स्वार्थ भने आ–आफ्नै

|

काठमाडौँ : वर्तमान सत्ता समीकरण तोड्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रयास अहिले पनि निरन्तर छ। २१ फागुन २०८० मा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समीकरण फेरेलगत्तै कांग्रेस वैकल्पिक गठबन्धन बनाउने प्रयासमा जुटे पनि तत्काल सम्भव भएन। उक्त प्रयासलाई कांग्रेसले निरन्तरता दिँदै आएको छ। 

देशको सबैभन्दा ठूलो दल भएर पनि प्रमुख प्रतिपक्षी बेन्चमा थन्किनु परेपछि सत्तामा फर्किन कांग्रेसले विभिन्न गौँडा ढुकिरहेको छ। यसका लागि उसले गठबन्धनभित्रका साना दलहरूलाई फकाउनेदेखि एमालेसँग विश्वासको वातावरण बनाइरहेको छ। 

कांग्रेसको प्रयासबीच वर्तमान सत्ता समीकरणमै रहेका एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल गठबन्धन परिवर्तनका लागि सक्रिय बनेका छन्। विभिन्न राजनीतिक नियुक्ति तथा भागबन्डामा असन्तुष्ट रहँदै आएका उनले अहिले नेताहरूसँगको भेटवार्ता तथा छलफललाई तीव्रता दिएका छन्। उपनिर्वाचन भएको दुईवटै क्षेत्रमा एमालेले नछाडेपछि रुष्ट भएर आफ्नै उम्मेदवार उठाए पनि लज्जास्पद नतिजा हात परेपछि नेकपा समाजवादी एमालेसँग थप क्रुद्ध बनेको हो। 

अध्यक्ष नेपाल अब एमालेबाहेकका अर्को गठबन्धन बनाउन चाहन्छन्। अहिलेको सत्ता समीकरण निर्माणको शुरुवाती दिनमा एमाले अध्यक्ष केपी ओलीसँगको सम्बन्ध सुदृढ भए पनि पछिल्लो समय थप चिसिँदै गएकाे छ। ओली–नेपालले अहिले एकअर्काप्रति कटाक्ष गर्दै आएका छन्। 

केही दिनअघि पार्टी निकट अनेमसंघकाे कार्यक्रममा नेपालले ओलीप्रति इंगित गर्दै आफू प्रधानमन्त्री बन्ने पाे हाे कि भनेर कसैलाई पाेल्न थालेकाे बताएकाे बताएका थिए। ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ। कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पोल्न थालेको छ। पोल्ने मान्छेहरू पनि छन् यो समाजमा, पोले पोलेस्, दनदनी आगोले पोलोस्। त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ', उनले भनेका थिए, 'त्यो भएकाले परिस्थिति हाम्रो अनुकूल बनाउने कुरामा ध्यान जानुपर्छ।'

नेपाललाई ओलीले शनिबार त्यसकाे जवाफ फर्काएका छन्। एमाले रसुवाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री हुन दमकाे राेगीझैँ हर्‍याकहर्‍याक गरेकाे भन्दै नेपालमाथि कटाक्ष गरेका हुन्। 

'अहिले पनि तपाईंहरूले देखिराख्नुभएको छ, एकजना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पीर पर्‍या छ, पोल्या छ भत्भत भनेर’, ओलीकाे भनाइ छ, 'कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कहीँ पनि देख्दिनँ, उनलाई आफैँलाई त्यस्तो लागिरहेको छ, प्रधानमन्त्री हुन आँटे भन्ने । अरूले मन पराएका छैनन् भन्ने कस्तो नथापा’को। मलाई अचम्म लाग्छ, किन त्यस्तो हतार छ ? कसले रिस गर्‍यो ? किन रिस गर्‍यो ? प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक दमको बिरामीले जस्तो गर्दै छन् ।'

