जनशक्तिका लागि विज्ञापन गरिए पनि कसैको आवेदन परेन

|

पर्वत : कोभिड–१९ का सङ्क्रमितको अवस्था नाजुक बन्दै गएमा उनीहरूलाई आइसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ।

पर्वत अस्पतालमा त्यसका लागि पाँच बेड आईसीयु र तीन ओटा भेन्टिलेटर पनि उपलब्ध छन्। तर आइसियु र भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउने अवस्था भने छैन।

करिब पाँच महिना अगाडि नै आइसियु र भेन्टिलेटर सेटिङ गरेर आफूहरू तयारी अवस्थामा बसेको भए पनि त्यसलाई सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा आइसियु र भेन्टिलेटरमा बिरामी आइहाले त्यो सुविधा दिन नसक्ने अवस्था रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताए।

‘आइसियु र भेन्टिलेटर सञ्चालन गर्नको लागि अहिले हामीसँग उपलब्ध रहनुभएका चिकित्सकबाट सम्भव नहुने रहेछ। त्यसका लागि एनेस्थेसियालिस्ट तथा विशेष तालिम लिएका नर्सहरूको आवश्यकता हुने रहेछ,’ उनले भने, ‘आइसियु र भेन्टिलेटर जोडेर तयारी अवस्थामा छन्। बिरामी आए बेडमा राखेर सीधै उपचार सुरु गरे हुन्छ। तर जनशक्ति नहुँदा हामीलाई समस्या भएको छ।’

यस अगाडि यसका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि विज्ञापन गरिएको भए पनि कसैको आवेदन नपरेका कारण जनशक्ति परिपूर्ति गर्न नसकिएको उनको भनाइ छ।

अस्पतालमा साधन भएको अवस्थामा कोभिड सङ्क्रमित कोही पनि बिरामी आइहाले उनीहरूलाई आइसियु र भेन्टिलेटरको सुविधा दिन नसकिने अवस्था रहनु दुःखद भएको तर जनशक्ति पाएमा कसैको जीवन बचाउन सकिने अवस्था रहेको पहाडी बताउँछन्।

प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले हालै सात जना जनरल फिजियिसन र १२ जना एनेस्थेसियालिस्टको लागि विज्ञापन गरेको छ। यसमा छनोट भएकाहरूलाई पर्वतसहित प्रदेशका अन्य जिल्लाका अस्पतालमा पनि खटाउने तयारी प्रदेशको छ।

तर यो प्रक्रिया पूरा भएर आउनको लागि केही समय लाग्छ। जनशक्ति व्यवस्थापनको काम प्रक्रियागत रूपमा चलिरहँदा सङ्क्रमण दर ज्यामितीय आकारमा बढिरहेको छ। स्वास्थ्य संस्थामा मिनेट मिनेटमा यस्ता जनशक्तिको आवश्यकता पर्दै जान थालेको छ।

आइसियु र भेन्टिलेटर सञ्चालनको लागि पहिले पनि विज्ञापन गरिसकिएको बताउँदै अध्यक्ष पहाडीले त्यसमा कसैको आवेदन नपर्दा अहिलेसम्म जनशक्ति व्यवस्थापन गर्न नसकिएको बताए।

अक्सिजन उत्पादन भने प्रशस्त

अध्यक्ष पहाडीले केही महिना पहिले अस्पतालमै सुरु गरिएको अक्सिजन प्लान्टले राम्रो उत्पादन दिइरहेको बताउँदै पर्वतमा एक दिनमा कम्तीमा पनि ५० जना बिरामीलाई एकै पटकमा अक्सिजन आपूर्ति गर्न सकिने बताए।

अस्पतालमा रहेको प्लान्टले दैनिक १६ सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने र अहिले पनि आवश्यकता परेको अवस्थामा उत्पादन गर्ने गरिएको उनको भनाइ छ। ‘अक्सिजन प्लान्टबाट जडान गरेर बिरामी राख्ने बेड बेडमा अक्सिजनको लाइन लगेका छौँ। आवश्यकता पर्दा साथ प्लान्टले उत्पादन गर्छ। तर अहिले खासै आवश्यकता नभएका कारण सिलिन्डरमार्फत अक्सिजनको प्रयोग भएको छ,’ पहाडीले भने, ‘यहाँको प्लान्टको अक्सिजन उत्पादनले ५० बेड क्षमताको अस्पताललाई धान्न सक्छ। अर्थात् हामीहरू एकै पटकमा ५० जनालाई अक्सिजन आपूर्ति गर्न सक्ने अवस्थामा छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.