|

कैलाली : टीकापुर नगरपालिका वडा- ७ का ४६ वर्षीय पुरुषमा श्वासप्रश्वासको समस्या थप जटिल बन्दै गयो। मंगलबार सेती प्रादेशिक अस्पताल पुगेका उनले आइसियूसहितको भेन्टिलेटरमा भर्ना हुन खोजे तर पाएनन्।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटर नपाएपछि उनले धनगढीका निजी अस्पतालमा भेन्टिलेटर खोजे तर, पाएनन्। बुधबार भेन्टिलेटर र अक्सिजन अभावका कारण उनले ज्यान गुमाउनुपर्‍यो। मृतकका भाइ गणेश क्षेत्रीले भने, ‘सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटर थिएन। हामीले बोकेको अक्सिजन पनि सकिदै थियो। दाजुलाई समयमै भेन्टिलेटरमा नराख्दा ज्यान गुमाउनुपर्‍यो।’

गणेशका अनुसार ती युवकमा तीनदिन अघिनै गरिएको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो। सेती प्रादेशिक अस्पतालले अस्पतालमा पाँच वटा भेन्टिलेटर रहेको दाबी गरेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सेतीमा १० वटा भेन्टिलेटर रहेको दाबी गरेको छ। ४६ वर्षीय पुरुष आएको दिन मंगलबार भेन्टिलेटरमा दुई जना बिरामी भर्ना भएका थिए।

बुधबार सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा थप एक जनालाई भर्ना गर्दा तीन जना पुगेको थियो। मंगलबार नै भेन्टिलेटर अभाव देखाउँदै ४६ वर्षीय पुरुषलाई अस्पतालले भर्ना गर्न नमानी अन्यत्र पठाएको थियो।

गणेशले भने, ‘भेन्टिलेटरमा भर्ना गर्न पनि पहुँच चाहिँदो रहेछ। जो मसँग थिएन। मैले धेरैसँग गुहार मागे तर, दाइलाई बचाउन सकिएन।’ ती युवाजस्तै अहिले सेतीमा जटिल अवस्थामा भेन्टिलेटर खोजिरहेका बिरामीहरुले भर्ना पाउन सकेका छैनन्। स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका १२ वटा स्वास्थ्य संस्था गरि ३४ जनालाई भर्ना गर्न सकिने गरि भेन्टिलेटरको व्यवस्था छ।

निर्देशनालयले प्रदेशभरी ३४ भेन्टिलेटर रहेको दाबी गरे पनि कतिपय स्वास्थ्य संस्थामा जनशक्ति नहुँदा सञ्चालनमा छैनन् भने कतिपयमा मर्मत नहुँदा बन्द अवस्थामा रहेको छ। सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनाअघि प्रदेशको बाजुरा, डोटी, टीकापुर, अछाम, बझाङ र दार्चुला अस्पतालमा दुई/दुई वटा भेन्टिलेटर स्थापना गर्ने भन्दै उपकरणहरु जडान गरेको थियो। तर, जनशक्ति अभावमा अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले अस्पतालभर अहिलेसम्म १४ वटा भेन्टिलेटर रहेको बताए दिए। ‘अस्पतालमा १४ वटा भेन्टिलेटर रहेका छन् तर, कोभिड बिरामीका लागि मात्र पाँच वटा भेन्टिलेटरको व्यवस्था गरिएको छ’, उनले भने, ‘पाँच वटा मध्ये दुई वटा बिग्रेकोले अहिले तीन वटामात्र सञ्चालनमा छन्।’ 

उनले प्रदेश सरकारलाई जानकारी गराएपनि अहिलेसम्म मर्मत हुन नसकेको बताए। उनले कोभिड बिरामीलाई सकेसम्म आइसीयुमै राखेर उपचार गरिने गरेको बताए। उनले भने, ‘सकभर आइसियूमै उपचार गरिरहेका छौं। अवस्था एकदमै जटिल भएमात्र भेन्टिलेटरमा राखिन्छ। अहिलेसम्म भेन्टिलेटर नपाएर कतिलाई फर्काइयो भन्ने अभिलेख छैन।’

