|

सोलुखुम्बु : सोलुखुम्बु र ओखलढुंगाको सीमानाका क्षेत्र पत्ताले प्रवेशद्वारमा कडाई गरिने भएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सचेत रहँदै आवगमनमा जिल्ला प्रवेश गर्ने मुख्य नाका पत्तालेमा कडाई गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले जानकारी दिए।

सीमा क्षेत्रमा हुन सक्ने संभावित जोखिम तथा अपराधिक गतिविधिलाई निगरानी गर्न तत्काल सिसी क्यामेरा समेत जडान गरिने प्रमुख जिल्ला अधिकारी शाहीले बताए। सोमबार उक्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी शाहीको अध्यक्षतामा, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक कवित कटुवालसहितको उपस्थितिमा स्थानीयसँग अन्तरक्रिया समेत गरिएको छ।

अन्तरक्रिया कार्यक्रममा स्थानीयले सुरक्षा व्यवस्था मजबुद्ध बनाउन स्थानीय र प्रहरीबीच सूचना आदनप्रदान गरि स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्नुपर्नेमा जोड दिए। केन्द्रीय परिपत्र अनुसार जिल्लामा समेत स्वास्थ्य सुरक्षामा ध्यान दिँदै प्रवेशद्वार पत्तालेमा ज्वरो जाँचसहित मास्क लगाए नलगाएको निरीक्षण सोमबार देखि सुरु भएको छ।

प्रमुख जिल्ला अधिकारी शाहीले कोरोनाको जोखीम बढ्दै जाँदा सीमामा हेल्थ डेक्स निर्माण गर्ने, मास्क प्रयोगलाई अनिवार्य गर्ने, प्रहरी निगरानीलाई अँझ बढी शसक्त बनाउने लगायतको रणनीति रहेको बताए। 

स्थानीय तहको पूर्वतयारी कम्जोर

सोलुखुम्बुको अधिकांश स्थानीय तहले जोखिम न्यूनीकरण तथा अन्य व्यवस्थापनका क्षेत्रमा खासै पूर्वतयारी गरेका छैनन्।    सरकारी निकायले लकडाउन गर्ने तयारी गरिरहेको भएपनि यसपूर्व गर्नुपर्ने आवश्यक तयारीमा जुट्नुपर्ने स्थानीय तह अलमलमा छन्। सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले कोरोना सक्रमणको विषयमा अहिले सम्म कुनैपनि तयारी नगरेको स्वीकारे।

विगतमा भएका विभिन्न समस्याबाट पाठ सिक्दै पूर्वतयारी गर्नुपर्ने सरकार तथा आम नागरिकको कर्तव्य रहेको स्थानीय पुष्प श्रेष्ठले बताए। प्रहरी प्रशासनले भने कोरोनाको जोखिम कम गर्न ‘तपाइको मास्क खोई’ जस्ता जनचेतामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।

कोभिड अस्ताल निर्माणको तयारीमा जुट्नुपर्ने स्थानीय सरकारसँग क्वारेन्टाइन तथा आइसोलेसन समेत पर्याप्त छैन। सोताङ गाउँपालिका प्रमुख बीर बहादुर राईले कार्यपालिका बैठक पछि मात्र आवश्यक निर्णय गर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.