|

सिन्धुली : सुनकोशी नदीमा बाह्रै महिना कलकल्ती पानी बगिरहन्छ।

​तर त्यही नदी माथि डाँडामा रहेका सुनकोशी गाउपालिका वडा नं. ६ चयनपुर र तीनखोप्रेका स्थानीय भने सधैं पानीको हाहाकार खेपिरहन्थे। अब भने सुनकोशी गाउपालिका–६ का स्थानीयले पानीको हाहाकार सहनु पर्दैन।

एक करोड रुपैयाँभन्दा बढी लगानीमा सुनकोशी नदी किनारको पानी लिफ्ट विधिबाट बस्तीसम्म पुर्‍याइएको छ। नेपाल रेडक्रस सोसाइटी सिन्धुली र सुनकोशी गाउँपालिकाको लगानीमा वडा नं. ६ मा एकै पटक दुई ठूला लिफ्ट खानेपानी आयोजना निर्माण गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुली र सुनकोशी गाउँपालिकाको एक करोड ५ लाख लगानीमा तिनखोप्रे सौर्य लिफ्ट खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ।

यो खानेपानी आयोजनाबाट सुनकोशी गाउपालिका ६ तिनखोप्रेका ७६ घरधुरीमा खानेपानी सुविधा पुग्ने सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालले जानकारी दिइन्।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी सिन्धुली र सुनकोशी गाउँपालिकाको ७२ लाख लगानीमा निर्माण सम्पन्न भएको चैनपुर सौर्य लिफ्ट खानेपानी आयोजनाले त्यस बस्तीका ५९ घरधुरी लाभान्वित हुने अध्यक्ष दाहालले बताइन्।

यी दुवै आयोजना बुधबार एक कार्यक्रमबीच सुनकोशी गाउँपालिका अध्यक्ष दाहालले उद्घाटन गर्दै समुदायलाई हस्तान्तरण गरिएको हो। वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका तीनखोप्रे र चईनपुरका बस्तीका नागरिकको घरमा धारा पुर्‍याएर खानेपानी खुवाउनु निक्कै ठूलो उपलब्धि भएको अध्यक्ष दाहालको भनाइ छ।

नागरिकका समस्या समाधान गर्नकै लागि नागरिकले निर्वाचित गराएको अध्यक्ष दाहालले बताइन्। खानेपानी अभाव भएका अन्य ठाउँमा पनि क्रमिक रुपमा सुविधा पुर्‍याउने उनले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.