|

काठमाडाैं : देशभर पछिल्ला तीन दिनभित्र भएका सडक दुर्घटनामा ९ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा ललितपुर रुपन्देही काभ्रेलगायत जिल्लाका छन्।

ललितपुर  ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित सडकमा बा७०प ३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक इलामका ३८ वर्षीय नदीप तामाङको मृत्यु भएको छ। दुर्घटना परी गम्भीर घाइते उनको बिएण्डबी अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो।

साथै दुर्घटनामा घाइते भएका  मोटरसाइकलमा सवार काभ्रे घर भएका ३४ वर्षीय जित बहादुर उदासको सोही अस्पतालमा उपचार भइरहेको छ। 

रुपन्देही गैडहवा गाउँपालिका–५ चेलेन्डिहवा चोकस्थित सडकमा लु७१प ४१५८ नम्बरको मोटरसाइकल र लु५० प १२७७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा लु७१ प ४१५८ नम्बरको मोटरसाइकल चालक लुम्बिनी सांस्कृतिक नगरपालिका–९ पिपरा बस्ने २२ वर्षीय साहिर खानको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

यसैगरी रुपन्देही, सैनामैना नगरपालिका–६ कलौनीस्थित सडकमा ना६ ख ९४१ नम्बरको बसले लु२४ प ९७६८ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक प्युठान झिम्रुक गाउँपालिका–१ सौतामारे बस्ने २१ वर्षीय संजय खनाल र मोटरसाइकलमा सवार सोही गाउँपालिका–२ बाँदीकोट बस्ने २१ वर्षीय फिरज क्षत्री छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

काभ्रे नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित सडकमा ना५त ६०८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १७ वर्षीय झलक विकको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवन भरतपुर महानगरपालिका–१९ स्थित सडकमा ना१ज ३८५९ नम्बरको म्याजिक गाडी आफैं अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा गाडीमा सवार २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका–१ का ४५ वर्षीय सूर्य खाती र भरतपुर महानगरपालिका–४ का ५० वर्षीय राजेन्द्र दमाई रहेको प्रहरीले जनाकारी दिएको छ।

खातीलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। त्यस्तै, दमाईको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

झापा बिर्तामोड नगरपालिका–६ बुट्टाबारी चोकस्थित सडकमा ना४ख ७२८९ नम्बरको ट्रकले मे४प ६७४८ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–५ बैसाबारी बस्ने ३८ वर्षीय रामकान्त चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। उक्त मोटरसाइकल मे१ ख २६२७ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा सो ट्रकसँग ठक्कर खाई दुर्घटना भएको हो। ट्रक र बसका  चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

पर्सा ठोरी गाउँपालिका–४ गोपीबस्तीस्थित सडकमा ग९प ९५८७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने १७ वर्षीय अभिषेक गोलेको शनिबार राति मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल हुँदै एलएस न्युरो अस्पतालमा थप उपचार क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकसमेत अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका  सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.