|

पर्वत : गण्डकी प्रदेशमै कोरोनाको हटस्पट बनेको कास्कीको पोखरामा लकडाउन गर्ने वा नगर्ने? भन्ने बारेमा सोमबार दिउँसो निर्णय हुने भएको छ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आइतबारको बैठकले गाउँ क्षेत्रमा दुई सय जना र सहरी क्षेत्रमा पाँच सय जना भन्दा बढीमा कोरोना सङ्क्रमण सक्रिय रहेको अवस्थामा निषेधाज्ञा जारी गर्न सरकारलाई सुझाव दिएको छ। सँगसँगै निषेधाज्ञाको अधिकारसमेत स्थानीय तहमा दिन सिफारिस गरेको छ।
समितिले सरकारलाई सिफारिस गरेको भए पनि सरकारबाट यसबारेमा आधिकारिक पत्र नआएको अवस्थासम्म लकडाउन नहुने तर सरकारको पत्र प्राप्त भएपछि डिसीसीएमसीको बैठक बसेर निर्णय गरिने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए।

कास्की सदरमुकामसमेत रहेको पोखरा महानगरपालिकामा दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमितहरू थपिँदै गएका छन्।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्कअनुसार आइतबार साँझसम्म कास्कीमा सक्रिय संक्रमितहरुको सङ्ख्या ६ सय ३३ रहेको छ।

डिसिसिएमसीले पाँच सयभन्दा बढी भएमा निषेधाज्ञा जारी गर्न सक्ने भनी सिफारिस गरेअनुसार कास्कीमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन गर्ने अवस्था देखिएको छ।
प्रजिअ गौतमले सोमबार २-३ बजेतिर डिसिसिएमसीको बैठक बस्ने र त्यसमा छलफल गर्दा सबैको राय लकडाउन गर्नुपर्ने भनी आएमा लकडाउन गर्ने निर्णय हुने बताए।

‘डिसिसिएमसीको हिजोको बैठकले सहरमा पाँच सयभन्दा बढी सङ्क्रमित भएमा निषेधाज्ञा जारी गर्ने भनेर सरकारलाई सिफारिस गरेको कुरा त मिडियामा हेरियो पढियो। तर, माथिबाट सरकारले पत्र पठाइसकेको अवस्था छैन। माथिबाट पत्र प्राप्त भएपछि थप प्रक्रिया सुरु हुन्छ।’ उनले भने, ‘सोमबार दिउँसो हामी डिसीसीएमसीको बैठक बस्न लागिरहेका छौँ। त्यो बेलासम्म माथिबाट आउने पत्र पनि प्राप्त होला। कास्कीमा के गर्ने? भन्ने कुरा त्यही बैठकमा निर्णय हुन्छ।’
 

कोरोनाबाट सुरक्षित रहनका लागि सरकार र स्वास्थ्यकर्मीले गरिरहेका अपिलहरू आम नागरिकले उल्लङ्घन गरिरहेका कारण जोखिम बढेकाले लकडाउन गर्नुपर्ने अवस्था नजिकै रहेको उनको भनाई छ।

सडकमा हिँड्दा, बस्दा, डुल्दा, साथीभाइसँग भेटघाट गर्दा, सपिङ गर्दा, लगायतका क्रियाकलापमा अनिवार्य मास्क लगाउने, सेनीटाईजरको प्रयोग गर्ने सामाजिक दूरी कायम गर्नेलगायतका मापदण्ड अवलम्बन गर्न भनिएको भए पनि नागरिकले त्यसलाई अटेर गर्दा समस्या बढेको प्रजिअ गौतमले बताए।

जिल्ला प्रहरी कार्यालय कास्कीले सुरक्षा मापदण्ड उल्लङ्घन गर्दै सडकमा हिँडिरहेका नागरिकलाई आइतबार सडकमै रोकेर सम्झाउँदै पठाउँदै गरेको थियो। नागरिकले सुरक्षा सतर्कता नअपनाई खेलबाड गरिरहेकोले प्रहरी परिचालन गरेर अटेरी गरेकाहरूलाई सम्झाएर पठाउने काम गरिएको र अब नियम उल्लङ्घन नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.