समर्थन दुरुपयोग समर्थन फिर्ता लिने तर शक्तिको बार्गेनिङ नगर्ने : राजमो

|

गोरखा : गण्डकी प्रदेश सरकार ढाल्न निर्णायक बनेको राष्ट्रिय जनमोर्चा (राजमो) फकाउन कांग्रेस र माओवादीले मुख्यमन्त्री पदको लोभ देखाइरहेका छन्। 

सुरुदेखि गुरुङ नेतृत्वलाई समर्थन दिइरहेको राजमोलाई यी दलले प्रदेश सरकारको नेतृत्व दिएरै भए पनि वर्तमान सरकारको समर्थन फिर्ता लिन लगाउने तयारी भएको कांग्रेसका एक सांसदले थाहाखबरसँग भने। 

उनले भने, ‘अहिले निर्णायक राजमो छ। हाम्रो तयारी प्रतिगमन सरकार फालेर नयाँ सरकार बनाउने हो। त्यसकारण, राजमोको साथ लिन नेतृत्व दिन सक्ने पनि हुन सक्छ, हामीले छलफल गरिरहेका छौँ।’ 

तर राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी भन्छन् ‘हाम्रो समर्थनको दुरुपयोग भयो फिर्ता लिन्छौँ, तर सत्ता र शक्तिको बार्गेनिङ गर्दैनौँ’ 

अहिले राजमो निर्णायक भएकाले आफूहरूले चाहेअनुसार पद दिन तयार हुने अवस्था भए पनि आफूहरू सत्ता र शक्तिको बार्गेनिङ नगर्ने राजमोका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसी बताउँछन्। 

भन्छन्, ‘हामीले नेतृत्व पाउने भएकै कारण समर्थन फिर्ता लिँदै छौँ भन्ने कुरा झुटको खेती हो। नेपालमा अरु राजनीतिक पार्टीले पनि त्यही गर्छन्। नैतिकता, इमानदारभन्दा शक्ति र सत्ताको बार्गेनिङ गर्नु राष्ट्रहितविरुद्ध हो। हामी निर्णायक भएकाले अहिले नै हामीले पद पाउनुपर्छ, यही बेला हाम्रो मन्त्री बन्नुपर्छ, धन कमाउनुपर्छ भन्ने हाम्रो धारणा छैन। अरु पार्टीहरूले यसैका लागि जोखाना हेरेर बसेका छन्। तर, राष्ट्रिय जनमोर्चाले यसो गर्दैन।’

त्यसो भए सरकारलाई दिइराख्नु भएको समर्थन फिर्ता किन गर्नु लाग्नुभएको त भन्ने प्रश्नमा उनले भने, ‘हामीले कम्युनिष्टलाई दिएको समर्थन हो। हाम्रो समर्थनको पूरै दुरुपयोग भयो। त्यसैले छिट्टै संस्थागत निर्णय गरेर हामीले समर्थन फिर्ता लिन्छौँ।’ एमाले र माओवादी मिलेर केन्द्रमा केपी ओलीले नेतृत्व छाडे सरकारलाई समर्थन कायमै राख्न सकिने उनले प्रस्ट पारे। 

‘प्रतिगमनविरुद्ध काँध थापेर बस्न सकिँदैन। हाम्रो चाहाना राम्रो सरकार ल्याउनेभन्दा पनि प्रतिगमन फाल्ने हो। त्यसो भएकाले यदि केपी ओलीले नेतृत्व छाडेर एमाले र माओवादी मिल्छन् भने फेरि हाम्रो सरकारलाई समर्थन रहिरहन्छ’, उनले थाहाखबरसँग टेलिफोनमा भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.