कोरोना संक्रमण बढ्दै जाँदा विद्यार्थी भने अन्याेलमा

|

काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर पुनः उकालो लागेको छ। जसका कारण देशभर विद्यालय क्षेत्र प्रभावित हुने देखिएको छ। 

यसको असर माध्यमिक शिक्षा परीक्षा (एसइई)मा पनि पर्ने त हैन, सरोकारवाला चिन्तित देखिएका छन्। 

बोर्डले परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म एसइई सञ्चालन गर्ने निर्णय गरेको छ। तर गत आइतबारदेखि शनिबारसम्म एक सातामा चार हजार दुई सय ५९ जनामा काेराेना संक्रमण देखिएको छ। यही दरमा वा यो भन्दा बढी संक्रमण फैलिँदै गए तोकिएको समयमा परीक्षामा हुनेमा आशंका छ।

सरकारले २०७६ सालको एसइईको नतिजा आन्तरिक मूल्यांकनबाट प्रकाशित गरेको थियो। विद्यालयले आफुखुशी नम्बर चढाएको भन्दै यसप्रति सर्वत्र आलोचना पनि भयो। यसबाट सचेत हुँदै राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसइई भने भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि बेलायतबाट देखिएको नयाँ प्रकारको भेरियन्ट भाइरस खतरनाक भएको भन्दै संक्रमणका हिसाबले अति प्रभावित भनी  वर्गीकरण गरी १४ जिल्लाका विद्यालय बन्द गर्नुपर्ने सरकारसँग प्रस्ताव गरेको छ। यसले परीक्षार्थीमा झन् अन्योल थपिएको छ।  

शिक्षाविद् भन्छन् : आन्तरिक मूल्यांकनबाट परीक्षा गर्नुपर्छ

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले कोरोना संक्रमणदर बढ्दै गएकाले भौतिक उपस्थितिमा नभई ०७७ को एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्नुपर्ने बताउँछन्।

‘अघिल्लो वर्षको भने आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरियो,’ उनले भने, ‘फेरि ०७७ को भौतिक उपस्थितिमा परीक्षा गराउँदा अन्याय हुन्छ, सरकारले भेदभाव गर्नु भएन, आन्तरिक मूल्यांकनबाट गर्दा जोखिम पनि हुँदैन।’ 

उनले कक्षा-१० कक्षाकाे परीक्षा अब सधैं स्कुललै नै लिने पाउने कानुनी व्यवस्था बनाउनुपर्ने बताए। भने, ‘बरु कक्षा ३,५,८ र १२ काे परीक्षा स्तरीयकरण गरी सरकारी तहबाट परीक्षा लिने गरौं, गराऔं।’

‘सरकारले स्वास्थ्य प्रोटोकल पूरा गरेर मात्र परीक्षा लिनुपर्छ’

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी सरकारले सबै स्वास्थ्य प्रोटोकल पूरा गरेर मात्र परीक्षा लिनुपर्ने बताउँछन्। ‘अघिल्लो वर्ष आन्तरिक मूल्यांकनबाट परीक्षा गराउँदा केही विद्यालयले बढी नम्बर दियो भनेर नम्बरमै विवाद निस्कियो,त्यसैले भौतिक दूरी कायम गरी स्वास्थ्य प्रोटोकल गराएर परीक्षा गराउनु राम्रो हो।’

उनका अनुसार पहिला एउटा बेञ्चमा चार जनासम्म राखिएको थियो भने अब एक बेन्चमा एक जना मात्रै विद्यार्थी राखिनुपर्छ। त्यसमा सरकारले बढी स्वास्थ्य क्षेत्रमा गम्भीर भएर ध्यान दिन आवश्यक छ। 

के भन्छ परीक्षा बोर्ड?

परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेल पनि परीक्षाको कार्यतालिका प्रकाशित गरिसकेको जानकारी दिँदै जसरी भए पनि भाैतिक उपस्थितिमै परीक्षा गराउने बताउँछन्। उनले भने, ‘परीक्षा जेठ १३ गतेबाट नै हुन्छ, स्वास्थ्य मापदण्ड पालना गरी भौतिक उपस्थितिमा नै परीक्षा हुन्छ, कोही अन्योलमा पर्नु पर्दैन,अघिल्लो वर्ष जस्तो आन्तरिक मूल्यांकनबाट हुँदैन।’

उनका अनुसार देशभर दुई हजार १४ वटा परीक्षा केन्द्र तोकिएको छ। करिब पाँच लाख विद्यार्थीले एसइई दिन तयार भएर बसेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.