|

दाङ : कोरोना भाइरस संक्रमित बढ्दै गएछि दाङमा रहेको कोरोना उपचार गर्ने अस्पतालमा बेड र आइसियु सेवा अपुग हुन थालेको  छ। दाङमा पछिल्लो सयम संक्रमितको संख्या ५३० पुगेको छ भने ६२ जना संक्रमितको मृत्यु भइसकेको छ।

दाङमा दुई ठूला सरकारी अस्पताल छन्। त्यसमध्ये एउटा कोरोना विशेष अस्पताल छ। ती अस्पतालमा पर्याप्त बेड र आइसियु सेवा छैन। बेड अभावमा संक्रमितहरू भुइँमा बसेर उपचार लिन बाध्य छन्। कोरोना विशेष अस्पतालमा पाँचवटा आइसियु बेड छन्।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सुपरिटेन्डेन्ट एवं कोरोना विशेष अस्पतालका सदस्य सचिव डा. विनोद  सिंहले कोरोना विशेष अस्पतालमा पाँचवटा आइसियु बेड र २५ वटा एचडियु बेड रहेको जानकारी दिए। त्यस अस्पातलामा अहिले ४२ जना संक्रमितको उपचार भइरहेको उनले बताए। अहिले क्षमता भन्दा बढी बिरामी रहेकाले भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।  

अस्पतालको भवनमा ठाउँको अभाव भएकाले बेडहरु थप्न नसकेको डा. सिंहले बताए। उनका अनुसार अहिले भवन रहेको अस्पतालमा आयुर्वेदमा डाक्टर पढ्ने विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन्। राप्ती प्रादेशिक अस्पतालमा पनि आइसियु सेवा छैन। 

डा. सिंहले दाङमा कोरोना संक्रमण फैलिसकेकाले सबैले सावधान अपनाउनुपर्ने सुझाव दिए। ‘राप्ती प्रादेशिक अस्पतालबाट प्रत्यक दिन २/३ जना लक्षण भएका बिरामीहरु रिफर हुँदै आएका छन्,’ उनले भने, ‘यो अवस्थामा जिल्लामा तत्काल करिब २०० बेडको कोरोना अस्पतालको आवश्यक देखिन्छ। त्यसका लागि विभिन्न चरणमा सम्बन्धित निकायहरुसँग छलफल भएको छ।’

पछिल्लो समयमा राप्ती प्रादेशिक अस्पतालमा निमोनिया, दमलगायतका बिरामीहरु बढिरहेको उनले बताए। कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ। अस्पतालमा कम्तीमा ४०० सिलिण्डर अक्सिजन आवश्यक हुने अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए। अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्थापन भए ७० जना बिरामी भर्ना गर्न सकिने उनको भनाइ छ।  ७० जना बिरामीलाई ३०० अक्सिजन प्लान्टको आवश्यक पर्ने भएकाले विभिन्न संघसंस्था तथा सरोकारवालाई अक्सिजनको व्यवस्थापन गरिदिन समेत उनले आग्रह गरेका छन्।  

दाङमा सबैमा बढी कोरोना संक्रमित घोराही र तुलसीपुरमा छन्। स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीका अनुसार तुलसीपुर र घोराहीमा लकडाउन गर्नुपर्ने अवस्था छ। बजारमा अहिले पनि स्वास्थ्य मापदण्ड नअपनाइएको उनले बताए।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि कोरोना संक्रमितको उपचार गर्दै आइरहेको छ। तर, उक्त अस्पतालमा पनि आइसियु सेवा छैन। आइसियु सञ्चालन गर्न भौतिक संरचना, अक्सिजन प्लान्ट, बजेट अभाव भएको प्रतिष्ठानका कायम मुकायम शिक्षा अध्यक्ष सागर पन्थीले बताए। अस्पतालले कोरोना संक्रमितका लागि १७ वटा बेड छुट्याएको र ती सबै भरिएको उनले बताए।स

लुम्बिनी प्रदेश सरकारले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन प्रदेशभित्रका ३ कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने भएको छ। मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार दाङ, बाँके र बुटवलमा रहेका कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँका दरले र भैरहवामा रहेका भीम अस्पताललाई २५ लाख रुपैयाँ गरी एक करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने भएको छ। त्यसैगरी प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ।

दाङमा एक सातादेखि  कोरोना संक्रमणको अवस्था भयवह रहेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए। बैशाख ३ मा बसेको डिसिएमसिसीको बैंठकले बेलझुण्डीमा १०० बेड बनाउने र देउखुरी क्षेत्रमा २५ बेडको अक्सिजनसहितको बनाउने निर्णय भएको उनले बताए। त्यस्तै‚ उनले २५ बेडभन्दा बढीको प्रदेश सरकारले हेर्ने ब्यवस्था भएकाले प्रदेश सरकारी जानकारी गराएको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.