी र कम्युनिष्ट आन्दोलनबारे चिन्ता लागेको कुरा राखेको बताए।

उनले भने, ‘हाम्रो आफ्नो व्यक्तिगत स्वास्थ्यबारे मलाई चिन्ता होइन, चिन्ताचाहिं पार्टीबारे लागेको छ, कम्युनिष्ट आन्दोलनको स्वास्थ्यबारेमा चिन्ता छ। अब यस्तो अहिले पार्टीमा कतिपय समस्याहरु उत्पन्न भइरहेको बेलामा यहाँ आउनुभएको छ। सबै पार्टी बलिया भए, सुदृढ भए एकताबद्ध भए भने मात्रै लाकतन्त्र बलियो हुन्छ। लोकतन्त्र बलियो हुनु भनेको हाम्रो बहुदलीय व्यवस्था अथवा लोकतान्त्रिक गणतन्त्र बलियो हुनु भनेको पार्टी बलियो हुने कुरा हो। पार्टी बलियो नभई लोकतन्त्र बलियो हुँदैन, त्यसकारण कसरी पार्टीलाई बलियो बनाउने भन्ने कुरामा म पनि सोचिरहेको छु। राष्ट्रपतिज्यूले पनि के भन्नुभयो भने तपाईंले भनेजस्तो लोकतन्त्र बलियो बनाउन पार्टी नै बलियो हुनुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.