|

भोजपुर : राष्ट्रिय युवासंघ नेपाल र अनेरास्ववियू भोजपुरले मास्क, सेनिटाइजर र सन्देशमूलक सामग्री वितरण अभियान थालेको छ। युवा संघ र अनेरास्ववियूले बिहीबार अन्य जिल्लाबाट भोजपुर आउने यात्रु बस तथा ढुवानीका साधनहरुलाई लक्षित गरेर मास्क, सेनिटाइजर तथा कोभिड –१९बाट बच्ने सन्देशमूलक सामग्री छापिएको पर्चा वितरण गरेको हो। 

कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै युवाहरुले कोरोनाबाट बच्नको लागि ३ दिनसम्म सचेतनामूलक कार्यक्रमसँगै स्वास्थ्य सामग्री वितरण अभियान थालेको युवासंघ नेपाल भोजपुरका अध्यक्ष ज्ञानेन्द्र राईले जानकारी दिए।

अध्यक्ष राईले भने, ‘कोरोना भाइरसबाट बच्नका लागि हामीले यो अभियानको थालनी गरेका हौँ। युवाहरूले यस्तो काममा अग्रपंतीमा रहेर काम गर्नुपर्छ भन्ने उद्देश्यले ३ दिनसम्म यस स्थानमा अभियान सञ्चालन गर्नेछौँ। हामीले विशेष गरेर स्थानीयसँगै अन्य जिल्लाबाट यहाँ भित्रने बस तथा धुवानीका साधनहरुलाई ध्यानमा राखेका छौँ।’

युवासंघ र विद्यार्थी संगठनले १० हजार मास्क र ३० लिटर सेनिटाईजर वितरण गर्ने लक्ष्य लिएको अध्यक्ष राईले जानकारी दिए। कार्यक्रममा प्रहरी चौकी जरायोटारले पनि सहजीकरण गरेको छ। समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले युवाहरुले थालेको काम उदाहरणीय रहेको स्थानीयले बताएका छन्। स्थानीय सुरेन्द्र श्रेष्ठले भने,‘ युवाहरुले थालेको यो अभियान धेरै उपयोगी छ। खास गरेर बाहिरबाट आउने यात्रुहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन भएकोले यसले कोराना नियन्त्रणमा केही हदसम्म सहयोग पुग्छ। हामीले यस्ताहरुलाई प्रोत्साहन गर्न आवश्यक छ।’

कार्यक्रमलाई सम्‍बोधन गर्दै नेकपा एमाले भोजपुरका पार्टी सचिव किरण राईले महामारीको अवस्थामा युवाहरुले थालेको काम सराहनीय रहेको बताउँदै पार्टीको तर्फबाट पनि सहयोग गर्ने बताए।

सचिव राईले भने,‘ युवाहरुले थालेको यो काम प्रशंसायोग्य छ। हाम्रो भातृ संगठनहरुले जनताको सेवाका लागि देखाएको सामाजिक कामलाई पार्टीको तर्फबाट पनि सहयोग हुनेछ। यस्ता काममा युवाहरुलाई सवैले साथ सहयोग गर्न आवश्यक छ। यसले नेकपा एमाले जनताको साथमा छ भन्ने सन्देश पनि प्रवाह भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.