एमालेसँगकाे सम्बन्ध फेरि चिसिँदै गएपछि अध्यक्ष नेपाल एमालेबाहेकका गठबन्धन निर्माणमा सक्रिय भएका हुन्। नेकपा समाजवादीकै एक नेताले हिजो सहकार्य गरेका दलहरूसँग फेरि सहकार्य हुन सक्ने बताए। उनले थाहाखबरसँग भने, ‘हिजो पनि सहकार्य नगरिएको होइन, गर्दै आइएकै हो। फेरि सहकार्य हुन सक्छ।’

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल विश्वासको मत नदिने एमालेको रणनीतिप्रति संकेत गर्दै ती नेताले सहमति पालनामा साझेदार दलहरू इमानदार नदेखिएको आरोप लगाए।

लामो रस्साकस्सीपछि एमालेको चाहनाविपरीत ६ वैशाखमा सोडारी मुख्यमन्त्री नियुक्त भएका हुन् तर विश्वासको मत लिन भने पाएका छैनन्। एमालेकै कारण उनको दुईपटकको प्रयास विफल भइसकेको छ।    

सत्ता समीकरण परिवर्तन गर्ने आफ्नो प्रयासमा माधव नेपालको साथ पाएपछि कांग्रेस उत्साहित छ तर कांग्रेस र अध्यक्ष नेपालको स्वार्थ भने आ-आफ्नै छ। आफ्नो दल बेवास्तामा पर्ने भयले नेपाल एमाले-कांग्रेस मिल्न नदिने वा एमालेबाहेकका गठबन्धन बनाउन चाहन्छन् भने एमालेसँग मिलेर मात्रै प्रचण्डसँग बदला लिन सकिन्छ भन्ने बुझाइमा कांग्रेस छ।  

पुरानै कांग्रेस-माओवादीसहितको गठबन्धन बिउँताउनेदेखि जसपालाई पनि अलग्याएर अन्य साना दलहरूको समर्थनमा वैकल्पिक गठबन्धन बनाउने नेपालको योजना छ। कांग्रेस भने एमालेसँगै सहकार्य गर्ने बरु आउन चाहने अन्य साना दललाई पनि समेटेर जाने योजनामा छ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङदम्बे विगतमा सत्ता प्राप्तिका नाममा अस्थिरता मौलाएकाले अब एमालेसँग मिलेर मात्रै देशलाई राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि दिन सक्ने बताउँछन्। त्यसका लागि संवाद निष्कर्ष नजिक पुगेको उनको दाबी छ। 

‘सत्ता प्राप्तिका नाममा जुन खालका अस्थिरता निम्तिँदै गयो यसलाई अब दुई ठूला पार्टी मिलेर स्थिर सरकार दिएर रोक्नुपर्नेछ’, उनले भने, ‘पार्टीभित्र मात्र होइन, बाहिरबाट पनि यस्तै खाले चासो व्यक्त भइरहेका छन्। स्थिर राजनीति र समृद्धिको बाटो तय गर्नका लागि यो दबाव बढ्दै गएको हो। यसले छिट्टै सार्थक निष्कर्ष प्राप्त गर्नेछ।’ 

दोस्रो तहका नेताहरूले एमालेसँग सहकार्य गर्नुपर्नेमा जोड दिँदै आए पनि नेतृत्व तहमा विश्वासको वातावरण भने अझै बनिनसकेको देखिन्छ। यद्यपि नेतृत्वहरूको ‘बडी ल्याङवेज’ नकारात्मक भने नभएको सहमहामन्त्री आङदम्बे बताउँछन्। एमाले र कांग्रेसबीच विगतदेखि नै सहकार्य नभएकाले अहिले त्यो वातावरण तयार हुन समय लागेको उनको भनाइ छ। 

‘दुई पार्टीका नेतृत्वको बडी ल्याङवेज नेगेटिभ छैन’, उनी थप्छन्, ‘अहिलेसम्म जुन अभ्यास हुँदै आयो ठूला दलहरूले त्यसबाट फुत्त बाहिर निस्कन नसकेको मात्र हो। वनको बाघले भन्दा मनको बाघले खान्छ भनेझैँ अहिले मनको बाघले खाएको मात्र हो। अब मनकै बाघसँग डराइराख्ने हो वा मुलुकको निम्ति ठूला पार्टी एक ठाउँमा उभिने उनीहरूकै हातमा छ।’ 

