|

पर्वत : पर्वतको फलेवास नगरपालिकाको केन्द्र सार्ने भनी भएको निर्णयमा उपमेयरको रिट परेपछि सर्वोच्च अदालतले निर्णय रोक्का गर्न आदेश दिएको छ।

गत पुस महिनामा नगर कार्यपालिकाको बैठकले अहिले फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सञ्चालन गरिँदै आएको नगरपालिकाको केन्द्र वडा नं पाँचकै झकलकमा सार्ने निर्णय गरेको थियो।

नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारीले भने निर्णय भएकै समयबाट उक्त निर्णयको विरोध गर्दै आएकी थिइन्। केन्द्र सार्ने निर्णय कार्यान्वयन गरिन नहुने भनी उनले सर्वोच्च अदालतमा रिट हालेकी थिइन्।

त्यसैको सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले केन्द्र सार्ने निर्णय तत्कालका लागि रोक्का गर्न आदेश दिएको हो। नगर प्रमुखसहितको बैठकले स्थान परिवर्तन सहित प्रमुख प्रशासकीय भवन निर्माण गर्ने निर्णय गरेपछि उपप्रमुख अधिकारीले पटक पटक त्यसमा असन्तुष्टि जनाउँदै आएकी छन्। आवश्यक छलफल र तयारीबिनै केन्द्र सार्ने जस्तो महत्त्वपूर्ण निर्णय गर्नु गलत भएकोले आफूले निर्णयमा असहमति जनाउँदै आएको अधिकारी बताउँछिन्।

अहिलेको कार्यालय खानीगाउँकै पिप्लेमा रहेको फलेवास सिँचाइ आयोजनाको कार्यालयमा रहेको छ। नयाँ स्थानान्तरण हुने झकलक झन्डै एक किलोमिटरको दूरीमा छ। झकलकमा केन्द्र बनाउन भन्दै स्थानीयले ६० रोपनी भन्दा बढी जग्गा नगरपालिकालाई अनुदानमा दिएका छन्।

हाल केन्द्र रहेको भवनको क्षेत्रफल तीन रोपनी रहेको तथा सिँचाइको भवनमा कार्यालय सञ्चालन गर्न समस्या हुनु र आफ्नो स्वामित्वमा नभएका कारण अन्य भौतिक पूर्वाधारसमेत थप गर्न कठिनाइ भएपछि नयाँ स्थानमा केन्द्र र प्रशासनिक भवन निर्माण गर्ने निर्णय भएको नगरप्रमुख पदमपाणि शर्माको भनाइ छ। सर्वोच्चको आदेशसँगै तत्काललाई परिवर्तनको प्रक्रिया रोकिएको र नयाँ कार्य योजना बनाएर यसमा लाग्ने उनले बताए।

नगरपालिकाको मुख्य प्रशासनिक भवन, विषयगत शाखाका भवनसहित बजार क्षेत्रको विस्तारलगायत नगरपालिकाको केन्द्रका लागि आवश्यक पूर्वाधार झकलकमा निर्माण कार्य अघि बढाइने योजना थियो।

मुख्य प्रशासनिक भवन निर्माणको काम चालु आर्थिक वर्षभित्रै सुरु गरिने योजना कार्यपालिकाको थियो भने भवन निर्माणका लागि बोलपत्रसमेत आह्वान भइसकेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.