|

वैज्ञानिकहरूको खोज अनुसार आज भन्दा १३ अर्ब वर्षअघि हाम्रो ब्रह्माण्डको उत्पत्ति भयो, तब स्थान र समय शुरू भयो। पाँच अर्ब वर्षअघि सूर्य र साढे ४ अर्ब वर्षअघि पृथ्वीको उत्पत्ति भयो।

जीवशास्त्री चार्ल्स डार्विनका अनुसार समुद्रमा जीवहरू देखा परेपछि नै जमीनमा बस्ने जीवहरू र वनस्पतिहरू विकसित भएका हुन्‌। शुरूमा एककोषीय ब्याक्टेरियाको जीवात्माबाट ३ अर्ब ७० करोड वर्षअघि पृथ्वीमा जीवको उत्पत्ति भयो। ५४ करोड वर्षअघि जलचर प्राणी र ४६ करोड वर्षअघि वनस्पति उत्पत्ति भए।

३१ करोड वर्षअघि सरिसृप अर्थात घस्रिएर हिँड्ने प्राणीको उत्पत्ति भयो। साढे २५ करोड वर्षअघि स्तनधारी प्राणीको उत्पत्ति भयो भने नेपालको लुम्बिनी क्षेत्रमा प्राप्त (१ करोड २२ लाख वर्ष पुरानो) बाँदर प्रजातिका रामापिथेकसको अवशेषको आधारमा ४ करोड २० लाखदेखि १ करोड वर्षअघि मानव जातिका पुर्खाको उत्पत्ति भएको अनुमान गरिन्छ।

आगोको प्रयोग र भाषाको आविष्कार २३ लाख वर्षयता भएको मानिन्छ। विगत २ लाख वर्षदेखि ४० हजार वर्षको बीचमा मानव जातिले आजको आकृति हासिल गरेका हुन्‌। अफ्रिकी महादेशमा उत्पत्ति भएको मानव जाति विगत ५० हजार वर्षअघि चीन पुगेको थियो भने ३० हजार वर्षअघि यूरोपसम्म फैलियो।

यसबीच मानव जातिले तीनवटा ठुलठुला हिम युगको सामना गर्‍यो। विगत १२ हजारदेखि ८ हजार वर्षको बीचमा जंगली युग त्यागेर मानिस खेतिपातीमा दरियो। खासगरी, पाँच हजार वर्षअघि फलाम पगाल्ने ज्ञान आर्जन गरेपछि मानव जातिले द्रुत प्रगतिको कदम उठाए। यसबीच ज्ञान विज्ञानका भीषण आविष्कारहरू भए, जसको शिखरतर्फ मानिसअघि बढिरहेका छन्।

विचार गरौं, आजको आधुनिक भनिएको युगमा जहाजको सुविधा भएर पनि हामी बहुसंख्यक मानिस त्यसरी यात्रा गरिरहेका छैनौं, तर इतिहासमा हाम्रा पुर्खा अफ्रिकादेखि चीनसम्म पैदल हिँडे। अत: मानव जाति प्राणी मध्येकै बहादुर हो।

यो वृहत्तर समयावधिमा मानव जातिले अनेकन रोगब्याधी एवम्‌ प्राकृतिक तथा सामाजिक संकटको सामना गर्नुपर्‍यो। हामीलाई थाहा छ-प्रथम विश्वयुद्धको समय यूरोपमा प्लेग रोगका कारण करोडौं मानिसको ज्यान गयो।

युद्धका कारण उत्पन्न अनेक संकटहरू सामना गर्दै अस्तित्व रक्षामा सफल मानिसहरू बेलाबखत उत्पन्न रोगब्याधी सामना गर्न पनि सधैँ सक्षम रहँदै आएको इतिहास छ। अत: इतिहासको गणनाबाट पनि कोरोनाजस्ता प्रकोपबाट नेपाली जनता आतंकित बन्नु हुँदैन, बरु सजगता अपनाउनेतर्फ तुरुन्त अग्रसर बन्नुपर्छ।

विश्व स्वास्थ्य संगठनले यस रोगको नाम कोभिड-१९ दिएको छ। सन्‌ २०१९ मा चीनको उहानमा देखिएको भनिने कोरोना प्रकोप चिनियाँ सरकारको तदारुकतामा यथाशीघ्र नियन्त्रण गरियो। अहिले चीनको जनजीवन यथावत बन्दै आर्थिक वृद्धिदर बढोत्तरीमा छ।

हाम्रो देश नेपालमा भने जनताद्वारा निर्वाचित भनिएको सरकार जनताप्रति किमार्थ उत्तरदायी देखिँदैन।

यसकारण रोग सामना गर्न कठिन भएपनि मार्क्सवाद अनुसार इतिहासका निर्माता जनसमुदाय हुन्‌। अत:कोरोना रोग प्रतिरोधमा नेपाली जनताले कस्तो इतिहास रचना गर्ने ? यो नै सर्वोत्तम प्रश्न हो।

यसरी 'हटी होइन, डटी लड्ने नेपालीको बानी हुन्छ' भन्ने गीतको बोल जीवनका लागि जरुरी छ भने त्यसअघि 'ढुङ्गाको काप फोडेर पनि उम्रन्छ पिपल' बोलको गीत विशेष स्मरणीय छ।

यस घडीमा गणतन्त्र नेपालको प्रथम संस्कृति मन्त्री तथा नेकपा (माओवादी) को जिम्मेवार कार्यकर्ताको हैसियतमा निम्न जोडदार अपील गर्दछु :

१. कोरोना महामारीबाट नडराउन, बरु सजगता अपनाउन र रोग लागि नै हालेछ भने दृढ मानसिकता निर्माण गरी डटेर त्यसको सामना गर्न सह-देशवासी नेपाली नागरिक समक्ष जोडदार आह्वान गर्दछु।

२. कोरोना रोग प्रतिरोधको मुख्य जिम्मेवार स्वयं नागरिक नै हुनुपर्ने विद्यमान परिस्थितिमा नागरिक अधिकारका लागि संघर्षरत सबैमा जागरुक रहन गम्भीर अपील गर्दछु।

३. यस घडीमा राजनीतिक, आर्थिक, प्रशासनिक एवम्‌ प्राविधिक क्षेत्रका जिम्मेवारहरू समक्ष नेपाली जनताको मानसिक एवम्‌ भौतिक सेवाका निम्ति तत्पर रहन हार्दिक आह्वान गर्दछु।

अन्त्यमा, तपाईं जानकार हुनुहुन्छ र उपयुक्त ठान्नुहुन्छ भने कोरोना तनावको व्यवस्थापन बुद्धको विपश्यना विज्ञान-अभ्यासबाट सम्भव छ।

(किरातीको फेसबुकबाट साभार र सम्पादन गरी प्रकाशित।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.