|

सोलुखुम्बु : कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढेसँगै सोलुखुम्बुका स्थानीय तह आइसोलेसनलाई व्यवस्थित बनाउन जुटेका छन्।

जिल्लाका कतिपय स्थानीय तहले पुरानो आइसोलेसन केन्द्रलाई नै नयाँ आइसोलेसन केन्द्रका रूपमा प्रयोगमा ल्याएका छन् भने कतिपय स्थानीय तह नयाँ आइसोलेसन सेन्टर निर्माणमा जुटेको बताउँछन्। जिल्लामा हालसम्म १०९ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको सम्बन्धित गाउँपालिकाले जनाएको छ।

जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले फाप्लु अस्पतालसँग समन्वय गरी अस्पतालकै आइसोलेसनलाई प्रयोगमा ल्याएको छ। दिन प्रतिदिन कोभिड–१९ को संक्रमण बढिरहेको तथा जिल्लामा पनि संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने गरी २० बेडको आइसोलेसन तयारी अवस्थामा राखिएको नगरपालिका स्वास्थ्य संयोजक चमर मगरले जानकारी दिए।

अहिले नगरपालिकामा ४ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरू होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ।

यस्तै, थुलुङ दुधकोसी गाउँपालिकाले ५ बेडको कोभिड अस्पताललाई नै आइसोलेसन केन्द्रका रूपमा तयारी अवस्थामा राखेको जनाएको छ। कोभिड अस्पताल स्थापनाका लागि गत वर्ष संघीय सरकारले रु.१० लाख बजेट विनियोजन गरेको थियो। मुक्लिमा स्थापना गरिएको उक्त अस्पतालमा हाल २ जना स्टाफ नर्स, १ जना एम.बी.बी.एस डाक्टर तयारी अवस्थामा राखेको गाउँपालिका स्वास्थ्य सह–संयोजक विशाल राईले जानकारी दिए।

थुलुङ दुधकोशी गाउँपालिका हुँदै जिल्लाको तीन गाउँपालिकाका नागरिक हिँड्ने गर्छन् भने यहाँ सोलुदुधकोशी हाइड्रोपावरसमेत सञ्चालनमा रहेको छ।

उता, सगरमाथा क्षेत्र रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले लुक्लाको एक होटलमा ३७ बेडको नयाँ आइसोलेशन केन्द्र निर्माण गरेको जनाएको छ। अक्सिजन र नेबुलाइजरको समेत व्यवस्था गरी उक्त होटलमा आइसोलेशन केन्द्र निर्माण गरिएको स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिइन्।

कोभिड–१९ लाई मध्यनजर गर्दै नेचा सल्यान गाउँपालिकाले १२ बेडको आइसोलेशन केन्द्र निर्माण गरेको छ। सामुदायिक अस्पताल नेचा सल्यान–४ बेतघारीमा ६ बेड र प्राथमिक स्वास्थ्य केन्द्र नेचा सल्यान–२ सल्यानमा ६ बेडको आइसोलेशन केन्द्र निर्माण गरिएको गाउँपालिका प्रबक्ता धर्मध्वज खत्रीले जानकारी दिए।

 प्रदेश सरकारको रु.१० लाख बजेटबाट अक्सिजनसहितको आइसोलेशन केन्द्र तयारी अवस्थामा राखिएको गाउँपालिकाले जनाएको छ।

जिल्लाको लामोजुरापारीको लिखुपिके गाउँपालिकाले पनि १५ बेडको आइसोलेसन केन्द्र निर्माण गरेको छ। प्रदेश सरकारको रु.५ लाख बजेटमा निर्माण गरिएको आइसोलेसनमा ५ वटा अक्सिजनको समेत व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिए। उक्त गाउँपालिकामा तीन वटा हाइड्रोपावर निर्माणाधीन अवस्थामा रहेको छ।

सोही हाइड्रोपावरमा काम गर्ने ५ जना कामदारमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। हाल उनीहरू हाइड्रोपावरको निर्माण गरेको आइसोलेसनमा रहेको बताइएको छ।

    जिल्लाको कोशीपारि रहेको सोताङ गाउँपालिकाले पनि प्रदेश सरकारको रु. १० लाख बजेटमा कोभिड अस्पताल निर्माण गरी तयारी अवस्थामा राखेको जनाएको छ। आइसोलेसनको रुपमा नै प्रयोग गरिँदै आएको अस्पतालमा अक्सिजनको समेत व्यवस्था गरिएको स्वास्थ्य संयोजक श्रीध्वज राईले जानकारी दिए।

यता, माप्य दुधकोशी गाउँपालिकामा भने गत वर्ष नै निर्माण गरिएको १५ बेडको आइसोलेसन तयारी अवस्थामा राखिएको बताइएको छ। उक्त आइसोलेसन प्रयोग गर्नुका साथै हरेक वडामा आवश्यताका आधारमा आइसोलेसन तथा क्वारेण्टिन व्यवस्थापन गरिने प्रमुख प्रशासकीय अधिकृत शिवकुमार राईले जानकारी दिए।

जिल्लाकै कर्णालीको रूपमा चिनिने महाकुलुङ गाउँपालिकामा भने आइसोलेसन केन्द्र निर्माणका लागि बजेट अभाव भएको गाउँपालिका उपाध्यक्ष विपना कुलुङले बताइन्।  आइसोलेसनको व्यवस्थापनसम्बन्धी गाउँपालिकामा हालसम्म कुनै पनि निर्णय नभएको कुलुङको भनाइ छ। बुधबार कार्यापालिका बैठक बसेर यस बारेमा आवश्यक निर्णय गर्ने गाउँपालिका अध्यक्ष सागर किराँतीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.