|

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रमा तीन दिन अघिबाट अचानक देखा परेका जंगली हात्तीले क्षति गरिरहेका छन्।

दिउँसो नजिकैको जंगलको हात्तीले रात परेपछि मानव बस्तीमा पसेर क्षति पुर्‍याइरहेका स्थानीयले बताएका छन्।

शनिबार राति लालबन्दी नगरपालिका–१६, परवानीपुर क्षेत्रमा एक्कासि तीनवटा जंगली हात्ती देखा परेका थिए। हात्तीले त्यो रात परवानीपुर क्षेत्रमा दुईवटा घरका बेराघेरा भत्काएका थिए भने स्थानीय किसानले लगाएको केरा बगैंचा र बालीमा क्षति पुर्‍याएका थिए। हात्तीको सो समूह आइतबार राति लालबन्दी नगरपालिका–११, बाहुनी क्षेत्रमा देखा परेको स्थानीयले बताएका छन्।  

हात्तीको समूहले तीनवटा कच्ची घरका बेरा भत्काएको थियो। हात्तीको सो समूहले गएराती लालबन्दी नगरपालिका–१३, पत्थरकोटमा स्थानीय मोहन पौडेलको घरका भित्ता भत्काएको स्थानीय वीरमान स्याङतानले जानकारी दिए।

ती हात्ती आज बिहानपख पूर्व–पश्चिम राजमार्गस्थित डिभिजन वन कार्यालय लालबन्दी र त्यस आसपास देखा परेका छन्। हात्तीले वन कार्यालयदेखि उत्तर र पश्चिमतर्फको कबुलियती वन क्षेत्रमा लगाइएको केराहरू खाएको पाइएको डिभिजन वन प्रमुख माधव प्रसाद देवले जानकारी दिए। 

पहिला आफ्ना पुस्ता हिँड्ने बाटो हुँदै हात्ती हिँड्ने भएकाले अहिले यस क्षेत्रमा आइपुगेका उनले बताए। लालबन्दी क्षेत्रमा अहिले देखिएका हात्ती पर्सा राष्ट्रिय निकुञ्जका हुन सक्ने अनुमान गरिएको छ।

डिभिजन वन प्रमुख देवले केही दिनपछि यी हात्ती आफैं फर्किएर जाने बताएका छन्। उनले अहिले वन जंगलमा जताततै मानव अतिक्रमण बढेकाले पनि वन्यजन्तुबाट क्षति हुन पुगेको बताए।

घरेलु जाँड–रक्सीप्रति हात्तीहरु आकर्षित हुने भएकाले जंगल छेउछाउका बासिन्दालाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.