ठूला दलहरू मिले पनि अन्य साना दललाई पनि समेट्ने उनले बताए। ‘ठूला दल मिल्नुको अर्थ सबै साना दललाई पाखा लगाउने भन्ने होइन’, नेकपा समाजवादीप्रति संकेत गर्दै उनले भने, ‘सबैलाई समेटेर लान सकिन्छ।’  

अर्कालाई लडाएर आफू मात्रै जित्ने प्रयास गरेको भन्दै माधव नेपालको चाहनाबमोजिम माओवादीसँग पुनः सहकार्य हुन नसक्ने सहमहामन्त्री आङदम्बेले बताए। ‘जुन प्रवृत्तिबाट यहाँसम्म आइपुग्यौं यसले हामीलई कहीँ पनि पुर्‍याएन’, उनले भने, ‘त्यसकारण एकअर्कालाई लडाउने, अर्कालाई लडाएर आफू जित्छु भन्ने खालको राजनीतिबाट अब हुँदैन। काम गर्न नसक्ने अनि खालि आफूलाई बचाउनका निम्ति विभिन्न पद धारण गर्दै हिँड्न भएन नि त।’  

प्रमुख प्रतिपक्षी कांग्रेससँगै नेकपा समाजवादीका अध्यक्ष नेपाल सत्ता समीकरण परिवर्तन गर्न लागिपरे पनि एमालेले भने अहिल्यै यो असम्भव रहेको बताउँछ। कांग्रेसले समीकरणमा अविश्वासको पैदा गर्न मात्रै एमालेसँग नजिकिएको चर्चा चलाएको एमाले सचिव पद्मा अर्याल बताउँछिन्। 

‘कांग्रेसको अरू उपाय नभएर हो। उपाय भएसम्म एमालेलाई एक्ल्याउन लागेकै हो हिजो। त्यही गठबन्धनलाई कायम राख्न अनेक गरेकै हो। अहिले यो सहकार्यमा अविश्वास खडा गरेर तोड्न सकिन्छ कि भन्ने उहाँहरूको प्रयत्न मात्र हो’, उनले भनिन्, ‘तोडिएपछि फेरि प्रचण्डलाई जवाफ दिनका निम्ति एमालेसँग वार्ता अघि बढाएको सत्य हो तर एमाले यो गठबन्धन तोडेर अन्य ठाउँ जाने र प्रधानमन्त्री खाने पक्षमा छैन। यसमा एमाले प्रतिबद्ध छ।’

माधव नेपाल स्वयं सत्ता समीकरण तोड्न लागिपर्नुलाई एमाले सचिव अर्यालले ‘दुईवटा डुंगामा खुट्टा राखेको’ टिप्पणी गरिन्। अध्यक्ष नेपालले मात्रै चिताएर कोर्स परिवर्तन नहुने उनले बताइन्।  

‘हामीले चाहिँ सँगै जाऊँ भनिरहेका छौँ तर उहाँ (माधव नेपाल) विकल्पको खोजीमा  हुनुहुन्छ। यसलाई जतिसक्यो छिटो बहिर्गमन गर्न पाए हुन्थ्यो भन्ने ध्याउन्न पनि उहाँको दिमागमा छ’, उनले भनिन्, ‘उहाँले दुईटा डुंगामा खुट्टा टेक्नुभयो तर उहाँले चिताएर कोर्स परिवर्तन होला भन्ने त लाग्दैन।’

सरकारको नेतृत्व गरिरहेको माओवादी पनि वर्तमान सत्ता समीकरण निरन्तर अघि बढ्नेमा विश्वस्त छ। माओवादी सचिव लीलामणि पोखरेल भन्छन्, ‘विभिन्न किसिमका भेटघाट, छलफल, चलखेल आदि इत्यादि भइरहेको छ तर केही हुने वाला छैन’, उनले भने, ‘आवश्यकताले बनेको समीकरण हो। यो केही हुँदैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.