|

काठमाडौं : निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली सडकमा निस्किएका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरीका सुरक्षा अधिकारी, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यकासाथ पराजुली शनिबार अनुगमनमा निस्केका हुन्।

शुक्रबार बसेको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही अनुसार काठमाडौं प्रशासनले जारी निषेधाज्ञालाई थप कडा पारेको छ। ‘अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्किनुस् भन्ने हाम्रो अनुरोध छ। कसैले अटेरी गरेको पाइए सम्झाउने, बुझाउने, होल्डिङ सेन्टरमा राख्ने र फर्काउने गरिएको छ’ पराजुलीले भने।

सम्झाइबुझाइ गर्दा नमाने संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पराजुलीले बताए। अनुगमनमा निस्केको टोलीले अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुलाई कम्तीमा १० दिन क्वारेन्टाइन वा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गर्नुपर्ने देखिएकाले खाली भवनहरूको खोजी समेत गरेको बताइएको छ। कोरोना महामारी तीव्र रुपमा फैलिएपछि उपत्यकाका तीन वटै जिल्लामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको थियो।

निषेधाज्ञा प्रभावकारी रहेको निश्कर्ष निकाल्दै टोलीले आइतबारबाट निषेधाज्ञालाई थप कडा पार्ने जनाएको छ। बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए। भोलिदेखि थप कडा गर्ने विचार गरेको भन्दै पराजुलीले सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउन लागिरहेको जानकारी दिए।

यस्तै टोलीले कोराना संक्रमितको उपचारका लागि थप बेड तयार पार्न अस्पतालहरूको पनि अवलोकन गरेको छ। वीर अस्पतालको पाँच सय शैयाको नयाँ अस्पताल भवनको अवलोकन गरेको छ। सो अस्पतालमा बेड राखेर तत्काल सञ्चालन गर्न सकिने अवस्थामा रहेको पराजुलीले जानकारी दिए। यस्तै काठमाडौंमा निजी क्षेत्रले चलाएको गोर्खा अस्पतालमा पनि कोभिड वार्ड बनाउनका लागि अवलोकन गरेको उनले बताए।

अस्पतालहरुमा कोभिडका बिरामीको अत्यधिक चाप परेको र बेड मिलाइदिन भन्दै फोन आउने गरेका कारण बेड थप गर्नका लागि अनुगमन गरेको उनले जानकारी दिए। सामाखुसीमा रहेको राधा स्वामीमा तत्काल कोभिड वार्ड बनाउने योजना पराजुलीले बताए। त्यहाँ अक्सिजन सहितको ८८ बेड, आइसोलेशन सहितको ९६ बेड तयार भइरहेको छ।

क्षेत्रपाटीमा बन्द अवस्थामा रहेको गोर्खा अस्पताललाई पनि महानगरपालिकाको संयोजकत्वमा कोभिड उपचारका लागि सञ्चालनमा ल्याइने राजुलीले जानकारी दिए। यसबारेमा स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेकाे उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.