दुई वर्षदेखि जिल्लाको बजारको मुख्य क्षेत्रको सडक लथालिंग

|

काठमाडौं : सदरमुकामको मुख्य बजार दुर्दशा हेर्दा यहाँ कहिल्यै चिल्ला र सफा सडक बन्दैनन्। ओखलढुंगा बजार क्षेत्रको मिलन चोकदेखि जाल्पादेवीसम्म करिब एक किलोमिटर सडकमा ठुल्ठूला खाडल छन्। 

 बजारमा उडेका धुलोले दिउँसै रात परेको अनुभूति हुन्छ। यी दुर्दशाले स्थानीय दुई वर्षदेखि आजित छन्। सडक डिभिजन हर्कपुरका इन्जिनियर कविश तन्डुकार भने उक्त सडक पिच गर्न २०७५ माघ २ गते नै खोटाङ हलेसी कन्ट्रक्सनसँग करिब ७० लाख लागतमा ठेक्का सम्झौता भएको बताउँछन्। 

०७६ असार महिनासम्म काम सम्पन्न गर्नुपर्ने थियो। तर, ठेक्का सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि सडक पिच हुन सकेन। केन्द्रको हक अधिकार स्थानीय तहमा पुगेपछि विकाससँगै सेवासुविधा थपिन्छ भन्ने अपेक्षा लिएका थिए स्थानीयले। तर त्यही जिल्लाको सिद्धिचरण नगरपालिकाले ती सपना पूरा गरेन।

बरु नगरप्रमुख मोहनकुमार श्रेष्ठ  जनता हिँड्ने सडकलाई बेवास्ता गरी भ्युटावर निर्माणमा तल्लीन छन्। अहिले धमाधम स्रष्टा पार्कमा भ्युटावर निर्माण भइरहेको छ।

‘भ्युटावरभन्दा पहिला सडक चाहियो’

वर्षोदेखि सडक अस्तव्यस्त भएको भन्दै जिरो प्वाइन्टका स्थानीय टुकबहादुर श्रेष्ठले पहिला भ्युटावर निर्माणभन्दा सडक बनाउन माग गरे। ‘सडक नबन्दा माथिबाट बगेको ढल र पानी मेरो घरको गोदामतिर आउँछ, पटक–पटक नगर प्रमुखलाई बोलाएर समस्या देखायो तर, उनले चासो देखाएनन्,’ उनले भने, ‘जिल्लाकै सदरमुकामको हालत यस्तो छ, अरु ठाउँको झन के कुरा गर्नु?’ 

उनका अनुसार तीन वर्षअघि सडक पिच गरिएको थियो। तर, गुणस्तरहीन काम गरिएकाले एक वर्ष पनि पिच सडक टिकेन। सबै खाल्डाखुल्डीमा परिणत भए।

सवारी चालकलाई झनै सास्ती

कटारीका प्रभु गौतम पेसाले चालक हुन्। महिनामा १६ टिपसम्म कहिले टिपर त कहिले ट्रकमा निर्माण सामग्री त्यही बाटो हुँदै ओसारपोसार गरेर सोलुखुम्बु जिल्लासम्म पुर्‍याउँछन्। तर, सडक बेहाल अवस्थामा भएकाले सामग्री सम्बन्धित ठाउँमा पुर्‍याउन उनलाई निकै सकस छ।

उनी भन्छन्, ‘धुलोले अगाडि र पछाडिको गाडी देखिँदैन,खाल्डामा चक्का परेपछि सामान लोड गाडीले तान्दैन, त्यसैले बढी दुर्घटना हुने जोखिम हुन्छ।’ सडक लथालिंग भएकै कारण समयमा समान पुर्‍याउन पनि नसकेको उनी बताउँछन्।

‘खाल्डोसँगै बाटो साँघुरो हुँदा मान्छे ठोकिन्छ कि भन्ने मनमा सधैं चिन्ता लिनुपर्छ,’उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटक पनि त्यही चिन्ता लिन्छन्, त्यसैले पहिला सडकमा बजेट छुट्याई बनाएर मात्रै नगर प्रमुखलाई  भ्युटावर  बनाउनुस् भनेर आग्रह गर्छु।’

नगरप्रमुख श्रेष्ठ भन्छन : छिट्टै सडक पिच हुन्छ

नगरपालिका प्रमुख श्रेष्ठले छिट्टै सडक पिच गर्न पहल गरिरहेको आश्वासन दिए। उनले भने, ‘यो सडक हाइवेभित्र पर्छ, ठेक्का पनि भइसकेको छ, अब काम थालिन्छ।’ उनले तत्काल सडक पिच गर्न सडक डिभिजन हर्कपुरलाई ताकेता गरिरहेको दाबी गरे।

यसो भन्छ सडक डिभिजन हर्कपुर 

सडक डिभिजन हर्कपुरका इन्जिनियर तन्डुकारले निर्माण व्यवसायी नै सम्पर्कमा नआएका कारण काम  बढ्न नसकेको बताउँछन्।

‘पटक–पटक हामीले निर्माण व्यवसायीलाई पत्र पठायाैं, तर, काम गर्न चासो नै देखाएनन्,’ उनले भने, ‘आज ठेक्का रद्द गर्नुपर्ने कि काम गर्ने भनी सूचना प्रकाशित गरेका छौँ, अझै पनि केही प्रतिक्रिया आएन भने त्यहीअनुसार हामी अघि बढ्छौं, जसरी भए पनि सडक पिच गर्छौं।’
ओखलढुंगाबाट फर्केपछि

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.