|

जनकपुरधाम : धनुषाको मालपोत र नापी कार्यालय आजदेखि अनिश्चितकालका लागि बन्द गरिने भएको छ।  कोरोनाको संक्रमण बढ्दै गएको भन्दै सेवाग्राहीको अत्यधिक घुइँचो हुने मालपोत र नापी कार्यालयले सेवा बन्द गर्ने निर्णय भएको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको निर्देशनमा अत्यधिक घुइँचो हुने दुई कार्यालयको सेवा अर्को सूचना नभएसम्म स्थगन गर्ने निर्णय भएको जानकारी दिए। मालपोत तथा नापी कार्यालयमा सेवाग्राहीको अत्यधिक घुइँचो हुने भएको र यसले कोरोना संक्रमण फैलिने जोखिम उच्च रहेकाले सेवा प्रवाह स्थगन भएको जनाइएको छ। तर, कार्यालयबाट मुद्दा तथा अत्यावश्यक सेवाहरू स्वास्थ्य सुरक्षा सावधानी अपनाएर दिइने जनाएको छ।

कोरोनाको पहिलो चरणको बेलामा नापी कार्यालय र मालपोत कार्यालयका ५० भन्दा बढी कर्मचारी संक्रमित भएका थिए।  प्रजिअ बास्तोलाले जनकपुरधामस्थित विभिन्न बैंकका शाखा प्रबन्धकहरूलाई उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर सेवा प्रवाह गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.