|
प्रतिकात्मक तस्वीर

सर्लाही : जिल्लाको गोडैता नगरपालिका–५, रामवनमा (आज) शनिबार बिहान जन्ती बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

जन्ती बोकेर सर्लाहीकै गडहीयाबाट हरकठवातर्फ आउँदै गरेको ना४ख १०८९ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

बिहान ७ बजेतिर भएको दुर्घटनामा मोटरसाइकल चालक रौतहटको गढिमाई नगरपालिका–८, का २५ वर्षीय जयचन्द्र साहको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल पछाडि सवार गढिमाई नगरपालिका–८, रौतहटकै ३५ वर्षीय बिगु साह र सोही ठाउँका शिव शङ्कर साहका छोरा ८ वर्षीय विनेश कुमार साह गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक (डिएसपि) उद्धवसिंह भाटले जानकारी दिए।

दुवै घाईतेलाई बरहथवामा सामान्य उपचारपश्चात् थप उपचारका लागि भरतपुरतर्फ रेफर गरिएको डिएसपी भाटले बताए। दुर्घटनामा संलग्न बस र त्यसका चालक इलाका प्रहरी कार्यालय हीरापुरको नियन्त्रणमा रहेका छन्।

यसैबीच, यता ईश्वरपुर नगरपालिका–५, मा एकजना मृत फेला परेका छन्। रौतहटको माधवनारायण नगरपालिका–२, खेसरैया घरभई हाल ईश्वरपुर क्षेत्रमा बसोवास गर्दै आएका अन्दाजी ४५ वर्षीय अक्षयलाल साह मृत फेला परेको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए। परिवारमा मनमुटाव भएपछि साह केही समयदेखि यता आएर बस्दै आएको बुझिएको छ। मृतकको शव फेला परेको स्थाननजिकै विषादीको बोतल फेला परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.