|

कोरोनाको दोस्रो लहरबीच भारतमा टी–२० क्रिकेटको सर्वाधिक रोमाञ्चक फ्रेन्चाइज आइपिएल जारी छ।

यो बीचमा आइपिएललाई लिएर समर्थन र विरोधमा आवाज उठिरहेका छन्। केही समर्थकहरु महामारीबीच प्रतियोगिता जारी राख्नुपर्ने मत राख्छन् भने केहीले स्थगित गर्नुपर्ने मत राख्दै आएका छन्।

आइपिएल भने आफ्नो सेड्युलअनुसार अघि बढिरहेको छ। तर एक अध्ययनअनुसार ५६ दशमलव ८ प्रतिशत समर्थक देश पीडामा रहेको समयमा आइपिएल स्थगित गर्नुपर्ने मत राख्‍ने गरेका छन्। 

यद्यपि ४३ दशमलव २ प्रतिशतले भने प्रतियोगिता जारी राख्‍नुपर्ने मत राखेका छन्। आधिकारिक रुपमा आयोजक बिसिसिआईले भने प्रतियोगिता रोक्नेबारे केही बोलेको छैन।

अश्विनसहित ४ खेलाडीले लिए नाम फिर्ता

कोरोना महामारीकै कारण बिहीबारसम्म दिल्ली क्यापिटल्सका स्टार अफ स्पिनर रवीचन्द्र आश्विन तथा राजस्थान रोयल्सका फास्ट बलर एन्ड्रियू टाईसहित ४ खेलाडीले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छन्।

अन्य खेलाडीमा रोयल च्यालेन्जर्स बैंगलोरका एडम जम्पा तथा केन रिचर्डसन रहेका छन्। यद्धपि आइपिएल स्थगित हुने संभावना निकै कम रहेको भारतिय सञ्चारमाध्यामहरुले जनाएका छन्।

ठूलो संख्यामा खेलाडी या अफिसियल नै संक्रमित भएमात्र आइपिएल रोकिने सम्भावना छ अन्यथा कोरोना प्रोटकल कडाइसाथ लागु गरिएकाले प्रतियोगिता रोक्न जरुरी नभएको बताइएको छ।

खेलाडी सर्वाधिक सुरक्षित

दिल्ली क्यापिटल्सका प्रशिक्षक रिकी पोन्टिङले अहिले भारतमा कोही सुरक्षित छ भने खेलाडी नै भएको दाबी गरे। उनले खेलाडीको मैदानभित्रभन्दा पनि बाहिरी वातावरणको सुरक्षा बढी भएको दाबी गरे। 

केही फ्रेन्चाइज टिमले ट्राभल्समा आपत्ति जनाए पनि लिखित रुपमा कुनै असहमति नराखेको बताइएको छ। केही टिमले मौखिक असहमति राखे पनि लिखित रुपमा कसैले पनि लिग रोक्नु पर्ने माग नगरेका बिसिसिआइले जानकारी दिएको छ। ट्राभल गर्न आनाकानी गरे पनि लिग रोक्नुपर्नै मत कसैको पनि नरहेको जनाइएको छ।

कमिन्सको ५० हजार डलर सहयोग

अस्ट्रेलियका उपकप्तान तथा कोलकाता नाइट राइडर्सका तीव्र गतिका बलर प्याट कमिन्सले कोरोनाका कारण अक्सिजन अभावमा सहयोग गर्न पिएम केयर्स फन्डमा ५० हजार डलर दान दिएका छन्।

उनले यो रकम भारतको अस्पतालमा भइरहेको अक्सिजन अभावमा सहयोग पुग्ने विश्वास साथ प्रदान गरेका हुन्। साथै उनले आइसोलेसनमा रहेकाका लागि आइपिएल मनोरञ्चनको महत्वपूर्ण प्लेट फर्म रहेको समेत दाबी गरे। साथै उनले भारतीयलाई खुसी राख्‍न निरन्तर प्रयास गर्ने पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.