|

काठमाडौं : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा जारी छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधनका क्रममा प्रचण्ड र माधव नेपालको महत्वाकांक्षा र स्वार्थकै कारण पार्टी पुन: विभाजित भएको बताएका छन्।

'यत्रो दु:खबाट एकीकृत गरेको पार्टी प्रचण्ड र माधव कमरेडहरुले आफ्नो महत्वाकांक्षा र स्वार्थको कारण हाम्रो पार्टी पुन विभाजित भयो। विभाजित नभएको भए पनि उहाँहरूले शत्रुतापुर्ण सम्बन्ध बनाइसक्नुभएको थियोु' उनले थपे, 'मलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस गर्ने। त्यस्ता ब्यक्तिहरु नेतृत्वमा हावी हुँदा  त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन।'

आफू पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन लागि रातदिन नभनी खटेको पनि उनले बताए। 'कम्युनिष्ट पार्टी एकताबद्ध बनाउन म रातदिन अहोरात्र खटेको छु। हामी जिम्मेवार र अनुसाशित भएकोले हामीले नै अबको पार्टीलाई एकता कायम गर्न प्रयास गर्छौ' उनले सम्बोधनका क्रममा भनेका छन्।

एमालेमा अहिले पनि केही व्य क्तिहरू अराजक ढंगले लाग्ने र पार्टीकै नेताविरुद्ध उत्रिने तथा सरकारको आलोचना गर्ने जस्ता काम नरोकिएको पनि उनले टिप्पणी गरे।

अध्यक्ष ओलीले भने , 'म अझै पनि लचिलो भएर आएको छु। मेरो माधव नेपाल योगेश भट्टराईलगायतका नेताहरूसँग भेटघाट भयो। दुई कदम पछाडि एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें। तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल महसुस र अनुभूति देखिँदैन।'  उनले यदि एमाले पार्टी खोस्ने ढंगले कोही आएको भए त्यो सम्भव नहुने पनि प्रस्ट पारे।

कम्युनिष्ट पार्टी नयाँ उचाइ र सान र गौरवका साथ अगाडि बढ्ने र त्यसको सम्पूर्ण नेतृत्व एमालेले नै गर्ने पनि उनले दाबी गरे।

आजको बैठकका एजेण्डाहरू स्थायी कमिटीको गठन, पार्टीमा  अनुशासनको कारबाही, पार्टीममा कार्यविभाजनको तयारी र समसाययिक विषयहरूमा छलफल हुने बताइएको छ।

यसअघि, मंगलबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटी बैठकले नेपाल पक्षीय नेताहरुलाई अन्तिम पटक स्पष्टीकरणको अवसर दिएको थियो। जसमध्ये हिजो साँझसम्म माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १९ नेताले स्पष्टीकरणको जवाफ पठाइसकेका छन्।

तीन दिनको समयसीमा दिएर सोधिएको स्पष्टीकरणको जवाफ फर्काउने आज अन्तिम मिति हो। एमाले अध्यक्ष ओलीले नेपाल समूहका २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.