विवाह भोजमा सहभागी त्रसित

|

काभ्रे :  काभ्रेका कोरोना संक्रमित एक महिलाको काठमाडौँमा मृत्यु भएको छ। 

काभ्रेबाट थप उपचारका लागि काठमाडौँस्थित एक अस्पतालमा लगिएकोमा पनौती नगरपालिका–१० खोपासीकी कोराना संक्रमित महिलाको आज (बिहीबार) उपचार क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। योसँगै कोरोना महामारीको दोस्रो लहर भयावह बन्दै गएको अवस्थामा पछिल्लो २४ घण्टा नबित्दै जिल्लाका २ जनाको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला संकट ब्यवस्थापन केन्द्रका सदस्य सचिव वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार जिल्लाका अस्पतालहरुमा भेन्टिलेटर अभाव भएकाले गम्भीर अवस्थामा रहेका महिलालाई बुधबार काठमाडौं रिफर गरिएको हो। उनले जिल्लाकै सबैभन्दा बढी संक्रमित रहेको पनौती नपा–१० मा मात्रै २९ जना कोरोना संक्रमित रहेका बताए।

केही दिनअघि पनौती–१० स्थित मृतक महिलाकी घरमै आयोजना भएको विवाह भोजमा सहभागी भएका १८ जना आफन्तमा समेत कोरोना संक्रमण देखिएसँगै दैनिक विवाह भोजमा सहभागी हुनेहरु त्रसित भएका छन्।

त्यस्तै, जोखिमको अवस्था हेरेर आवश्यकताअनुसार संक्रमितको सम्पर्कमा आएका अन्यको पनि कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलनको कार्य भइरहेकोले संक्रमितको संख्या अझै बढ्न सक्ने पनौती नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ। 

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले विद्यालय तथा संक्रमण फैलन गरी भीडभाड नगर्न पाटी प्यालेस बन्द गर्ने, भोजभतेर नगर्ने, भिडभाड हुने कार्यालयमा पालिका अनुसार फरक फरक दिन सेवा उपलब्ध गराउने निर्णय भएको बताएका छन्।

बिहीबार १२ जना थपिएसँगै काभ्रेमा नयाँ संक्रमित कोरोना संक्रमितको संख्या दुई सय १३ पुगेको छ। हालसम्म जिल्लाभित्र ४६ जना र जिल्लाबाहिर १९ जना गरी कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ६५ पुगेकोे छ।

वडा सिल गर्ने तयारी 

पनौती नपा–१० का वडा अध्यक्ष मोहनबहादुर भण्डारीले वडाभित्र तिब्र रुपमा फैलिरहेको कोरोना संक्रमण न्यूनीकरण तथा थप संक्रमण फैलिन नदिन वडा सिल गर्ने तयारी भइरहेको जानकारी दिए।

संक्रमितहरु वडा क्षेत्रभित्र आउजाउ गर्ने हुँदा संक्रमण अझै बढ्न सक्ने कुरालाई मध्यनजर गरी तत्काल वडा सिल गर्नुपर्ने आवस्था सिर्जना भएको वडाध्यक्ष भण्डारीको भनाइ छ। 

‘तत्काल वडा बासीलाई भेटघाटको काम नगर्न, उद्योग धन्दा तुरुन्त बन्द गर्न, विवाह भोज, सभा समारोह कुनै पनि कार्यक्रम नगर्न र सरिक नहुन, दूध डेरीमा जमघट नहुन, वडा बाहिर पाहुना बन्न नजान र पाहुना नबोलाउन पूर्ण निषेध गरिएको छ,’ उनले भने, ‘वडा सिल गर्नेबारे पनौती नगरपालिकाका मेयर भीम न्यौपानेसँग कुराकानी भइरहेको छ।’

त्यस्तै, वडाध्यक्ष भण्डारीले वडा कार्यालयको निर्देशानलाई बेवास्ता गरे प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.