जनशक्ति अभाव, भेन्टिलेटर सन्चालन विहिन कोभिड–१९ लाई लक्षित गर्दै जिल्ला अस्पताल बझाङ, बाजुरा, बैतडी लगायतका स्वास्थ्य संस्थामा भेन्टिलेटर अहिलेसम्म सञ्चालन हुन नसकेको जनाइएको छ।

बझाङमा सञ्चालनमा ल्याइएका आइसियू र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण बन्द छ। आइसियू र भेन्टिलेटर सेवा सञ्चालनमा नआउँदा अस्पतालले जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेका जिल्ला अस्पताल बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए।

अक्सिजन उत्पादन युनिटको अभाव प्रदेशका सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा मात्रै अक्सिजन उत्पादन गर्ने युनिट छ। अन्य अस्पतालहरुमा युनिट जडान गर्नतर्फ सरकारी पक्षले समयमै ध्यान दिन नसकेको भन्दै आलोचना हुन थालेको छ।

कञ्चनपुरको महेन्द्रनगरका ३३ वर्षीय युवा १० गते सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पताल भर्ना भए। श्वासप्रश्वासमा समस्या आएपछि उनलाई अक्सिजन सिलिण्डरको आवश्यक परेको थियो। सेती प्रादेशिक अस्पतालमा सिलिण्डर नभएपछि आफैं व्यवस्थापन गर्न अस्पतालले सुझाब दिएको थियो।

ती युवकका आफन्तले भने, ‘अस्पतालमा अक्सिजन सिलिण्डर छैन भने आफैले धेरै ठाउँ खोजे कतै पाएन। अहिले अस्पतालभित्रै रहेको अक्सिजन प्लान्टको प्रयोग गरि उपचार भइरहेको छ। चिकित्सकहरुले अहिले सिलिण्डर आवश्यक नभएको प्रतिक्रिया दिएका छन्।’

सेती प्रादेशिक अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट भने माग अनुसार पूर्ति गर्न नसकिएको सूचना अधिकारी श्रेष्ठले बताए। उनले भने ‘यहाँ रहेको अक्सिजन प्लान्टको क्षमता भनेको ४७ किलोको प्रति दिन ७५ सिलिण्डर उत्पादन गर्छ। तर, अहिलेको अवस्थामा एक सय ५० भन्दा बढी सिलिण्डर प्रयोग भइरहेको छ। यसका लागि हामीले ७० भन्दा बढी सिलिण्डर खरिद गरेर प्रयोगमा ल्याइरहेका छौं।’

सेती प्रादेशिक अस्पतालमा आउने जटिल खालका बिरामीहरुलाई अहिले भेन्टिलेटर र अक्सिजन अभाव हुने गरेको गुनासो बढी रहे पनि सुदूरपश्चिम प्रदेश सरकारले व्यवस्थापनमा कुनै पहल गर्न सकेको छैन।

महाकाली अस्पतालमा कोभिड संक्रमणका बिरामीहरु बढेपछि अक्सिजनको अभाव हुन थालेको अस्पतालले जनाएको छ। महाकाली अस्पतालमा दैनिक १५ सिलिण्डर अक्सिजन खपत हुने गरेकोमा अस्पतालमा हाल ५ सिलिण्डर अक्सिजन मात्रै उत्पादन गर्ने युनिट रहेको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले बताए।

उनले अक्सिजन प्लान्टले अस्पताललाई आवश्यकता अनुसार अक्सिजन दिन नसकेको बताए। ‘आवश्यकता अनुसार आपुर्ति हुन नसकेपछि हामीले बाहिरबाट पनि अक्सिजन मगाएका छौँ’, डाक्टर रोकायाले भने, ‘संक्रमण बढदै जाँदा व्यवस्थापनको निकै समस्या भएको छ।’ ५० शय्याको कोभिड अस्पताल, कञ्चनपुरमा कोभिड बिरामी भरिभराउ रहेकोले समस्या उत्पन्न भएको डाक्टर रोकायाले बताए।

डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट जगदिशचन्द्र विष्टले अस्पतालले प्रतिदिन २७ सिलिण्डर उत्पादन गरिरहेको बताए। ‘अहिले अस्पतालमा १६ बिरामी छन्। हामीले ११ बिरामीलाई मात्र अक्सिजन उपलब्ध गराउन सकेका छौं’, उनले भने, ‘अस्पतालमा अक्सिजन अभाव हुँदा बिरामीहरुलाई अक्सिजन सेवा दिन सकिएको छैन।’

उनले प्लान्ट थप्न पनि एक/दुई महिना लाग्ने र बजारमा पनि सिलिण्डर नहुँदा कुनै पनि विकल्प नभएको बताए। उनले अहिले सिलिण्डर पनि फिलिङ पनि गर्न नसकिएको बताए। टीकापुर प्रादेशिक अस्पतालमा अक्सिजनसहितको २० श्ययाको अक्सिजन जडानसहितको आइसोलेशन वार्ड तयार गरिएको छ।

कोरोना भाइरसका बिरामी बढ्न थालेसँगै अस्पतालले आफ्नो तयारीलाई तीव्र रुपमा अगाडि बढाएको हो। अस्पतालले पहिले पनि आइसोलेशन बनाएको भए पनि संक्रमण दर कम भएपछि हटाएको थियो।

संक्रमण स्थिति भन्दा बाहिर गइसकेको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राईले अस्पतालको क्षमता अनुसार तयारी पूरा गरिएको बताए। ‘हामीसँग पर्याप्त जनशक्ति पनि छैन।  प्रविधि भए पनि सञ्चालनका लागि जनशक्ति नहुँदा समस्या भएको छ’, मेडिकल सुपरिटेन्डेन्ट राईले भने, ‘कोरोना परीक्षण नहुँदा मात्रै हामीलाई सामान्य लागेको छ। परीक्षण हुने हो भने कोही पनि अछुतो रहने अवस्था छैन।’

 शैया पाउनै मुस्किल

सुदूरपश्चिम प्रदेशमा अहिले गम्भीर प्रकृतिका संक्रमितलाई शैया पाउनै मुस्किल छ। आइसियू र भेन्टिलेटरको सुविधा रहेको सेती र महाकाली अस्पतालमा त शैया पाउन झनै समस्या देखिन्छ।

प्रदेश सरकारले भने थप शैया व्यवस्थापन भइरहेको जनाएको छ। सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले कैलालीको अत्तरीयामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालमा ४० र विभिन्न नीजि अस्पतालमा २५ शैया संक्रमितको उपचारका लागि व्यवस्थापन भइसकेको जानकारी दिए।

‘धनगढीमा थप ५० शैयाको कोभिड अस्पताल निर्माण भइरहेको छ,’उनले भने,‘गेटा मेडिकल कलेजको भवनमा अस्थायी कोभिड अस्पताल सञ्चालनको पनि तयारी भइरहेको छ।’ गेटा मेडिकल कलेजमा अस्थायी कोभिड अस्पताल प्रदेश वा संघीय सरकारमा कसले सञ्चालन गर्ने टुङ्गो लागेको छैन। अहिले अस्थायी कोभिड अस्पताल सञ्चालनको लागि तयारी गर्न जिल्ला प्रशासन कार्यालय कैलालीलाई जिम्मा दिइएको छ।

यस्तै भएका उपकरण पनि जनशक्ति अभावले थन्किएपछि प्रदेश सरकारले जनशक्ति व्यवस्थापनमा पनि जुटेको जनाएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्की भन्छन्,‘स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउन रिक्त दरबन्दी र आवश्यक स्वास्थ्यकर्मी करार सेवामा लिन सम्बन्धित कार्यालयलाई पत्राचार गरेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.